चुनाव गराउने सर्तमा प्रचण्ड र मेरो सिफारिसमा सुशिला कार्कीलाई प्रधानमन्त्री बनाईएको हो : नेपाल


सिन्धुली ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले संयोजक प्रचण्ड र आफ्नो सिफारिसमा सुशिला कार्की प्रधानमन्त्री बनेको दावी गर्नुभएको छ ।

नेकपा सिन्धुलीले आज आयोजना गरेको निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले गएको भदौं २३ र २४ गतेको जेनजी आन्दोलन पछि सिर्जना भएको देशको अवस्था सम्हाल्न पार्टीका संयोजक प्रचण्ड र आफ्नो महत्वपूर्ण भुमिका रहेको बताउनुभएको हो ।

चुनाव गरेर संविधानलाई लयमा फर्काउने सर्तमा सुशिला कार्कीलाई प्रधानमन्त्री स्वीकार गरेर देशलाई निकास दिएको सहसंयोजक नेपालको जिकिर छ । देश संकटमा परेको बेला नेपाली काग्रेस र नेकपा एमालेका नेताहरुको भुमिका निरिह भएको सहसंयोजक नेपालको भनाई छ ।

देशलाई ठूलो दुर्घटनाबाट जोगाएर चुनाव पछि देशको नेतृत्व सम्हाल्ने उदेश्यले तत्कालिन माओवादी केन्द्र र नेकपा (एकिृकृत समाजवादी) को अगुवाईमा अन्य बामपन्थी घटकहरु बिच एकता गरिएको उहाँले बताउनुभयो ।