नेपाल–भारत सौम्यशक्ति कूटनीति प्रवद्र्धनमा पशुपतिनाथ

2.82k
Shares

सौम्यशक्ति कूटनीति (सफ्ट पावर डिप्लोम्यासी) आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धको एक महत्वपूर्ण अवधारणा हो । यसले कुनै राष्ट्रले सैन्य शक्ति, आर्थिक दबाब वा कठोर कूटनीतिक उपाय प्रयोग नगरी संस्कृति, धर्म, भाषा, दर्शन, कला, परम्परा तथा साझा मूल्य–मान्यताका माध्यमबाट अन्य राष्ट्रसँग आपसी विश्वास, सम्मान र सहानुभूति विकास गर्ने प्रक्रियालाई जनाउँछ । यही सन्दर्भमा धार्मिक–सांस्कृतिक आस्था एवं धरोहरका रूपमा रहेको पशुपतिनाथ मन्दिर नेपाल–भारत सौम्यशक्ति कूटनीतिको केन्द्रविन्दुका रूपमा स्थापित भएको छ ।

नेपाल–भारत सम्बन्ध हजारौँ वर्ष पुरानो सभ्यतागत निरन्तरतामा आधारित छ । धार्मिक आस्था, सांस्कृतिक अभ्यास, सामाजिक परम्परा र जीवनदर्शनका तहमा दुवै देश एक–अर्कासँग गहिरोरूपमा गाँसिएका छन् । पशुपतिनाथ यही सभ्यतागत सम्बन्धको जीवन्त प्रतीक हो, जसले राजनीतिक उतार–चढावभन्दा माथि उठेर दुई देशका जनतालाई भावनात्मक र आध्यात्मिक रूपमा जोड्दै आएको छ ।

पशुपतिनाथ केवल नेपालको राष्ट्रिय आराध्यदेव मात्र होइन, सम्पूर्ण हिन्दू जगत्को आस्थाको केन्द्र हो । नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक र भावनात्मक सम्बन्धलाई जोड्ने सेतुका रूपमा पशुपतिनाथको भूमिका अद्वितीय छ । राजनीतिक सीमाले छुट्याए पनि आस्थाले जोडेको सम्बन्ध पशुपतिनाथमार्फत अझ सुदृढ बनेको छ । यही कारणले पशुपतिनाथलाई नेपाल–भारत सौम्यशक्ति कूटनीतिको सबल आधारस्तम्भका रूपमा लिन सकिन्छ ।

ऐतिहासिक एवं पौराणिक पृष्ठभूमि ः

पशुपतिनाथसँग जोडिएको पौराणिक कथा र ऐतिहासिक प्रसङ्गले नेपाल–भारत सम्बन्धको प्राचीनता र गहिराइ पुष्टि गर्छ । त्रेतायुगमा स्वयं आविर्भाव भएको ज्योतिर्लिङ्गका रूपमा पशुपतिनाथको स्थापना भएको धार्मिक विश्वास छ । त्यस समयमा देवपतन क्षेत्र (हालको पशुपति क्षेत्र) तलाउका रूपमा रहेको र त्यहाँ एक ऋषिले रोपेको कमलबाट ज्योतिर्मय शिवलिङ्ग प्रकट भएको परम्परागत मान्यता छ ।

लामो अन्तरालमा भूस्खलनजस्ता प्राकृतिक प्रकोपले द्वापरयुगको अन्त्यमा आइपुग्दा सो ज्योतिर्मय शिवलिङ्ग पुरिएको अवस्थामा थियो । द्वारकाबाट आएका श्रीकृष्ण र गोपालहरूले त्यस ठाउँमा गाईले स्वतः दूध झार्दै गरेको देखे । उनीहरूले त्यहाँ उत्खनन गर्दा ज्योतिर्लिङ्ग देखे । यसले पशुपतिनाथ स्थापित देवता नभई स्वयं आविर्भाव भएको शिवस्वरूप ज्योतिर्लिङ्ग भएको मान्यतालाई बलियो बनाउँछ । यही पौराणिक निरन्तरताले पशुपतिनाथप्रतिको आस्था नेपालमा मात्र सीमित नभई भारतसहित विश्वभर फैलिएको छ । यो कहावत नेपाल–भारतबीचको पौराणिक सम्बन्धको पुरानो र सशक्त प्रमाण हो ।

पशुपतिनाथको दार्शनिक पक्ष ः

अब अर्को महत्वपूर्ण कुरा, पशुपतिनाथलाई सम्पूर्ण प्राणीजगत्का स्वामी मानिन्छ । यसैले विश्वकै हिन्दूहरूको आस्थाको केन्द्र मात्र नभएर अन्य धर्मावलम्बीहरूको समेत पशुपतिनाथप्रति चासो बढेको पाइन्छ । अब प्रश्न उठ्छ– पशुपतिनाथलाई कसरी सम्पूर्ण प्राणीजगत्का स्वामी (मालिक) मानिएको हो त ?

सामान्य मानिसले पशु भनेको चारखुट्टे जनावरलाई मात्र बुझेको हुनाले उसले पशुहरूको मालिक नै पशुपतिनाथ भन्ने सोच्न सक्छ तर पशुको मात्रै मालिक होइन । व्याकरणानुसार ‘पश्यतीति पशुः’ अर्थात् देख्न सकिने शरीरधारी जीवहरूलाई पशु भनिन्छ, जुन ‘पश बन्धने’ अर्थात् पासले बाँधिएका हुन्छन् । स्पष्ट भाषामा भन्दा सांसारिक बन्धनले बाँधिई यस पृथ्वीमा रहेका सम्पूर्ण प्राणीका मालिक नै पशुपतिनाथ हुन् भन्ने पशुपतिनाथ शब्दको व्युत्पत्ति एवं विग्रहले इङ्गित गर्दछ । यसैले पशुपतिनाथ विश्वकै हिन्दूहरूको आस्थाको केन्द्र हो ।

त्यस्तै शिवलाई ज्ञानका अधिष्ठाता भनिन्छ । शिवले डम्बरु बजाउँदा यसको ध्वनिबाट अइउण्, ऋृलृक, एओङ्, ऐऔच्, हयवरट् …… आदि संस्कृत व्याकरणका १४ सूत्रहरूको प्रतिपादन भएको र यसले देवभाषा संस्कृत उत्कृष्ट भाषा बनेको मानिन्छ । यो भाषा अब कम्प्युटरीकृत भई पृथ्वीमा मात्र नभएर अन्तरिक्षमा समेत प्रयोग गरिने योजना छ । शुक्ल यजुर्वेदमा भनिएको छ– ‘ईशान सर्वविद्यानां ईश्वर….।’ अर्थात् शिवजी सबै विद्याका स्वामी हुन् । संस्कृत प्रायः सबै भाषाको जननी हुनुको कारण पनि यही हो ।

यसै गरी हिन्दू धर्ममा मुक्तिका लागि विशेष स्थलहरूको खोजी हुन्छ । ती स्थलमध्ये पशुपति क्षेत्रलाई एक मानिन्छ । यहाँ मृत्यु भएमा मोक्ष प्राप्त हुने विश्वासले अन्त्य अवस्थामा पशुपति आर्यघाट सेवाकेन्द्रमा थुप्रै बिरामीलाई ल्याइने गरेको छ । यसले पशुपतिनाथलाई केवल जीवितहरूको आस्थाको केन्द्र मात्र नभई जीवन र मृत्युसँग जोडिएको आध्यात्मिक स्थलका रूपमा स्थापित गर्छ ।

यस्तै पशुपतिनाथ क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । यसले यहाँको सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रामाणिक बनाएको छ । यो मान्यताले पशुपतिनाथलाई विश्व सभ्यताको साझा सम्पदाका रूपमा प्रस्तुत गर्दै नेपाललाई सांस्कृतिक कूटनीतिक अवसर प्रदान गरेको छ ।

यसरी त्रेतायुगमै ज्यतिर्लिङ्गको आविर्भाव, द्वापरयुगमा पुनरुत्थान, मन्दिरको प्राचीनता, विश्व सम्पदाको मान्यता, मुक्तिको प्रतीक, भगवान् शिवप्रतिको आस्थाजस्ता कारणले गर्दा पशुपतिनाथ विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र बनेको कुरालाई नकार्न सकिँदैन ।

धार्मिक पर्यटन र जनस्तरीय सम्बन्ध ः

पशुपतिनाथको पूजा–विधि, संस्कार र धार्मिक परम्परा नेपाल र भारत दुवै देशमा समानरूपमा सम्मानित छन् । विशेष गरी यहाँ दक्षिण भारतीय ब्राह्मण पूजारीहरूद्वारा पूजा गरिनु धार्मिक सहकार्यको महत्वपूर्ण उदाहरण हो । कुनै औपचारिक द्विपक्षीय सम्झौताविना नै सदियौँदेखि कायम यो परम्पराले धर्ममार्फत सौम्यशक्ति कूटनीति कसरी व्यवहारमा लागू हुन्छ भन्ने कुरा स्पष्ट पार्छ ।

हिन्दू धर्मलाई सनातन धर्मका रूपमा लिइन्छ । साथै पछिल्लो समय नेपाल धर्मनिरपेक्ष राष्ट्र भए पनि विगतमा हिन्दू राष्ट्रका रूपमा ख्याति कमाएको राष्ट्र पक्कै हो । अझै पनि यहाँ कुल जनसङ्ख्याको झन्डै ९२ प्रतिशत हिन्दूहरू रहेका छन् । हिन्दू धर्मावलम्बीहरूको सङ्ख्या भारतमा पनि अधिक छ । तीर्थयात्रा समापनमा पशुपतिनाथको दर्शन नगरी तीर्थयात्रा पूरा हुँदैन भन्ने मान्यता नेपाल–भारत दुवै देशका हिन्दूधर्मावलम्बीमा छ ।

दैनिकजसो भारतीय भक्तजनहरू पशुपतिमा आउने क्रम त छँदै छ, विशेष गरी महाशिवरात्रिमा पशुपति क्षेत्र भारतीय साधु–सन्त र तीर्थयात्रीले झन् नै खचाखच भरिएको देखिन्छ । यसरी हरेक वर्ष भारतबाट लाखौँ तीर्थयात्री पशुपतिनाथको दर्शनका लागि नेपाल आउने गर्छन् । यसै गरी नेपालबाट पनि लाखौँ तीर्थयात्री भारतका मठ–मन्दिरमा जाने गरेको पाइन्छ । यस धार्मिक आवागमनले दुई देशका जनताबीच सांस्कृतिक आदान–प्रदान र आपसी समझदारी बढाउँछ ।

विशिष्ट नेताहरूदेखि कर्मचारी, साधु–सन्त, खेलाडी, कलाकार आदि फरक–फरक विचारधारा र विद्वता भएका व्यक्तिहरूको आगमनले उनीहरूको विचार, दर्शन र परम्पराको आदान–प्रदानमा प्रोत्साहन मिल्छ । यस साझा सांस्कृतिक विरासतले नेपाल–भारत द्विपक्षीय सम्बन्धमा गहिरो आधारस्तम्भ खडा गर्छ ।

उदाहरणका लागि, वि.सं. २०७१ मा दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथको दर्शन गर्न जानुभयो । यस क्रममा बीचबाटो (बानेश्वर) मा एक्कासि गाडी रोकी ओर्लिएर उहाँले सडक किनारमा रहेका नेपाली नागरिकसँग हात मिलाउनुभयो । त्यस बेला सौम्य कूटनीति प्रवद्र्धनमा यसले ठूलो बल मिलेको अनुभव गरिएको थियो । कठोर कूटनीतिको सट्टा यसरी भावनात्मक र सांस्कृतिक सम्बन्धमार्फत दुई देशबीचको सम्बन्धमा प्रगाढता हुन्छ भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ ।

यति मात्र होइन, भारतीय योगगुरु रामदेव, सुप्रिम हिरो अमिताभ बच्चन, बागेश्वर बाबाधामका धीरेन्द्रकृष्ण शास्त्री, क्रिकेट खेलाडी सचिन तेन्दुल्करजस्ता प्रसिद्ध व्यक्तित्वले पनि पशुपतिनाथको दर्शन गरेर भारतीयहरूलाई नेपालको तीर्थाटनका लागि अभिप्रेरित गरेका छन् । भारतीय तीर्थयात्रीहरूको आगमन हुँदा स्थानीय समुदाय, व्यापारीसहित धार्मिक व्यक्तित्वसँग उनीहरूको प्रत्यक्ष अन्तरक्रिया हुन्छ । यो अन्तरक्रियाले दुई देशका जनताबीच विश्वास र मित्रताको वातावरण सिर्जना गर्छ, जुन सौम्यशक्ति कूटनीतिको आधारशिला हो ।

धार्मिक पर्यटन केवल आस्थासँग मात्र सम्बन्धित हुँदैन, यसले स्थानीय अर्थतन्त्र, पर्यटन उद्योग र सामाजिक सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्छ । भारतीय तीर्थयात्रीहरूको आगमनले होटल, यातायात, साना व्यवसाय र स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पु¥याउँछ । यसरी धार्मिक पर्यटन सौम्यशक्ति कूटनीतिको आर्थिक आयामसँग पनि जोडिन्छ ।

भावी सम्भावना र रणनीति ः

नेपालले पशुपतिनाथलाई आधारस्तम्भको रूपमा लिई सौम्यशक्ति कूटनीति सुदृढ बनाउने दीर्घकालीन रणनीति अवलम्बन गर्नुपर्छ । भारत, श्रीलङ्का, म्यानमार, थाइल्यान्डलगायत हिन्दू समुदाय भएका देशलाई लक्षित गरी धार्मिक पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्न सकिन्छ । पशुपतिनाथ दर्शनलाई मुक्तिनाथ, जनकपुर र लुम्बिनीसँग जोडेर बहुआयामिक धार्मिक पर्यटन प्याकेज विकास गर्न सकिन्छ ।

भौतिक उन्नतिसँगै आध्यात्मिक सन्तुलन आवश्यक रहेको आजको विश्व परिवेशमा ‘पशुपति अध्यात्म अनुसन्धान केन्द्र’ स्थापना गर्नु समयसापेक्ष आवश्यकता हो । यस केन्द्रमार्फत पूर्वीय दर्शन, ध्यान, योग, यज्ञ र अध्यात्मसम्बन्धी विषयमा अनुसन्धान गर्न सकिन्छ, जसले नेपाललाई आध्यात्मिक अध्ययनको विश्व–केन्द्रका रूपमा स्थापित गर्न सहयोग पु¥याउनेछ ।
पशुपतिनाथजस्तो तपोभूमिमा यस्ता धार्मिक मान्यतालाई पुष्टि गर्ने अनुसन्धान केन्द्र स्थापना गर्न सकियो भने विश्वका हिन्दूहरू मात्र नभएर अन्य धर्मावलम्बीहरूको पनि आवागमनमा बढोत्तरी हुनेछ । यसले भारत मात्र नभएर अन्य मुलुकहरूमा समेत सौम्यशक्ति कूटनीति प्रवद्र्धनमा टेवा पुग्नेछ ।

पशुपतिनाथ नेपाल–भारत सम्बन्धको धार्मिक, सांस्कृतिक र भावनात्मक मेरुदण्ड हो । यसले औपचारिक कूटनीतिक संरचनाभन्दा पर रही जनस्तरमा विश्वास, आत्मीयता र साझा पहिचान निर्माण गरेको छ । त्यसैले पशुपतिनाथलाई सौम्यशक्ति कूटनीतिको केन्द्रविन्दुका रूपमा रणनीतिक ढङ्गले उपयोग गर्न सकियो भने नेपाल–भारत सम्बन्ध अझ प्रगाढ र स्थायी बन्नेछ ।

[email protected]