–खरेल ‘टुरिस्ट’ उम्मेदावर भन्दै ललितपुरमै चर्को विरोध
–मन्त्री हुँदा लिएको सबै सेवा सुविधा जफत गर्न माग
–महावीर पुन पनि लोभी मन्त्रीमा परिणत
–के नागरिक सरकार रास्वपाको हो ? भन्ने गम्भीर प्रश्न
–खिलराज नेतृत्वको नागरिक सरकारका मन्त्रीले यस्तो लोभ गरेनन्
काठमाडौं ।
जेन–जी आन्दोलनले उठाएको मूल एजेन्डा सुशासन, नैतिकता र शासकको इमानदारीलाई आत्मसात् गर्दै २१ फागुनको निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित सुशीला कार्की नेतृत्वको नागरिक सरकार गठन भएको थियो । तर, उक्त नागरिक सरकारका पछिल्ला गतिविधिले सरकारको तटस्थता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ ।
सरकारमा रहँदा आफूहरू स्वतन्त्र र कुनै दलसँग नजोडिएको दाबी गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, ऊर्जा मन्त्री कुलमान घिसिङ र शिक्षा मन्त्री महावीर पुन सरकार त्यागेर निर्वाचनमा होमिएका छन् । यीमध्ये खरेल र गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा नै प्रवेश गरी शक्ति र पहुँच प्रयोग गरी टिकट हत्याउन सफल भए पनि उहाँहरू दुवै अहिले अप्ठेरोमा फस्न पुग्नुभएको छ ।
ललितपुरको क्षेत्र नं २ उछिट्याउन सफल दोलखाका खरेललाई ललितपुरवासीले ‘टुरिस्ट’ उम्मेदवार भन्दै भोट नहाल्ने अभियान चलाउन थालेका छन् । यस्तै युवा तथा खेलकुद मन्त्रीले सिरहा क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ । यसै गरी शिक्षा मन्त्रीबाट राजीनामा दिनुभएका महावीर पुन पनि रास्वपा नै भएको ठहर भएको छ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका महावीरलाई रास्वपाले समर्थन गर्ने निर्णय गरेपछि महावीर पनि सोही पार्टीनिकट नै रहनुभएको पुष्टि भएको छ ।
यी तीनै मन्त्रीहरू नागरिक सरकारमा रहँदा नै रास्वपाको रुचि र एजेन्डाअनुसार काम गरेको पुष्टि भइसकेको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध सुरु भएको छ । ‘नागरिक सरकारलाई बदनाम गरियो’, ‘सरकार रास्वपाको छाया सरकार थियो ?’ जस्ता प्रश्नसहित अनैतिक मन्त्रीहरूलाई चुनावमा हराउन आग्रह गरिँदै आएको छ ।
यसै गरी ऊर्जा मन्त्री घिसिङले पनि केही समयअघि राजीनामा दिएर उहाँ उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुभएको छ ।
सिद्धान्ततः नागरिक सरकार भनेको कुनै पनि दलसँग आबद्ध नभएका, पूर्ण रूपमा तटस्थ व्यक्तिहरू सम्मिलित सरकार हो । यसअघि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले संविधान सभाको दोस्रो निर्वाचन गराउँदा सरकारमा रहेका कुनै पनि मन्त्रीहरू पछि पार्टी प्रवेश गरेर चुनाव लडेका थिएनन् । त्यसैले त्यो सरकारले नागरिक सरकारको वास्तविक अनुभूति दिएको थियो र सत्ता निर्वाचित जनप्रतिनिधिलाई सुम्पिएको थियो ।
तर, वर्तमान सरकारका केही मन्त्रीहरूको कदमले नागरिक सरकारको अवधारणामाथि नै धक्का पुगेको विश्लेषकहरूको भनाइ छ । उनीहरूका अनुसार यो सरकार सामान्य परिस्थितिमा बनेको नभई राष्ट्रिय संकट र राजनीतिक संक्रमण व्यवस्थापनका लागि गठन भएकाले यसका मन्त्रीहरूले अझ बढी नैतिकता, पारदर्शिता र आत्मसंयम देखाउनुपर्ने थियो ।
कतिपय विश्लेषकहरूले नागरिक सरकारमा रहँदा लिएको सेवा–सुविधा जफत गर्न सरकारसँग माग गरेका छन् । ‘पहिलाका सरकारमा मन्त्री भएर चुनाव लड्ने उदाहरण भए पनि यो सरकार त्यस्तो होइन,’ उनीहरूको तर्क छ । यही कारण यी मन्त्रीहरूलाई विगतका सरकारका मन्त्रीहरूसँग दाँज्न नमिल्ने उनीहरूको ठहर छ ।
मन्त्री उठेका क्षेत्रका मतदाताहरूले समेत अनैतिक व्यवहार गर्ने व्यक्तिलाई मत दिन नहुने भन्दै आवाज उठाइरहेका छन् । यी गतिविधिले सरकारको निष्पक्षता, विश्वसनीयता र चुनावी मर्यादामाथि गम्भीर प्रश्न उठ्न सक्ने विश्लेषकहरूको चेतावनी छ ।
विश्लेषक तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले नागरिक सरकारको नाममा सत्तामा पुगेर अन्ततः पार्टीगत स्वार्थमा डुब्नुले जेन–जी आन्दोलनको मर्ममाथि चोट पुगेको ठहर गर्दै भन्नुभएको छ ‘यसले नैतिक राजनीतिप्रतिको जनविश्वाससमेत कमजोर बनाएको छ ।’
यसै गरी अर्का पत्रकार राजेन्द्र बानियाँले पनि नागरिक सरकार त्यागेर दलमा आवद्ध भई निर्वाचनमा गएका पूर्व मन्त्रीहरूले मन्त्री भएका बखत लिएको सबै सेवा सुविधा जफत गर्न माग गर्नुभएको छ ।
जेनजीको एजेन्डा हाइज्याक गरेर बनेको सरकार भनेर आरोप खेपिरहेको ‘नागरिक सरकार’बाट दलीय मन्त्रीहरू बाहिरिएपछि नागरिक सरकारको मर्यादामा आँच पुगेको छ ।
शंकरदास वैरागी
पूर्व मुख्य सचिव तथा परराष्ट्रविद्











प्रतिक्रिया