सञ्चारकर्मीमाथि दुर्व्यवहारप्रति पत्रकार महासंघको आपत्ति

4.42k
Shares

रौतहट। 

 समाचारको विषयलाई लिएर सञ्चारकर्मी सञ्जय मिश्रमाथि सामाजिक सञ्जालमार्फत असभ्य भाषा प्रयोग गर्दै गालीगलौज र मानमर्दन गरिएको घटनाप्रति तीनै तहका नेपाल पत्रकार महासंघले आपत्ति जनाएका छन्। रातोपाटी अनलाइन खबरका सञ्चारकर्मी मिश्रलाई सामाजिक सञ्जाल प्रयोगकर्ता आइसपोट प्रभु बाट असभ्य भाषामा गालीगलोज र मानमर्दन गरिएको हो। असभ्य भाषा प्रयोग गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाहीको माग गरिएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, मधेश प्रदेश समिति तथा रौतहट शाखाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै समाचारप्रति असहमति भए प्रचलित कानुनी प्रक्रिया अपनाउनु पर्नेमा सामाजिक सञ्जालमार्फत व्यक्तिको प्रतिष्ठामाथि आघात पुर्‍याउने कार्य निन्दनीय मात्र नभई सामाजिक अपराधसमेत भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, मधेश प्रदेश महासचिव शैलेन्द्र महतो क्रान्ति तथा रौतहट शाखाका सचिव गौतम श्रेष्ठले हस्ताक्षर गरेका छन्।

उक्त विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। साथै, सामाजिक सञ्जालमार्फत गरिएको यस्तो दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

रातोपाटी डटकमका रौतहट संवाददाता सञ्जय मिश्रमाथि सामाजिक सञ्जालमा असभ्य भाषा प्रयोग गर्दै गालीगलौज गरिएको जनाइएको छ।