रौतहटको नमुना सामुदायिक वनमा ३० घन्टापछि आगो नियन्त्रण


रौतहट ।

रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा लागेको आगलागी करिब ३० घन्टापछि नियन्त्रणमा आएको छ। बिहीबार दिउँसो सुरु भएको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वनकर्मीको संयुक्त प्रयासमा शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो।

घटनास्थलमा गौरस्थित नारायणदल गणबाट दमकलसहित नेपाली सेनाको टोली परिचालन गरिएको थियो। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त कुमार साहका अनुसार निरन्तरको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएको हो।

आगलागीबाट २७ स्थानमा घाटगद्दी गरी राखिएको करिब ८ देखि १० हजार क्युफिटभन्दा बढी सालको गोलिया काठ जलेको प्रारम्भिक अनुमान गरिएको छ। उक्त काठ २०७६ सालमा ४ सय केभी प्रसारण लाइन विस्तारका क्रममा काटेर संकलन गरिएको थियो।

प्रदेश वन मन्त्री शंकर चौधरीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूले घटनास्थल पुगेर अनुगमन गरेका थिए। आगलागी नियतवश गराइएको हुन सक्ने आशंका गरिएको छ भने घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।