भक्तपुर ।
संस्थागत विद्यालय संघ नेपाल (इसान), अभिभावक संघ र सरोकारवालाले सरकारको नयाँ शैक्षिक सत्रसम्बन्धी निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।
मन्त्रिपरिषद्को २०८२ चैत १२ गतेको निर्णयअनुसार वैशाख १५ गतेदेखि शैक्षिक सत्र २०८३ सुरु गर्ने तथा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने व्यवस्थालाई इसानले असंवैधानिक, अव्यावहारिक र विद्यार्थीविरोधी ठहर गरेको हो।
इसानका महासचिव पुरुषोत्तम ग्वाच्छाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शैक्षिक क्षेत्र अत्यन्त संवेदनशील छ। यस्तो महत्वपूर्ण निर्णय सरोकारवालासँग पर्याप्त छलफल नगरी लिनु गम्भीर गल्ती हो।”
इसानले आफ्नो आपत्तिका मुख्य आधारहरू सार्वजनिक गर्दै संविधानअनुसार विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको अवस्थामा केन्द्र सरकारले हस्तक्षेप गरेको, शिक्षा ऐनविपरीत वैशाख २ को सट्टा १५ गते शैक्षिक सत्र सारिएको, तथा हप्तामा दुई दिन बिदा दिँदा पठनपाठनमा नकारात्मक असर पर्ने जनाएको छ ।
त्यस्तै, पाठ्यक्रम पूरा गर्न समय अभाव हुने, विद्यार्थीको निरन्तर सिकाइ प्रक्रिया अवरुद्ध हुने तथा अभिभावकहरूबाट समेत व्यापक गुनासो आएको इसानले उल्लेख गरेको छ । विद्यालयहरूले नयाँ शैक्षिक सत्रका लागि आवश्यक तयारी गरिसकेको अवस्थामा ढिलाइ गर्नु अनावश्यक भएको पनि जनाइएको छ।
इसानले वैशाखको पहिलो साताबाटै शैक्षिक सत्र सुरु गर्न सरकारलाई सुझाव दिँदै एसईई परीक्षालाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएको छ ।
इसानले सरकारलाई उक्त निर्णय तत्काल सच्याउन र शैक्षिक क्षेत्रलाई थप अन्योलमा नपार्न आग्रह गरेको छ। यस निर्णयले निजी विद्यालयहरूमा अव्यवस्था सिर्जना गर्ने तथा विद्यार्थीको सिकाइ गुणस्तरमा नकारात्मक प्रभाव पार्ने चेतावनी समेत दिएको छ।
यसैगरी अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिले पनि सरकारले विद्यालय सञ्चालनबारे विस्तृत अध्ययन नै नगरी शनिबार र आइतबार बिदा दिने निर्णय गर्नु खोटपूर्ण भएको जनाएको छ । सरकारले भनेजस्तै विद्यालयमा शनिबार र आइतबार बिदा दिने निर्णयले विद्यार्थी, अभिभावक तथा समग्र शैक्षिक प्रणालीमा पार्ने प्रभावप्रति अभिभावक संघलेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले भक्तपुर नगरपालिका,सुर्यबिनायक नगरपालिका र चाँगुनारयण नगरपालिकामा ज्ञापनपत्र बुझाई सकेको छ भने मध्यपुरथिमि नगरपालिकामा बुझाउने क्रममा रहेका जनाएको छ । नयाँ सत्र वैशाख २ गतेदेखि सुरु गर्नुपर्छ भन्दै यसले शिक्षा मन्त्रालयको सूचनाअनुसार १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पढाइ सुरु गर्ने निर्णय व्यवहारिक नभएको अभिभावक संघ नेपालका अध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।
विभिन्न विद्यालयका अभिभावक र संस्थागत विद्यालयका साथीहरूले भर्ना अभियान र कक्षा सञ्चालन गर्ने र आइतबार बिदा प्रभावकारी नभएकोले यसबारे अभिभावक संघका साथीहरूले आवाज उठाउनुपर्ने सरसल्लाहअनुसार ज्ञापनपत्र प्रस्तुत गरेको उहाँले बताउनुभयो ।
ज्ञापनपत्रमा भनिएको छ –‘वर्तमान विद्यालय समय तालिका परिवर्तनले अभिभावकहरूलाई आफ्ना बालबालिकाको उचित व्यवस्थापन गर्न कठिनाइ उत्पन्न हुनेछ । विशेषगरी कामदार अभिभावकहरूका लागि बिदाको दिनमा बालबालिकाको हेरचाह, निगरानी कसले गर्ने भन्ने चिन्ता थपेको छ । बिदाको समयमा बालबालिकहरूमा मोबाइल र टीभीको कुलतमा परेर अध्ययनबाट टाढा हुने र एकहोरो हुने जोखिम छ । धेरै बिदाले विद्यार्थीहरूको पढाइ बिग्रन सक्ने र बानी—व्यवहार बिग्रने र कुलतमा फस्न सक्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले हामीले विद्यार्थीहरूको भविष्यमाथि खेलबाड हुने कुनै पनि निर्णय गर्दा व्यापक अभिभावकहरूको हित र अभिभावकहरूसँग छलफल र समन्वयमा निर्णयहरू गर्दा राम्रो हुने हाम्रो अनुरोध छ ।’

यसैबिच सरकारले गरेको नयाँ शैक्षिक सत्र सुरुआत र आइतबारको बिदा सम्बन्धमा भक्तपुर नगरपालिकाले सरोकारवाला विद्यालय संगठन, अभिभावक संघलगायतसँग बुधबार छलफल गरेको छ ।
छलफलमा सहभागी प्रतिनिधिहरूले माध्यमिक तहसम्मको विद्यालयसम्बन्धी एकल अधिकार स्थानीय तहलाई संविधानले नै प्रदान गरेको र शिक्षा नियमावली नै वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने उल्लेख भएको सन्दर्भमा नेपाल सरकारले गृहकार्य नै नगरी हतारमा नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सुरु गर्ने निर्णय गर्नु सही नभएको बताएका छन् ।
सहभागी प्रतिनिधिहरूले अभिभावक र विद्यार्थीहरूको भावनाको सम्मान गर्दै भक्तपुर नगरपालिकाले उपयुक्त निर्णय लिनेमा विश्वास व्यक्त गरेका छन् ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा जनप्रतिनिधिहरू, नगर शिक्षा शाखाको प्रमुख, इसान, प्याब्सन, एन. प्याब्सन, हिसान, सार्वजनिक शैक्षिक गुठी सञ्चालक सङ्घ, अभिभावक सङ्घलगायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
यस विषयमा नगरपालिकाको चैत ३० गते सामुदायिक विद्यालयसँग सम्बन्धित सार्वजनिक विद्यालय, संयुक्त परीक्षा समिति, सामूहिक परीक्षा समिति र आधारभूत विद्यालय संयुक्त परीक्षा समितिका प्रतिनिधिहरूसँग छलफल गरी राय सुझाव लिएको नगरपालिकाले जनाएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिसँग छलफल चलाइरहेको र बिदा दिने नदिनेबारे सरोकारवालाहरूसँगको छलफलपछि निर्णय गर्ने बताउनुभयो ।
जिल्लाका अन्य ३ नगरपालिकाले पनि यसबारे छलफल गरिरहेको जनाएका छन् ।
देशभरका अन्य कतिपय पालिकाले समेत संघ सरकारको निर्णयको अबज्ञा गर्दै आफ्नै तालिका अनुसार भर्ना अभियान र पठनपाठन गर्ने ब्यबस्था मिलाउने निर्णय गरिसकेका छन् ।











प्रतिक्रिया