काठमाडौं ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई खोटाङमा ठूलो धक्का लागेको छ । पार्टीका जिल्ला अध्यक्ष तथा चुनावी कमाण्डर नै पार्टी परित्याग गरेर नयाँ दलमा प्रवेश गरेका छन् ।
जसपाका खोटाङ जिल्ला अध्यक्ष निर्मल राईले आफू सहित ३७ जनाको समूह लिएर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा औपचारिक प्रवेश गरेका हुन् ।
विशेष कुरा के छ भने, यो घटना अशोक राईकै गृहजिल्लामा भएको हो । जिल्ला अध्यक्ष नै बाहिरिएपछि जसपा खोटाङमा खैलाबैला मच्चिएको छ । स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन पुनर्गठनको दबाब बढेको नेताहरू बताउँछन् ।
निर्मल राईले पार्टीभित्र लामो समयदेखि विचार र कार्यशैलीमा असन्तुष्टि रहेको जनाउँदै वैकल्पिक राजनीतिक धार रोजेको बताएका छन् । उनले श्रम, पारदर्शिता र जनमुखी एजेन्डा बोकेको भन्दै श्रम संस्कृति पार्टी रोजेको दाबी गरेका छन् ।
उता जसपा स्रोतका अनुसार पार्टीभित्रको आन्तरिक छलफलपछि संगठन सुदृढीकरण अभियान अघि बढाइने तयारी गरिएको छ । गृहजिल्लामै नेतृत्वमाथि चुनौती थपिएपछि यस घटनालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।











प्रतिक्रिया