सही मानेमा भन्ने हो भने जेनजी पुस्ताको चाहना भनेको देशमा भ्रष्टाचारमुक्त सुशासन कायम गराउनु थियो । सुशासन कायम भएपछिका दिनमा देशको चौतर्फी विकास तथा उन्नतिको सपना पनि बुनिएको हुन्छ नै । तर जेनजी पुस्ताभित्रकै नेतृत्व गर्न सक्ने आधिकारिक जेनजी पुस्ताको अभावमा अन्तरिम सरकारले चुनाव गराउने तयारी गरिरहेको छ ।
चुनाव एउटा उपाय भए पनि वर्तमानको यो चुनावले जेनजी पुस्ताका अपेक्षा पूरा हुने केही अपेक्षा राखिएको भए पनि पूर्णता भने पाउन सक्ने अवस्था बनेको छैन । पुराना राजनीतिक दलहरुले संसद् पुनस्र्थापना होस् भन्ने हेतुले चुनावमा सहभागी हुँदै छन् । हामीमध्ये चुनावमा जसले जितेर सरकार गठन गरे पनि पुराना अनियमितताका मामलामा उनीहरू एकढिक्के हुनेवाला छन् । उनीहरूका अनुसार संसद् पुनस्र्थापना भयो र पुरानै राजनीतिक दलले हालिमुहाली गर्न पुगे भने जेनजी पुस्ताको आन्दोलनको औचित्य पूर्णरुपमा सकिएको मान्नुपर्ने हुन्छ ।
पुराना राजनीतिक दलले हालिमुहाली गर्न पाए भने विगतको भन्दा पनि नीच कर्मतिर लाग्न अनि घमण्ड बढाउनतिर लाग्नेछन् भन्ने कुरामा कुनै शङ्का छैन । चुनावको प्रचारप्रसारमा लागिरहँदा पुराना राजनीतिक दलका उम्मेदवारले नयाँ तथा युवा केन्द्रित राजनीतिक दलका बारेमा पनि विभिन्न रहस्यहरूको पर्दाफास गरिरहेका छन् । यो प्रचारप्रसारले गर्दा आम जनताको मानसमा नयाँ राजनीतिक दलप्रतिको विश्वासमा सङ्कट नआउला भन्न पनि सकिने ठाउँ छैन । पुराना राजनीतिक दलका राजनीतिक अकर्मण्यताका शृङ्खलाबाट आजित भएका नेपाली जनतालाई नयाँ राजनीतिक दलहरूले आफ्ना पक्षमा पारेर मत प्राप्त गर्नको लागि के–कस्ता प्रयास गर्छन् र कतिको विश्वासमा लिन सक्छन्, तदनुसार जित्ने र हार्ने कुरा आँकलन गर्न सकिन्छ ।
चुनावको मुखतिर समय धस्कँदै जाँदा चुनाव नै नहोला कि भन्ने आशङ्का पनि बढ्न थालेको छ । पूर्वराजाले समेत भाषणमार्फत चुनाव रोक्न आह्वान गर्दै गरेको अवस्था विद्यमान रहेको छ । यदि चुनाव हुन सकेन र पुराना राजनीतिक दलले चाहेनुसारको संसद् पुनस्र्थापना भएको खण्डमा जेनजी पुस्ताको विद्रोह आफैँमा खेर गएको ठहर्छ । झन्डै सात दर्जनको बलिदानीबाट आएको परिवर्तनलाई आत्मसात् गर्न नसक्नेहरुबाटै यसलाई बिथोल्ने काममा अधिक प्रयास भएको वा हुने गरेको पाइन्छ । जेनजी पुस्ताका सपना बिथोलिनु भनेको नै नेपाली जनताका परिवर्तनका चाहनामाथि तुषारापात हुनु हो ।
यी सबै हुनुका पछाडि छोटो समयमा सफल विद्रोह गर्न र आमूल परिवर्तन ल्याउन सक्ने जेनजी पुस्ताको आधिकारिक प्रतिनिधिको अभाव, सफल विद्रोहपछिको स्पष्ट गन्तव्यको अभाव, जेनजी पुस्ताले स्वयं स्वतन्त्र भएर निर्णायक भूमिका सम्हाल्न नसक्नुजस्ता कमजोर पक्षको उपज मान्नुपर्ने हुन्छ । यसै दिशाहीनताको कालखण्डबाट गुज्रँदै गर्दाको समयमा आफ्ना माग पूरा गराउनको लागि प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएका भए पनि कानुनी प्रक्रियाका बारेमा अनभिज्ञ रहेका कारण उनीहरुको दबाब केवल केटौले तहको दबाब मात्र हुन पुग्यो ।
त्यस्तै केटौले स्तरको दबाब बोकेर शिक्षामन्त्री महावीर पुनलाई दबाब दिन गएको जेनजी पुस्तालाई मन्त्री पुनले नाजवाफ हुने गरी दिएको उत्तरले उनीहरु साँच्चै नाजवाफै भएर फर्कन बाध्य भएका थिए । यसरी धेरैतिरबाट उनीहरू पराजित हुँदै जाँदाको छोटो कालक्रममै पनि जेनजी पुस्ताका युवाहरु निरुत्साहित हुन पुगेका थिए । यस कुराले के देखाउँछ भने, जेनजी पुस्ताका युवाहरू धैर्यशील बनेर अलि लामो समय कुर्न वा टिक्न सक्ने खालका छैनन् । अधैर्यताले गर्दा पनि जेनजी पुस्ताका सपना पूरा गराउने बाटो तय गर्न अवरोध पुग्न सक्ने अनुभूति परिपक्वहरुले गरेका हुन्छन् । जुन अनुभूति भनेको पीडाबोध गराउने, निराशा बढाउने खालका हुन्छन् ।
एउटा नयाँ सोच, जाँगर, उत्साह, उज्यालो भविष्यको चित्र नदेखी कुनै पुस्ता पनि विद्रोहमा लाग्दैन । यदि लागेको खण्डमा उपलब्धिभन्दा गुमाउने कुरा अधिक हुन्छ । जुन विद्रोह पछि गएर असफल राजनीतिक प्रतिशोधको रुपमा रुपान्तरित भई शुरुवाती विद्रोहको कालखण्डमा उपलब्ध भएका महत्वपूर्ण चिजलाई सजिलैजस्तो देखिने गरी तिलाञ्जलि दिन विवश हुनुपरेका घटनाहरु निकै ठाउँका विद्रोहका नजिरको रुपमा स्थापित हुन पुगेका छन् ।
अबका दिनमा हाम्रो देशको जेनजी पुस्ता पनि कुनै बेग्लै अस्तित्वमा अडिन नसकेर बिस्तारै लाचार बन्दै विगतमा सत्ताको तर मारेर हालिमुहाली मच्चाएका र उच्च अहंताको मानसिकतामा जीवित हुँदै आएका राजनीतिक दलसँग एकाकार बन्न सक्ने दिन नआउला भन्न सकिँदैन । त्यो अवस्था आएपछिका दिनमा जेनजी पुस्ताप्रतिको आम नेपाली जनताको विश्वास एक थोपो पनि बाँकी नरहेर धुलिसात हुनेछ । यो अवस्था यसरी सिर्जना भयो कि जेनजी पुस्ताको सशक्त नेतृत्वको अभावले गर्दा यस्तो भएको हो । यसै विषयलाई लिएर जेनजी समूहको परिचालन काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले गरेका हुन् भन्नेजस्ता प्रचारप्रसारका कुरा पनि सुन्न र पढ्न पाइयो ।
अबको चुनावबाट पनि सही र निर्दिष्ट दिशानिर्देश गर्न सक्ने नेतृत्व चुनिए हुने थियो भन्ने अपेक्षा आम जनतालगायतका जेनजी समूहको पनि रहेको छ । केही नहुनुको साटो थोरै भए पनि उपलब्धि भयो भने यसलाई अग्रगमनकै संज्ञा दिन सकिन्छ । जेनजी समूहले चाहेजसरी नभए पनि पुराना राजनीतिक दलका गाडिएका पुरानै जरा केही मात्रामा चलायमान भएका मात्र होइन कि चुँडिएका पनि छन् ।
यो चुनावले बाँकी रहेका सबै जरा चुँडाउन सक्ने खालको परिणाम देखाइदिन सकेको खण्डमा जेनजी समूहका अपेक्षामध्येका केही प्रतिशत अपेक्षा त पूरा भएकै मान्नुपर्छ । अर्को छोटो समयमा भएको आमूल परिवर्तन धेरैलाई अपाच्य पनि हुन सक्छ । किनभने त्यस विषयमा मानसिक रुपमा जनमानस अभ्यस्त भइसकेको हुँदैन । नेपालमा १०४ वर्ष लामो अवधिसम्म टिकेर आफ्नै मर्जिअनुसारको शासन चलाउँदै आएको राणाशासन पनि क्रमशः जरा उखेलिँदै गएर पाइला–पाइलामा कमजोर बन्दै जान थाल्यो र अन्त्यमा धराशायी भएरै छाड्यो ।
अहिलेको यो चुनावको माहोललाई हेर्दा र पुराना राजनीतिक दलरुका कर्तुतका कुरा सुन्दा हाम्रो आङ जिरिङ्ग भएर आउँछ । अनि हामी धेरैको दिमागले सोच्न थाल्छ कि ती पुराना राजनीतिक दलहरु सबै खराब थिए, अब जितेर आउने नयाँ अनुहारले सबै राम्रा काम गर्नेछन्, त्यसपछि देशको विकास, सुशासनजस्ता कुरा घोडादौडको गतिमा अगाडि बढ्लान् । त्यसपछि हामी सबै सुखी र समृद्ध हुनेछौँ भन्ने सोचाइ हाम्रो मानसमा आउन सक्छ । तर यो सोचाइको केही थोरै प्रतिशत सही भए पनि धेरै प्रतिशत गलत हुन सक्छ । विजेता बनेर आउनेहरुले देश र जनताका लागि राख्ने विचार वा मानसिक सोच कस्तो छ ? भनेर उनीहरूका भाषणबाट थाहा पाइन्छ भने उनीहरूले गरेका कर्मबाट उनीहरुको क्षमता विचार गरिन्छ ।
विजेता बनेर आएकामध्ये बीस प्रतिशत प्रतिनिधिले देश र जनताका लागि साँचो वा पवित्र मानसले काम गर्न सके, अवरोध आएका स्थानमा विद्रोह गर्न सके भने नेपाली जनताका लागि मात्र होइन कि जेनजी समूहका लागि पुनः दोस्रो आन्दोलन गर्नुपर्ने बाध्यता आउँदैन । यदि जेनजी समूहको त्यो सफल आन्दोलन भदौ २३–२४ मा नभएको हुँदो हो त आजका दिनमा यतिको आशा लाग्दो अवस्था आउने थिएन होला ।
जेनजी समूहले आन्दोलन गर्दै गर्दाका दिनमा देश रफ्तारमा भ्रष्टाचार र बेथितिमा फस्दै थियो, त्यो घटेर जानुको साटो पछि अझै बढेर जानेवाला थियो, त्यसमा केही हदसम्म बिर्को लागेको छ । जेनजी समूहले यसैलाई पनि आन्दोलनको एउटा उपलब्धिको रुपमा लिन सक्नुपर्छ । भन्न खोजिएको कुरा के भने, जेनजी आन्दोलनपछिका कालखण्डमा जति मात्रामा उपलब्धि हात परेको छ, त्यसैमा सन्तुष्ट भएर ढुक्क पर भनिएको चाहिँ किमार्थ होइन । अपेक्षित उपलब्धि हात नपरेसम्म सङ्घर्षको मैदानमा उत्रनु आवश्यक नै हुनेछ ।
राजनीतिको भीडन्तमा खरो उत्रेर आएको आधिकारिक नेतृत्वको सरकारलाई हो भने जेनजी समूहले बाध्य बनाएर भए पनि आफ्ना माग पूरा गराउन दबाब दिन सक्ने अवस्था हुन्थ्यो । तर अन्तरिम सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले देशलाई अराजक गतिविधिको अवस्थाबाट सामान्य अवस्थामा र सामान्य अवस्थाबाट चुनावी गतिविधिको माध्यमबाट आधिकारिक (जनताको निर्देश पाएको) सरकारलाई सत्ता सुम्पनु नै मुख्य कर्तव्य र सफलता हो भन्ने मान्यता राख्नुपर्ने हुन्छ ।
चुनाव केवल एउटा माध्यम मात्र हो, साध्य होइन । जेनजी समूहकै कोही आधिकारिक ठहरिएका व्यक्तिबाट सुन्न पाइन्छ कि चुनाव हाम्रो माग होइन, तथापि चुनावको वातावरण तयार भइसकेकोले चुनावलाई मान्न हामी तयार भएका मात्र हौँ । जेनजी पुस्ताले केवल चुनावमय वातावरण भएकाले चुनावलाई मान्यता दिएको मात्र हो कि चुनावको परिणाम अपेक्षित भएन भने त्यसलाई पनि मान्यता दिने कि नदिने ? भन्ने कुरा आजै निक्र्यौल गर्नुपर्छ ।
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भनेजसरी नै चुनावमा अपेक्षित परिणाम आयो भने सही आएन भने गलत भन्ने भाष्य सिर्जना हुँदै र लागूसमेत हुँदै गएको छ । नयाँ र उदीयमान शक्तिले पनि उही पुरानै ढर्राका व्यवहार गर्न थाल्छन् भने तिनको भरोसा कतै पनि गर्न सकिने ठाउँ रहँदैन । ठाउँ नरहनुको अर्थ आम जनताको अपेक्षित आशा र भरोसा टुट्दै जानु हो ।
यदि जबरजस्त परिवर्तनको अपेक्षा राखेको हो भने भदौ २३–२४ को आन्दोलनलाई अधुरो ठानेर त्यस अधुरो वा अपुरो कर्मलाई मन, बचन र कर्मले पूरा गर्ने दिशातिर लाग्न तयार हुनुपर्छ । आखिर जे भए पनि चुनावको मुखतिर आएर जेनजी समूहले चुनाव चाहेको थिएन तर अहिलेलाई स्वीकार गरियो भन्नुको वास्तविक अर्थ के हुन्छ ? विगतको नेपालको राजनीति यसै खालको लेते व्यवहारले बिग्रँदै गएर हेर्नै नसकिने कुरुप बन्दै गएको छ । आफैँमा बदनाम बन्दै छ । तर शासकलाई त्यसैभित्रको गन्हाउने फोहोरभित्र लुकेरै भए पनि मस्ती गर्ने रहर जागेर आउन थालेको छ ।











प्रतिक्रिया