चुनावी माहोल र मतदाता

564
Shares

आउँदो फागुन २१ गते सम्पन्न हुने चुनावका लागि सबैजसो राजनीतिक दलका उम्मेदवारहरू भोट माग्ने काममा लागेका विभिन्न सञ्चारमाध्यमबाट देख्न र सुन्न सकिन्छ । नयाँ जोगीले धेरै खरानी घस्ने भएजस्तै चुनावमा उम्मेदवार बनेका व्यक्तिहरू अनेक थरीका नाटक मञ्चन गर्दै मत आफ्नो पक्षमा पार्ने प्रयत्नमा लागेका छन् । हरेकजसो उम्मेदवारले आफूले जित्ने दाबी गर्दै गरेको अवस्था विद्यमान छ ।

पुराना राजनीतिक दलका उम्मेदवारले पुरानो बाजेको पेडा भनेर मिसावट भएको पेडा उपभोक्तालाई फसाएर बेचेजस्तै तरिकाले आफूले जसरी भए पनि जित्ने दाउमा लागेका छन् । यसका लागि आफ्नो क्षेत्रका मतदाताको घरघरमा गएर उनीहरूलाई काम सघाइदिएको नाटक राम्रैसँग मञ्चन गर्दै छन् ।

उम्मेदवारको यो नाटकले मतदाता कतिको हदसम्म प्रभावित भएर तत्–तत् उम्मेदवारलाई भोट हालेर जिताउलान् ? भन्ने कुराको ठोकुवा गर्न सकिने अवस्था छैन । यसभन्दा अगाडि पनि चुनावहरु धेरै पटक भए, जनताले अपेक्षित मतदान गरेर उनीहरुलाई जिताए तथापि उनीहरू सबैजसोले नाराअनुसारका काम गर्न नसकेर उनीहरूका आफ्नै प्रतिबद्धतालाई आफैँले असत्य भनाइ वा असत्य नाराको रुपमा साबित गरिदिए ।

पहिलेको चुनावमा जितेकाले पछिका चुनावमा हार बेहोर्नुपरेको थियो वा उनीहरूले असत्य नारा लगाउँदै आएका हुनाले हार बेहोर्नुपरेको थियो । अहिलेको चुनावमा पनि उनीहरूमध्ये केही थोरै प्रतिशत उम्मेदवारले जनतालाई झुटो आश्वासन नबाँडे पनि करिब ९० प्रतिशत उम्मेदवारले विनालाज झुटो आश्वासन बाँडेर भोट आफ्नो पक्षमा खसाल्ने दाउमा लागेका देखिन्छन् । चुनावमा जसरी जिते पनि आफ्ना दिन फर्कन्छन् भन्ने मानसिकतामा बाँचेका छन् ।

जेन्जी विद्रोहपछिका दिनमा आम मतदातामा फर्केको चेतले पनि केही प्रतिशत काम गर्ला भन्ने विश्वास आँकलन गर्न सकिन्छ । आउँदो फागुन २१ को चुनावमा शायदै बूढा पुस्ताबाहेक र आफ्ना विश्वासपात्र ठानिएका कार्यकर्ताबाहेक अरु युवा पुस्ताले पुराना राजनीतिक दलका उम्मेदवारलाई भोट दिन अवश्य पनि हिच्किचाउने अवस्था बन्नेछ । युवा पुस्ता भएर पनि काम गर्न नसक्ने, भ्रष्टाचार गर्नेजस्ता कुकर्ममा लागेका उम्मेदवारलाई भोट दिएर विजयी बनाउँदाका नकारात्मक प्रभावका बारेमा सचेत नहुनाले पनि अक्षम उम्मेदवारले भोट पाउन सक्ने अवस्था आउन सक्छ ।

हालको चुनावी माहोललाई नियाल्दा अहिले ९० प्रतिशत उम्मेदवारले मतदातासमक्ष नचाहिँदा बकबास सुनाएरै भोट माग्दै गरेको अवस्था छ । जुन उम्मेदवार तत्–तत् विषयमा अनभिज्ञ भएरै पनि मतदातालाई लट्याउन र मत आफ्नो पक्षमा पार्ने हर्कत गरिरहेका छन् । कोही उम्मेदवारले आफूले चुनावमा हार बेहोर्नुपरेको खण्डमा चुनाव नै अमान्य भनेर घोषणा गरिदिने धम्की दिँदै गरेको पनि देख्न र सुन्न पाइँदै थियो ।

उनको त्यो हास्यास्पद अभिव्यक्तिले केही बुझेका मतदाताका लागि अझै हाँसो थपेको हुनुपर्छ । कोही मतदाताले ती उम्मेदवारसँग जागिर माग्दै गर्दा अबको चुनावमा आफूले जित्न पाए उद्योग खोलिदिने अनि सोही उद्योगबाट जागिर माग्ने ती युवा मतदातालगायत अन्य युवाले समेत रोजगारी पाउने आश्वासन पस्कन पनि भ्याउँदै थिए । उनको त्यो आश्वासन केही बेरको लागि ….को न्यानो बने पनि यथार्थमा आधारित होइन भन्ने कुरा अबका करिब सबैजसो मतदाताले बुझेको विषय हुनुपर्छ ।

आउँदो चुनावमा उम्मेदवार बनेका नयाँ राजनीतिक दलले गरेको वा गर्ने काम के–कस्ता होलान् ? त्यसले आम नेपाली जनता अनि नेपाल देशको समृद्धिको ढोका कसरी खोल्न सक्ला ? भन्ने प्रश्न आजको बन्दै गरेको चुनावी माहोलको पेचिलो विषय हो । त्यसैले नयाँ राजनीतिक दल र तिनका उम्मेदवारले आ–आफ्ना घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धतालाई राम्ररी मनन गरेर तिनको औचित्य कतिको छ ? ती विषय तिनले पूरा गर्न सक्ने हुन् वा केवल आदर्श भनाइ मात्र हो भन्ने कुराको निक्र्यौल गरेर मात्र भोट दिनु उपयुक्त हुनेछ ।

आम मतदातालाई मासु–भातमा बिक्ने, पैसामा बिक्ने, झोले वा नेताको झोला बोकिदिने अनि नेताको हँमा हँ मिलाउने तर सही वा गलत के हो ? भनेर पर्गेल्न नसक्ने, परिवर्तनको चाहना नराख्ने मानसिकता र सोही अनुसारको व्यावहारिक कर्म भएकालाई झोले भनिएको होला । यस्तै मानिसको समूहले केही बिचार नै नगरी भोट दिएर जिताउने अवस्थाबाट गुज्रँदै गएका कारण हालसम्मको नेपालको शासन जनताका पक्षमा हुन नसकेको हो भन्ने कुरा सही हुन्छ । त्यसैले हरेक राजनीतिक दलका उम्मेदवारहरू हाम्रो घरदैेलोमा आएर हामीसँग भोट मागिरहँदा मासु–भातजस्ता एकपेटे खान्कीका भरमा त्यो तपाईं–हाम्रो अमूल्य मत दिएर अकार्थमा खेर फाल्नु आफैँभित्रको मूर्खतापूर्ण कर्मभन्दा अरू केही होइन ।

चुनावको अवसरमा कैयौँ चुनावी केन्द्रमा आफूले मनले खाएको वा विश्वास जितेको राजनीतिक दलको उम्मेदवारको अभावमा पनि मतदाता अन्यौलमा पर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आ, जेसुकै होस् भन्ने लापरबाहीपूर्ण मानसिकताका कारण गलत र अक्षम उम्मेदवारलाई भोट दिएर जिताउने दिशातिर हामी लाग्छौँ । जसको परिणाम हामीभित्रको आत्मग्लानि हटेर जानुको साटो बढेर जान सक्छ । यस चुनावमा मनले खाएको वा विश्वास जितेको राजनीतिक दलको उम्मेदवार नभएमा युवा र परिवर्तनकारी मानसिकता अनि कर्म पनि सोही अनुसारको गर्न सक्ने उम्मेदवारलाई भोट दिनु बुद्धिमानी हुनेछ ।

पुराना राजनीतिक दलका अनुसार भन्ने हो भने, संसद् पुनस्र्थापना हुनुपर्ने थियो । सत्तामा रहेका दलहरुले अविराम गतिमा देश लुटेर खान पाइरहनुपर्ने हुन्थ्यो र त्यसैका लागि केही देखावटीरुपमै भए पनि चुनावी वा अन्तरिम सरकारको विरोध गरेजस्तो गरेर संसद् पुनस्र्थापनाको माग गर्दै आन्दोलन पनि गरे । तर अन्तरिम सरकारले त्यस आन्दोलनलाई मान्यता नदिएर चुनावको मिति तय गरेको हुनाले उनीहरु पनि बाध्य बनेर चुनावमा आफूले जित्ने भन्ने घमण्ड अनि दाबीका साथ चुनावी मैदानमा उत्रेका हुन् । त्यसैले चुनाव असफल बनाउने षड्यन्त्र रचना गर्न र असफल बनाउन प्रयासमा लाग्न पनि बेर लाग्दैन ।

चुनाव बिथोल्न खोज्ने जोसुकै भए पनि तिनीहरु शान्तिपूर्ण वातावरणका विरोधी हुन् अनि धमिलो पानीमा माछा मार्न पल्केका मछुवा भएकोले आम मतदाताले चुनाव सम्पन्नताको लागि स्वच्छ आत्माले आ–आफ्ना तर्फबाट पहल गर्नु पनि मतदाताको कर्तव्य हुन आउँछ । आम मतदाता भनेका देशका कर्मशील जनता हुन् । तिनै कर्मशील जनताको पसिनाले भिजेर कमाइ भएको खानेकुरा प्रत्यक्ष वा परोक्षरुपमा सेवन गरी शासकलगायतका जनतासमेत बाँच्ने र उन्नति गर्ने हुन् । तर जेन्जी आन्दोलनअगाडिको सरकारले जनताका यस्ता सकारात्मक भावनाको कदर गरेर तिनलाई कामयावी बनाउन नसकेका कारण भदौ २३, २४ गतेको आन्दोलन हुनुपरेको हो ।

यदि आगमी चुनाव सम्पन्न भएपछि पनि अनि त्यसबाट बन्ने सरकारले पनि यी विषयलाई बेवास्ता गरेका खण्डमा चुनावपछिका दिनमा अझै बृहत आन्दोलन नहोला भन्न सकिने अवस्था नै छैन । यी सबै कारणले गर्दा चुनावको बहुउपयोग गर्नको लागि सबैको सकारात्मक सहयोगको अपेक्षा राख्न सकिन्छ । आज तपाईं वा हामीकहाँ आएर केही समय शारीरिक काम सघाएजस्तो नाटके उम्मेदवारलाई पनि भोट दिनु उपयुक्त होइन । त्यस्ता उम्मेदवारको भरोसा गर्न कठिन हुनेछ । तल्लो स्थानीय स्तरदेखि केन्द्रसम्मका हरेक नेता तथा कार्यकर्ताको बानी अरुलाई ठग्ने हुन्छ । ठग्ने बानी आफैँमा घातक भएर पनि उनीहरू त्यस्तै बानीमा अभ्यस्त भइसकेका हुनाले अरुलाई ढाँट्नु वा ठग्नु सामान्य विषय बन्छ, उनीहरुका लागि ।

सचेत मतदाताले भोट दिने उम्मेदवार भनेको गफ वा भाषणले होइन कि खरो कर्मक्षेत्रमा उत्रन सक्ने वा उत्रेको हुन आवश्यक छ । चुनावी मैदानमा खडा भएका सबैजसो उम्मेदवारमध्ये सबैले नै आफूले जितेपछि देशको विकासको खाका यसरी बन्छ, यसरी कार्यन्वयन हुन्छ भनेर भुइँ तहको अध्ययनका आधारमा योजना बनाएको हुन सके उत्तम विकल्प हुने थियो । यो विकल्पले देशको उन्नतिको रथलाई सही बाटोतिर धकेलेर लैजान सहयोग गर्ने थियो ।

उक्त उम्मेदवार भविष्यको कुशल शासक मात्र होइन कि अथाह परिवर्तनको बाहकसमेत बन्न सक्ने थियो । हो, त्यस्तो उम्मेदवारलाई भोट दिएर जिताउनुमा पो मतदाताको मानसको गर्व बढेर जाने थियो होला । सचेत मतदाताको मानसमा यी विषयमा पनि एउटा निक्र्यौल अवश्य हुनै पर्ने हुन्छ ।

अहिलेको जेन्जी पुस्ताले रुचाएको युवा उम्मेदवार एउटा विकल्प भए पनि देशको माया नभएको र अनियमित कार्यमा लाग्न अभ्यस्त भइसकेको युवावर्ग बूढो पुस्ताभन्दा पनि अधिक राजनीतिको फोहोरी खेलाडी बन्न पुग्ने भएकोले युवा उम्मेदवार भन्दैमा विश्वास गर्न सकिने अवस्था छैन । वर्तमानको राजनीतिक माहोलमा खडा भएका ९५ प्रतिशत उम्मेदवार युवा पुस्ताका छैनन् पनि । केवल ७५ कट्दै गरेका तुलनामा ५०–६० का उम्मेदवारलाई युवा पुस्ता भनिएको मात्र हो । तिनको दिमागी चाल भनेको पुरानै रवैयाको चालमा चल्न खोज्ने हुन्छ ।

अहिले हामीलाई त्यस्तो व्यक्तिको खाँचो छ, जसले शासक बनेर भ्रष्टाचारको सफल नियन्त्रण गर्न सक्छ, जसले फोहोरी राजनीतिक माहोललाई सफा गर्दै एउटा सन्तुष्टिको विन्दुमा पु¥याउन सक्छ, जसले राजनीतिको मूल धारमा सबै पक्षलाई समेटेर लैजान सक्छ, त्यस्तो शासक चुन्ने अवसर हो यो । यदि त्यसो नभएर पुरानै ढाँचाको राजनीतिक फोहोरको थुप्रो बढाउने किसिमले अगाडि बढियो भने कुनै फाइदा छैन ।

जेन्जी आन्दोलनको औचित्य समाप्त हुने मात्र होइन कि त्योभन्दा अझै सशक्त आन्दोलनको जरुरत पर्छ । बार–बारको आन्दोलन देशले कसरी धान्न सक्ला ? भन्ने कुरो हरेक मतदाताले हेक्का राख्नै पर्ने विषय हो । उम्मेदवारका अनेक थरीका नाटकीय हाउभाउको प्रभावमा परेर यी कुराको विचार नगरी मतदान गर्नाले फेरि पनि हामीलाई ती विगतका राजनीतिक अप्ठ्याराहरुले किचिरहनेछन् । हामी कहिल्यै पनि त्यो फोहोर र कठिनाइभन्दा माथि उठेर देश र नेपाली जनताको भलाइको काममा लाग्न सक्ने अवस्थामा पुग्न सक्ने हुनेछैनौँ । त्यसकारण हरेक मतदाताले कुनै प्रभावमा नपरी आफ्नो अमूल्य मतको सदुपयोग गर्न सकियो भने त्यसले देशको भाग्य र भविष्य निर्धारणको भूमिका खेल्नेछ ।