२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व–पश्चिम झन्डा मार्च सम्पन्न, सीमा सुरक्षामा प्रतिबद्धताको सशक्त सन्देश


काठमाडौं ।

 २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा सञ्चालन गरिएको पूर्व–पश्चिम झन्डा मार्च कार्यक्रम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, स्वयम्भूमा माघ १२ गते आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त कार्यक्रमको औपचारिक समापन गर्नुभएको हो।

समापन कार्यक्रममा महानिरीक्षक अर्यालले सीमामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको त्याग, समर्पण र जिम्मेवारीपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले राष्ट्रिय सार्वभौमिकता, सीमा सुरक्षा तथा अपराध नियन्त्रणमा पूर्व–पश्चिम झन्डा मार्चले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। भौगोलिक रूपमा कठिन सीमाक्षेत्रको सुरक्षा सुदृढ र प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले खेलेको भूमिकाले यो झन्डा मार्चमार्फत सीमा सुरक्षित छ भन्ने सन्देश दिएको उहाँको भनाइ थियो।

कार्यक्रमका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल तथा नं. ४ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहले महानिरीक्षक अर्याललाई झन्डा हस्तान्तरण गर्नुभएको थियो। हस्तान्तरण गरिएको उक्त झन्डा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित केन्द्रीय संग्राहलयमा राखिने जनाइएको छ।

पूर्व–पश्चिम झन्डा मार्च कार्यक्रम पौष २० गते झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुल तथा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी सीमा क्षेत्रबाट एकैसाथ सुरु गरिएको थियो। राष्ट्रिय झन्डा र सशस्त्र प्रहरी बल नेपालको झण्डासहित मार्च गर्दै टोलीले एक जिल्लाबाट अर्को जिल्लामा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई झन्डा हस्तान्तरण गर्दै कार्यक्रमलाई निरन्तरता दिएको थियो।

सीमा सुरक्षाप्रतिको प्रतिबद्धता, सतर्कता र उपस्थितिलाई सशक्त रूपमा प्रदर्शन गर्नुका साथै संगठनभित्रको समन्वय र टोली भावना सुदृढ गर्ने, सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले झन्डा मार्च आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

२५औँ वर्षको ऐतिहासिक अवसरलाई स्मरणीय बनाउँदै देशभर राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने लक्ष्यसहित सञ्चालन गरिएको पूर्व–पश्चिम झन्डा मार्चले सशस्त्र प्रहरी बल नेपालको इतिहास, योगदान र सीमा सुरक्षामा रहेको भूमिकालाई जीवन्त रूपमा उजागर गरेको बताइएको छ।