पत्रकारका घरमा तोडफोड, दोषीलाई कारबाही गर्न महासंघको माग


नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आफ्ना पूर्वअध्यक्ष,नेपाल समाचारपत्रका संवादाता मोतिराम तिमल्सिना र सदस्य लक्ष्मण तिमल्सिनाको निवासमा भएको तोडफोडप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

बनेपा नगरपालिका वडा नं. ९ स्थित तिमल्सिनाद्वयको निवासमा गएराति करिब २ बजेतिर अज्ञात समूहले तोडफोड गरेको जनाएको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गरेको अवस्थामा सञ्चारकर्मीको घरमै भएको घटनाले शान्ति–सुरक्षा अवस्था र पत्रकारको पेशागत सुरक्षामाथि प्रश्न उठाएको महासंघले उल्लेख गरेको छ।

महासंघले घटनाको भर्त्सना गर्दै संलग्न दोषीको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै सञ्चारकर्मीलाई भयरहित वातावरणमा काम गर्ने सुनिश्चितता गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन पनि आग्रह गरिएको छ।

महासंघका अध्यक्ष विनोदकुमार न्यौपानेद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने चेतावनी दिइएको छ।