पोखरा । नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेका गण्डकी प्रदेशका पूर्व–भौतिकमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । हालै पोखरामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा खड्कालाई रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेले पार्टीको ब्याज लगाई ‘विशेष पार्टी प्रवेश’ भन्दै पार्टी प्रवेश गराएका हुन् ।
आफूलाई वैकल्पिक र सुशासनको पक्षमा उभिएको बताउने रास्वपाले अनुशासनकै कारबाहीमा परेका पुराना नेतालाई पार्टी प्रवेश गराउँदा पुरानै दलको शैली अपनाएको छ । पोखरामा आयोजित कार्यक्रममा पूर्वमन्त्री खड्कासहित नेकपा एमालेका नेता एवं व्यवसायी पुष्प अधिकारी, कांग्रेस नेता तथा गण्डकीका मन्त्री विन्दुकुमार थापाकी बुहारी मिलन थापा, तारा गिरीलगायत रास्वपामा प्रवेश गरेका हुन् । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूको उपस्थितिमा उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो ।
खड्काले अखण्ड नेपाल नामक पार्टी स्थापना गरी राजनीतिक यात्रा शुरु गरेका थिए । २०७० को संविधानसभामा समानुपातिक सभासद बनेका उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बनेका थिए ।
राजनीतिक भविष्य सुरक्षित गर्न आफ्नो सिंगो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएका खड्का कांग्रेस गण्डकीको भौतिक पूर्वाधारमन्त्रीसमेत बने । तर २०७९ सालको निर्वाचनमा हालका गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापालाई हराउन र पार्टीमा अन्तरघात गरेको आरोपमा उनलाई कारबाही गरिएको थियो ।
उनलाई कांग्रेसले १ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसपछि राजनीतिमा निष्क्रिय देखिएका खड्कालाई असार अन्तिममा साधारण सदस्यबाट निष्कासन गर्ने अनुशासन आयोगले निर्णय गर्दै अहिले कांग्रेसले कारबाहीमा परेकाहरूको क्रियाशील सदस्यता नवीकरण नगर्नू भन्ने परिपत्रपछि उनी साधारण सदस्यसमेत नरहने देखिएपछि रास्वपा प्रवेश गरेका हुन् । अहिले पनि उनी आफू मात्रै रास्वपा प्रवेश गरेनन्, कांग्रेसमा विलय गराएको अखण्ड नेपाल पार्टीलाई कांग्रेसबाट झिकेर रास्वपामा विलय गराएका छन् ।
कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले फागुन २१ को निर्वाचनमा पार्टीले १५१ सिट जित्ने बताएका छन् । उनले पुराना नेता र एउटै अनुहारलाई बारम्बार प्रधानमन्त्री बनाउन जनताले समेत नचाहेको बताउँदै हिजो संसद्मा रास्वपा सांसदले भोगेको पीडाका कारणसमेत अब बहुमत ल्याउने दाबी गरेका हुन् ।
अहिले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउनका लागि पार्टीले युवाहरुको आशा रहेका पार्टीलाई समायोजन गरी अघि बढेको उनले सुनाए । उनले भने, ‘अबको रास्वपाको लक्ष्य भनेको १५१ सिट हो । यो चानेचुने संकल्प होइन, २१ बाट १५१ नै किन हो भने, विगतको संसद्मा भएको पीडादायी अनुभव हो ।’
लोकतान्त्रिक पद्धतिमा समेत संसद् बहिष्कार गर्नुपर्ने बाध्यतामा पु¥याएको उनले सुनाए । सोही क्रममा उनले पूर्व–संघीय मन्त्री कुमार खड्का, पुष्प अधिकारी, मिलन थापालाई स्वागत गर्नु सानो झिल्को मात्रै रहेको र अब झिल्कोलाई राँको बनाउने बताए ।
कार्यक्रममा रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनतालाई हेप्ने प्रवृत्तिकै कारण रास्वपाको जन्म भएको बताए । उनले कास्की जिल्लामा तीन सिट जित्ने दाबी गर्दै भ्रष्टाचार र नातावाद खारेज गरिने स्पष्ट पारे ।
रास्वपाका प्रवक्ता मनीष झाले पार्टी अनुशासनमा जोड दिँदै मिसन पूरा भएपछि मात्रै उत्सव मनाइने बताए । पूर्वसांसद शिव नेपालीले कसैको विरोधका लागि होइन, देश निर्माणका लागि राजनीति गरिएको स्पष्ट पारे । समीक्षा बस्नेतले रूपान्तरण भाषणमा होइन, व्यवहारमा देखिनुपर्नेमा जोड दिइन् ।
रास्वपामा प्रवेश गर्दै कुमार खड्काले आफू तीन वर्षदेखि राजनीतिमा निष्क्रिय रहेको र अहिले कांग्रेसले त्यो बन्धन फुकालिदिएको बताएका छन् । आफ्नो मन रास्वपातिर भए पनि शरीर र बचन कांग्रेसमै रहेको सुनाउँदै अब आफू दृढ संकल्पका साथ रास्वपा भएको घोषणा गरे ।
‘मन राष्ट्रिय स्वतन्त्र पार्टीतिर तर शरीर र बचन कांग्रेसको बन्धनले बाँधिराखेको थियो, यही उकुसमुकुसमा म राजनीति छाड्छु तर पार्टी छाड्दिन भनेर तीन वर्षसम्म निष्क्रिय रहिरहेको बेलामा कांग्रेसले नैतिकता बन्धनको त्यान्द्रो तोडिदिएर मलाई स्वतन्त्र बनायो’, खड्काले भने, ‘अहिलेदेखि नै रास्वपाको साधारण सदस्यको रुपमा घण्टी बजाउने उद्घोष गर्दछु ।’
खड्काले रास्वपाको अभियानमा सहभागिता हुन कांग्रेसले भूमिका खेलिदिएको सुनाए । उनले अखण्ड पार्टीका सबै कार्यकर्ता अब रास्वपामा प्रवेश गरेको सुनाए ।











प्रतिक्रिया