जिल्लास्तरीय शिक्षक खुला कविता प्रतियोगितामा सरस्वती सारसलाई प्रथम पुरस्कार 

 गाउँपालिका अध्यक्ष थपलियाकाे "मृत्यु टेकेर पलपल" विमोचन

2.63k
Shares

धादिङ ।

बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा जिल्लास्तरीय शिक्षक खुला कविता प्रतियोगिता बेनीघाट बिसालटारमा सम्पन्न भएको छ। 

कार्यक्रमकाे अवसरमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) काे कविता सङ्ग्रह “मृत्यु टेकेर पलपल”  कविता संग्रहकाे विमोचन गरिएको थियाे । 

शिक्षकहरूमा लुकेका साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित कविता प्रतियोगितामा जिल्लाभरिका विभिन्न विद्यालयमा कार्यरत ३० जना शिक्षकहरूको  सहभागिता रहेको थियो।

प्रतियोगितामा  ‘प्रकृतिको मौन उपदेश’ शीर्षक प्रस्तुत गर्दै सरस्वती पाण्डे (सारस) प्रथम, ‘बेचिन्छ नेपाल नै’ शीर्षक प्रस्तुत गर्दै रामकुमार रिमाल द्वितीय र ‘देशभित्रको मेरो देश’ शीर्षक प्रस्तुत गर्दै हिरालाल श्रेष्ठ तृतीय हुन सफल भएका छन् । साथै शिवहरि खनाल र दिग्गराज धौराली सान्त्वना हुनुभएको छ।

डा. नवराज लम्सालले पुरस्कृतहरुलाई  प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभयो ।  कविता प्रतियोगितामा प्रथमहुनेलाई रु २० हजार, द्वितीयलाई रु १५ हजार, तृतीयलाई रु १० हजार र सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रत्येकलाई रु ५/५ हजार नगद प्रदान गरी सम्मान गरिएको हो।

 शिक्षण पेशासँगै साहित्यिक सिर्जनशीलता अभिवृद्धि गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने प्रमुख अतिथि डा. लम्सालले बताउनुभयाे। 

शिक्षकहरूका सशक्त सिर्जनात्मक अभिव्यक्तिले समाज रूपान्तरणमा समेत सकारात्मक योगदान पुर्‍याउने आयोजकको भनाइ थियो।

प्रतियोगितामा कविता वाचन गर्ने शिक्षकहरुमा नवराज पौडेल, डम्बरराज पन्त, गणेश तामाङ, दिग्गज धौराली, सुमन खनाल, सरिता सुवेदी, सुमित्रा खतिवडा, रुपा पाण्डे, राजेन्द्र राना मगर, खिल प्रसाद रिजाल (बाबुराम), ज्ञानमाया तामाङ, सनिता चेपाङ, पुरूषोत्तम त्रिपाठी, रामकुमार रिमाल, महाजन श्रेष्ठ (महान त्यागी), हिरालाल श्रेष्ठ, पवित्रा भट्ट, राजेन्द्र पाण्डे बर्षा दनै, अजिता दाहाल (क्रान्ति) देवी बहादुर थाप, शिवहरि खनाल अनिता अधिकारी, ध्रुव प्रसाद दकाल

मन्दिरा सेढाइ, अस्मिता ढुंगाना, सरस्वती पाण्डे (सरस), रोजिना ढकाल, रश्मिता रेग्मी, कृष्ण तामाङ डाकाटोपे ले कविता वाचन गर्नुभएको थियाे । 

कार्यक्रमले शिक्षकहरूमा रहेको साहित्यिक प्रतिभालाई उजागर गर्नुका साथै स्थानीय तहमा साहित्यिक गतिविधि प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ।

कार्यक्रममा साहित्यकार डा. पुरु लम्साल, डा. रमेश शुभेच्छु, लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे (अटल), नीलकण्ठ बहुमुखी क्याम्पसका उप–प्राध्यापक डा. नवीन बन्धु दाहाल पहाडी, गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत रामबाबु पौडेललगायतको विशेष अतिथ्यिता रहेको थियो ।