उदयपुरमा एसईई : बाइस केन्द्रमा पाँच हजार छ सय त्रियानब्बे परीक्षार्थी सहभागी हुने

1.03k
Shares

उदयपुर । 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ उदयपुर जिल्लामा यही चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा समन्वय इकाइ उदयपुरका प्रमुख भवानी प्रसाद कट्टेलका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाभर २२ वटा परीक्षा केन्द्र कायम गरिएको छ, र तोकिएका केन्द्र विद्यालयका प्रधानाध्यापक नै केन्द्राध्यक्ष रहनेछन् ।

यस वर्ष उदयपुरबाट जम्मा ५ हजार ६ सय ९३ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । तीमध्ये ५ हजार ४ सय जना नियमित र २ सय ९३ जना आंशिक (ग्रेडवृद्धि) परीक्षार्थी छन् । प्राविधिक धारतर्फ १ सय ८० जना विद्यार्थीले परीक्षा दिनेछन् ।

विद्यालयगत विवरणअनुसार सबैभन्दा बढी परीक्षार्थी सामुदायिक विद्यालयतर्फ त्रियुगा नमुना मावि, गाईघाटबाट प्राविधिक धारबाहेक १ सय ९६ जना सहभागी हुँदैछन् । संस्थागततर्फ प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलबाट १ सय २ जना विद्यार्थीले परीक्षा दिनेछन् । सबैभन्दा कम परीक्षार्थी न्युटन एकेडेमी, माडिबास र न्यु मोडेल, बगाहाबाट चार–चार जना मात्र रहेका छन् ।

परीक्षा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, सुरक्षा र सामग्रीको व्यवस्थापन पूरा भइसकेको शिक्षा समन्वय इकाइले जनाएको छ ।