एपीएफ अस्पतालले २४ औँ वार्षिकोत्सव मनायो, नयाँ अपरेसन थिएटर सञ्चालनमा


काठमाडौँ ।

सशस्त्र प्रहरी बलले सञ्चालन गरेको एपीएफ अस्पतालले आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ। बलम्बुस्थित अस्पतालमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै राष्ट्रिय स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको बताए।

अस्पतालका प्रमुख डा. रुपक महर्जनका अनुसार, अस्पतालले ३ सय शय्याको संघीय स्तरको विशिष्टीकृत सेवा प्रदान गर्दै आएको छ। गत वर्ष १ लाख ८२ हजारभन्दा बढीले ओपिडी सेवा लिएका थिए भने हजारौंले इमरजेन्सी र शल्यक्रिया सेवा लिएका थिए।

अस्पतालले ८ शय्याको अत्याधुनिक ‘मोड्युलर अपरेसन थिएटर’ सञ्चालनमा ल्याएको छ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा आवासीय चिकित्सकहरूको प्रशिक्षण सुरु भएको छ। स्थापना दिवसको अवसरमा कर्मचारीलाई दुई दिन बिदा दिने निर्णय पनि गरिएको छ।