बागमतीका २ सिटमा देबकोटा र डा. दंगाल विजयी


हेटौंडा ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशको २ सिटमा भएको निर्वाचनमा कांग्रेसकी गीता देबकोटा र एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी हुनुभएको छ । एमाले–कांग्रेस गठबन्धनबाट चुनाव लड्नुभएका उहाँहरुले नेकपाका उमेदवारलाई पराजित गर्नुभएको हो ।

महिला क्लस्टरमा देबकोटाले ६ हजार २ सय ३९ मतसहित निर्वाचन जित्दा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ १ सय ६१ मत पाउनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोजकुमारी झाले २ हजार ५ सय २२ मत पाउनुभयो । झाले प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ६३ मत पाउँदा सोही पदमा उम्मेदवार नेमकिपाकी कविता महर्जनले १ सय ९७ मत पाउनुभयो । उहाँले प्रदेशसभातर्फ ३ र स्थानीय तहतर्फ २ मत प्राप्त गर्नुभएको थियो । देवकोटा पहिलो पटक संसदीय यात्रामा निस्किनुभएको हो । चितवनको रत्ननगर नरपालिका–१४ घर भएकी देबकोटा कांग्रेसको राजनीतिमा लामो संघर्ष गर्नुभएकी महिला हुनुहुन्छ ।

अन्य क्लस्टरमा डा. देबकोटाले ६ हजार २ सय ५ मतसहित निर्वाचन जित्नुभएको छ । उहाँले प्रदेशसभातर्फ ५९ मत र स्थानीय तहतर्फ १ सय ६२ मत पाउनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५ सय ४१ मत पाउँदा प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ६४ मत प्राप्त गर्नुभएको थियो । नेमकिपाका उमेदवार विक्रम ढुकुछुले १ सय ९७ मत पाउनुभयो । खोटाङको साकेला गाउँपालिकामा जन्मिनुभएका दंगालको यो पहिलो संसदीय यात्रा हो । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उहाँहरुले भन्नुभयो–राजनीतिमा सबभन्दा पहिलो कुरा अनुशासन र धैर्यता आवश्यक रहेछ भन्ने पाठ सिकेका छौं ।

बागमती प्रदेशसभाका ८९ जना सदस्य र स्थानीय तहका २ सय २९ प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय १८ मतदाताले मतदानमा सहभागिता जनाउनुभएको थियो । प्रदेशसभातर्फ ४ हजार ७ सय १७ मतभार र स्थानीय तहतर्फ ४ हजार ३ सय ५१ मतभार खसेको थियो । कुल खसेको मतभार ९ हजार ६८ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशमा रिक्त हुन लागेको राष्ट्रियसभा सदस्य २ सिटका लागि ६ जनाको उमेदवारी दर्ता हुँदा एमाले र कांग्रेसका साझा उमेदवार दंगाल र देबकोटा विजयी हुने निश्चित नै थियो । प्रदेशको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले एमालेसँग साझेदारीको हात अघि बढाएसँगै उमेदवार बन्नुभएका ६ जनामध्ये गठबन्धनका दंगाल र देबकोटा विजयी हुने अंकगणित प्रष्ट थियो नै ।

निर्वाचनमा मताधिकार पाएका प्रदेशसभातर्फका १ सय ४ सांसदमध्ये ८९ ले मतदान गर्दा १५ सांसदले मतदान गर्नुभएन । किनकि, राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहभागी नहुने निर्णय गरेको थियो । पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने जानकारी पार्टीले दिएको थियो । उक्त निर्वाचनमा पार्टीका उम्मेदवार थिएनन् र प्रतिनिधिसभामा सम्पूर्ण ध्यान भएकाले ‘राष्ट्रियसभामा नअल्मलिने’ निष्कर्षमा पार्टी पुगेको थियो । प्रतिनिधिसभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ६ सांसदले राजीनामा दिनुभएको थियो ।

प्रदेशसभातर्फ १ सय ४ मध्ये ८९ सदस्यले मतदान गर्नुभयो । निर्वाचनमा राप्रपाका १२, हानेपाका २, नेकपाका १ जना अनुपस्थित रहनुभएको थियो । स्थानीय तहतर्फ २ सय २९ ले मतदान गर्दा ५ जना अनुपस्थित रहनुभयो । स्थानीय तहतर्फ दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी, दोलखा बिगु गाउँपालिका प्रमुख सञ्जीव ओली, काठमाडौं शंकरापुर नगरपालिका प्रमुख रमेश नापित, ललितपुर गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारी, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लम्साल अनुपस्थित रहनुभयो । हानेपाले ‘मतदान गर्न आवश्यक नठानिएको’ प्रतिक्रिया दिएको छ भने नेकपाकी रमा आलेमगर अस्वस्थताका कारण अनुपस्थित हुनुभएको थियो ।

प्रदेशबाट राष्ट्रियसभा सदस्य चयनका लागि विहान ९ बजेदेखि मतदान सुरु भएर मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो । मतदानका लागि हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदानकेन्द्र स्थापना गरिएको थियो ।

निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने व्यवस्था थियो । १ सय १० सदस्यीय प्रदेशसभा र १ सय १९ स्थानीय तह रहेको बागमतीमा कुल ३ सय ४८ मतदाता थिए । प्रदेशसभा र स्थानीय तहको मतभारअनुसार यहाँ १० हजार ३ सय ५२ मतभार रहेको निर्वाचन आयोगले जनाएको छ ।