अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध

658
Shares

आफ्ना छोराछोरीलाई विद्यालयमा भर्ना गरेर नियमित शुल्क तिरेपछि आफ्नो दायित्व पूरा भएको ठान्ने अभिभावक, आफूले पढाउँदै वा सिकाउँदै आएका विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि उत्तरदायित्व निर्वाह नगर्ने जागिरे शिक्षक र जसरी पनि कक्षा उत्तीर्ण गर्न सके पुग्यो भन्ने मानसिकता भएका विद्यार्थीका कारण शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्ध जति सुमधुर हुनुपर्ने हो त्यति हुन सकेको छैन ।

अहिले बालबालिकाको क्षमता अभिवृद्धि गरी अभिभावकको लगानीलाई सार्थक तुल्याउन शिक्षकहरूको लगनशीलता र दूरदर्शितालाई अभिवृद्धि गरी सार्थक परिणाम निकाल्न विद्यालयहरूलाई हम्मेहम्मे भएको छ । विद्यार्थीले पढाइको महत्व बुझ्न नसकेर कक्षा उक्लिनुलाई नै सफलताको भ¥याङ ठानेका छन् । परिणामस्वरुप आशातीत प्रगति हुन सकेको छैन ।

यसो हुनुको मुख्य कारण त्रिकोणात्मक सम्बन्धका अभिभावक, शिक्षक र विद्यार्थीले आ–आफ्नो भूमिका निर्वाह नगरेर नै हो । हामीले आफूले पूरा गर्नुपर्ने कर्तव्य जिम्मेवारीपूर्वक निभायौँ भने अभिभावकले शिक्षामा गर्नुभएको लगानीबाट अधिकतम प्रतिफल पाउनुहुनेछ । शिक्षकहरूको दक्षता अभिवृद्धि भई गौरव हुनुहुनेछ र विद्यार्थी हामीले चाहेजस्तै सक्षम, चरित्रवान् र दायित्व बहन गर्न सक्ने हुनेछन् । यो लेखमा यस्तै योग्य, भरपर्दा र सिर्जनशील नागरिक उत्पादन गर्नका लागि अभिभावक, शिक्षक र विद्यार्थीले निर्वाह गर्नुपर्ने भूमिकाको चर्चा गरिएको छ ।

आदरणीय अभिभावक !
अहिले तपाईंको काखमा हुर्किंदै गरेका नानीबाबुहरू नै भोलि तपाईं, तपाईंको परिवार, समाज र देशका लागि आशा र भरोसाका केन्द्र हुन् । अझ भनौँ, आजका बालबालिका नै भविष्यका कर्णधार हुन् । आज बढ्दै र पढ्दै गरेका हाम्रा छोराछोरीहरू नै भविष्यका वडा अध्यक्ष, मेयर, सरकारी कर्मचारी, शिक्षक, वकिल, पत्रकार, नेता, अभिनेता, डाक्टर, इन्जिनियर, मन्त्री, प्रधानमन्त्री सबै हुन् । भविष्यका यी अनमोल रत्नहरू आज तपाईंको काखमा जगमगाउँदै छन् ।

उनीहरूको पालनपोषण, शिक्षादीक्षा र आनिबानीमा आज हामीले ध्यान दियौँ भने उनीहरू पक्कै पनि भोलिका लागि योग्य, दक्ष र सफल नागरिक बन्नेछन् र देशका लागि उल्लेखनीय योगदान दिनेछन् । यो महान् लक्ष्य पूरा गर्नका लागि तपाईं अभिभावकले आजैबाट तयारी गर्नुपर्छ ।

भनिन्छ, हाम्रो वर्तमान राम्रो छ भने, विगतमा हामीले राम्रो काम गरेका थियौँ र भविष्यलाई सुन्दर बनाउनु छ भने, अहिलेबाट नै योजनाबद्ध तरिकाले राम्रो काम गर्नुपर्छ । १० वर्षपछि आफ्नै बगैँचाको फल खाने उद्देश्य राख्नुभएको छ भने, आजै बिरुवा रोप्नुपर्छ । बिरुवालाई आवश्यक मलजल, हावापानी र औषधोपचारको उचित वातावरण मिलाउनुपर्छ । यसो गर्न सकियो भने निश्चित समयमा फल फल्नेछ र त्यसबाट तपाईं वर्षौंसम्म लाभान्वित हुनुहुनेछ ।

बालबालिका पनि हामीले रोपेका बोटबिरुवाजस्तै हुन् । हामी अभिभावकको साथ–सहयोगबाटै उनीहरूले हाम्रा संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, कर्तव्य–अकर्तव्य सिक्छन् । उनीहरूलाई आज हामी जस्तो संस्कारमा हुर्काउछौँ भोलि उनीहरू त्यस्तै हुन्छन् । तसर्थ उनीहरूलाई सकेसम्म तपाईं धेरै समय दिनुहोस् । सँगै खाना खाने, पत्रपत्रिका पढ्ने, समाचार सुन्ने, समय–समयमा घुम्ने र किनमेल गर्ने वातावरण मिलाउनुहोस् ।

उनीहरूभित्रको अन्तर्निहित विशिष्ट प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटित हुने अवसर दिनुहोस् । आफ्ना नानीबाबुले गर्न सक्ने घरका काम गर्न सिकाउनुहोस् र काम गरेपछि धन्यवाद दिएर भए पनि पुरस्कृत गर्नुहोस् । उनीहरूलाई दया, करुणा, प्रेम, समानता, सद्भाव, सेवा, उपकार, सहानुभूतिलगायतका कुराहरू सिकाउनुहोस् । बालबालिकाहरूसँग शिष्ट भाषा प्रयोग गर्नुहोस् । उनीहरूलाई मितव्ययी बन्न र आवश्यक पर्दा हीरा फोर्न सक्ने पनि हुनुपर्छ भनेर सिकाउनुहोस् ।

नानीबाबुहरूका जायज माग पूरा गरी नाजायज मागलाई भने निरुत्साहित गर्नुहोस् । उनीहरूलाई माया त धेरै गर्नुहोस् तर टाउकोमा भने नटेकाउनुहोस् । उनीहरूका कुरा ध्यानपूर्वक सुन्नुहोस्, आफ्ना बालबालिकाहरू कस्ता मानिसको सङ्गतमा छन्, त्यसबारेमा सचेत हुनुहोस् । सामाजिक सञ्जालको उचित प्रयोग गर्न त दिनुहोस् तर त्यसमा दुव्र्यसनीजस्तो बन्न नदिनुहोस् ।
प्रबुद्ध शिक्षकगण !
आज तपाईंहरू जुन पद र ठाउँमा हुनुहन्छ त्यसभन्दा ठूलो, मर्यादित पद र ठाउँ अर्को हुँदैन । यो गरिमामय पदको प्रतिष्ठा बढाउनका लागि तपाईंको भूमिका वा जिम्मेदारी पनि त्यति नै महत्वपूर्ण छ । अहिले तपाईँले जुन–जुन विद्यार्थीलाई पढाउँदै र सिकाउँदै हुनुहुन्छ उनीहरूले भविष्यमा पाएको सफलता वा विफलतामा तपाईंको काम प्रतिविम्बित हुनेछ । तपाईंसँग सिक्दै गरेका कतिपय विषयवस्तु अभिभावकहरूले आफ्ना बालबालिकालाई सिकाउन नसक्ने परिस्थिति पनि छ ।

यो परिप्रेक्ष्यमा तपाईं नै ज्ञानको संवाहक, बालबालिकाको पथप्रदर्शक, उत्प्रेरक, सहजकर्तालगायत सबै हुनुहुन्छ । तपाईंसँंग सिक्दै गरेका नानीबाबुहरूको पढाइलेखाइ, बानीव्यहोरा, अनुशासन, लगनशीलता, व्यावहारिक कुशलता सिर्जनात्मकतालगायतका सूचकाङ्कका आधारमा विद्यालय अभिभावक, विद्यार्थी, समाजका अरु व्यक्तिहरूले समेत तपाईंको मूल्याङ्कन गरिरहेका हुन्छन् ।

तपाईंले हरेक दिन विद्यार्थीको मूल्याङ्कन गरेजस्तै तपाईंको पनि मूल्याङ्कन भइरहेको हुन्छ, भलै विद्यार्थीले जस्तो लब्धाङ्कपत्र भने तपाईं पाउनुहुन्न । तपाईं आफ्ना छोरीहरूलाई शिक्षकहरूले के–के सिकाइदिऊन् र कस्तो व्यवहार गरिदिऊन् भनेर अपेक्षा राख्नुहुन्छ ? प्रायः त्यस्तै अपेक्षा आम अभिभावकको पनि हुन्छ । यसबारेमा सोच्नुभएको छ ?

रमाइलो वातावरण सिर्जना गरी विद्यार्थीलाई ज्ञान प्रदान गर्नु, शिक्षणविधिमा विविधता अपनाउनु, अध्ययनका लागि विद्यार्थीलाई प्रोत्साहित गर्नु, विद्यार्थीको अन्तर्निहित विशिष्ट प्रतिभा पहिचान गरी अभिभावकसँग अन्तरक्रिया गर्नु, पढाइको महत्व बुझाउनु, अनुशासित, स्वावलम्बी र आत्मनिर्भर बनाउँदै उनीहरूसँग समसामयिक गतिविधिबारे छलफल गर्नु तपाईंले निर्वाह गर्ने शिक्षकीय दायित्व हुन् । तपाईंले नै उनीहरूलाई नेतृत्व क्षमताको विकास गर्न, सकारात्मक सोच राख्न, जिम्मेवारी बहन गर्न, समस्या समाधान गर्ने उपाय खोज्न, सहकार्यको महत्व बुझाउन, प्रतिस्पर्धी बन्न र आधुनिक प्रविधिको प्रयोग गर्न सहजीकरण गर्नुपर्छ ।

विद्यालयमा आयोजना गरिने विविध कार्यक्रममा उसलाई नेतृत्व गर्ने अवसर दिई प्रोत्साहित गर्नुहोस् । ऊभित्रको प्रतिभा र क्षमतालाई विकसित हुन प्रेरणा दिँदै उसको स्वास्थ्यस्थिति र पारिवारिक पृष्ठभूमिबारे जानकार रहनुहोस् ।
विद्यार्थी भाइबहिनीहरू !
अहिले तपाईंहरूले जे काम गर्दै हुनुहुन्छ वा सिक्दै हुनुहुन्छ, त्यो तपाईंको सुन्दर भविष्य निर्माणको तयारी हो । तपाईं आज जति परिश्रमपूर्वक पढ्नुहुन्छ, भोलि त्यति नै प्रतिफल पाउनुहुन्छ । यो समय तपाईंहरूको लागि अत्यन्त मूल्यवान् भएकाले यसलाई सुझबुझका साथ उपयोग गर्नुपर्छ । के तपाईंहरू यसका लागि तयार हुनुहुन्छ ?

नानीबाबुहरू ! तपाईंले जीवनको जुन महान् लक्ष्य वा उद्देश्य बनाउनुभएको छ नि ! त्यो पूरा गर्नका लागि काम शुरु गर्ने समय अहिले नै हो । अब म तपाईंहरूले गर्नुपर्ने कामहरू भन्छु है त ।

नेपाली संस्कृतिले भन्छ– ‘मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव ।’ अर्थात् माता, पिता र गुरु देवतासमान हुन् । यिनीहरू सधैँभरि आफ्ना सन्तान र शिष्यको उन्नतिका लागि प्रयत्नशील हुन्छन् । तसर्थ उनीहरूलाई यथोचित सम्मान गर्नु, उनीहरूले भनेको मान्नु, सिकाएका कुरालाई तीव्र उत्साहका साथ सिक्नु, अनुशासित र विनयी हुनु तपाईंहरूको पहिलो कर्तव्य हो ।

शिक्षक र अभिभावकले भनेको कुरा नबुझे प्रश्न गर्नु, समय तालिका मिलाएर आफूले गर्नुपर्ने काम ठीक–ठीक समयमा गर्ने बानी बसाल्नु, आफ्ना कमी–कमजोरीलाई हटाउनु, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापमा भाग लिएर उत्कृष्ट हुने प्रयास गर्नु, आफूभन्दा ठूला कक्षाका दाइ–दिदीहरूलाई सम्मान र सानो कक्षाका भाइ–बहिनीहरूलाई माया गर्नु, कक्षामा साथीहरूसँग मिलेर बस्नु, एक–अर्कासँग सिक्नु÷सिकाउनु, समस्या समाधान गर्न प्रयत्नशील हुनु, आधुनिक र नवीनतम प्रविधिको उपयोग गर्नु, जानेर वा नजानेर गल्ती गरियो भने त्यसलाई स्वीकार गर्नु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु, व्यक्तिगत र कक्षाकोठाको सरसफाइमा सजग रहनु र आफ्नो उद्देश्य प्राप्तिका लागि अविचलित भएर आफ्नो पढाइलाई निरन्तरता दिनु तपाईंहरूले अहिलेदेखि नै गर्नुपर्ने काम हुन् ।

पढ्नु भनेको एउटा कक्षा सकेर अर्को माथिल्लो कक्षामा जानु मात्र होइन, बरु कुनै पनि विषयवस्तुलाई गहिरिएर हेर्नु, बुझ्नु, विश्लेषण गर्नु, त्यसप्रतिको सही धारणा बनाउनु र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु हो । तपाईंले पाउनुभएको लब्याङ्कपत्रको अङ्कले तपाईंको सम्पूर्ण क्षमताको प्रस्तुति गर्दैन, त्यो त तपाईंको कार्यकुशलताले मात्र देखाउँछ । भाइबहिनीहरू ! जीवनमा त्यस्ता मानिसमात्र सफलताको शिखर चुम्न सक्छन्, जोसँग असाधारण क्षमता, बेजोड चिन्तन शक्ति र कुनै पनि कामलाई सफलतामा टुङ्ग्याउने दृढ इच्छाशक्ति हुन्छ । सफल हुनको लागि हामीमा धैर्य र लगनशीलता पनि चाहिन्छ । यी र यस्तै गुणहरू विकसित गर्ने तपाईंहरूको समय अहिले नै हो । आजैबाट हामी सबै यो महान् उद्देश्य प्राप्त गर्ने यात्राको प्रारम्भ गरौँ ल !

अन्त्यमा, विद्यार्थी सक्षम भए विद्यालयको प्रतिष्ठा बढ्छ । शिक्षक र अभिभावकको सफल नेतृत्व र मार्गनिर्देशनबाट विद्यार्थी योग्य हुन्छन् । विद्यार्थी योग्य भए राष्ट्र बलियो हुन्छ । त्यसैले अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट आजका बालबालिकालाई योग्य बनाउन हामी जुन–जुन भूमिकामा छौँ, त्यहाँबाट प्रतिबद्ध भएर लागौँ । यो नै हामी सबैको कर्तव्य हो ।
(लेखक दाहाल बालसेवा माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा रोलिङ स्टोन्स् स्कूलका सल्लाहकार एवं नेपाली शिक्षक हुनुहुन्छ ।)