सर्वोच्चद्वारा ओली लेखक पक्राउबारे कारण देखाउ आदेश


काठमाडौं ।

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा दुवै जनालाई पक्रनुको कारण माग गरेको छ । साथै सर्वोच्चले उनीहरूलाई तत्काल छोड्न अस्वीकार गरेको छ ।

पूर्वप्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य र पूर्वगृहमन्त्री लेखकका पत्नी यशोदा लेखकले दायर गरेको छुट्टाछुट्टै रिटमा सोमबार सरकारको नाउँमा सो आदेश जारी भएको हो । दुवै रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइएको थियो ।

सर्वोच्चको कारण देखाउ आदेशसँगै प्रहरीले बुधबारसम्ममा हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको कारबाही सिफारिसका आधारमा भन्दै सरकारले गत शनिवार बिहानै ओली र लेखकलाई पक्राउ गरेको थियो । हिरासतमा राख्नका लागि प्रहरीले दिएको पक्राउ पुर्जी गैरकानुनी रहेको दाबी गर्दै दायर सो रिटमा हिजो दुवैतर्फका वकिलले अलग अलग इजलासमा बहस गरेका थिए । न्यायाधीश मेघराज पोखरेलको इजलासमा ओलीको रिट र न्यायाधीश कुमार रेग्मीको इजलासमा लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाइ भएको थियो ।

सरकारी वकिलहरूले कार्की प्रतिवेदनको सिफारिसका अनुसार थप अनुसन्धान तथा बयान लिनका लागि हिरासतमा राख्नुपर्ने तर्क गरेका थिए । जिल्ला अदालतले दुवै जनालाई पाँच जना थुनामा राख्न आइतबार अनुमति दिएको भए पनि सुरुको पक्राउ पुर्जी नै गैरकानुनी रहेको जिकिर गर्दै विपक्षी वकिलहरू बहस गरेका थिए । कारण देखाउ आदेशसँगै अब यो मुद्दाको सुनवाइ संयुक्त इजलासमा हुनेछ ।