काठमाडौं ।
प्रतिनिधि सभाको आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले सुशासन, पारदर्शिता, जवाफदेहिता र लोकतन्त्र नै आफ्नो मुख्य राजनीति एजेन्डा भएको बताउँदै त्यसैको रक्षाको लागि आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन् ।
शनिबार नयाँबानेश्वरमा नेपाली कांग्रेस समर्थक बौद्धिक एवं पेशागत समूहद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सुशासनसम्बन्धी आफ्नो दृष्टिकोण केवल घोषणा मात्र नभई कार्यान्वयन मुखी रहेको बताए ।
कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचारप्रति शून्य सहनशीलता, सार्वजनिक खर्चमा खुला डेटा र नागरिक निगरानी, सांसद विकास कोषलाई स्थायी संरचना, युवालाई स्टार्ट अप, स्थानीयलाई उद्यमशीलता, महिलाको सीप विकास, रोजगारी र सेवा सुधारलगायतका विभिन्न एजेण्डाका साथ चुनावी मैदानमा उत्रिएको बताए ।
जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचार, रोजगारी, सुशासन, पारदर्शिता, युवालाई अवसर जस्ता विषयलाई आफूले लामो समयदेखि उठाउँदै आएको हुँदा ती एजेन्डा कार्यान्वयन गर्न आफूलाई सहज हुने थापाको भनाइ छ ।
‘यही क्षेत्रमा जन्मिएको, हुर्किएको र यहीँ नै संघर्ष गरिरहेको व्यक्ति हुँ । साथै समाजको भित्री तहसम्म पुगेर जनतालाई बुझेको पनि छु । यो ठाउँ भावनासँग जोडिएको छ।’ उनले बताए ।
उनले अगाडि भने–‘आफैँले पनि विभिन्न समस्या भोग्दै आइरहेको छु । कहाँ कस्तो समस्या छ मलाई राम्रोसँग थाहा छ । त्यसैले काठमाडौँ क्षेत्र नम्बर १ मा सुधार गर्नुपर्ने धेरै काम छन् । अरु यो क्षेत्रलाई पढ्नुपर्छ । मैले भाग्दै आएको छु ।’











प्रतिक्रिया