कृषि मेलामा ११ जना उत्कृष्ट कृषक पुरस्कृत

564
Shares

लमजुङ। 

लमजुङको मर्स्याङदी गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी भएको छ । “कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा संरक्षण, उपयोग र प्रवद्र्धनमा युवा सहभागिता” भन्ने मूल नाराका साथ बुधवार मर्स्याङदी–३ खुदीस्थित कृषि तथा पशु सेवा परिसरमा मेला आयोजना गरिएको हो ।

कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि मेला आयोजना गरिएको मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । कृषकलाई पुरस्कृत गरेपछि उनीहरु आफ्नो पेशालाई अझ व्यवस्थित, व्यावसायिक र दिगो ढंगले सञ्चालन गर्ने अपेक्षा गाउँपालिकाले लिएको उनको भनाइ छ । अध्यक्ष गुरुङले गाउँपालिकाको भूगोल ठूलो रहेको र त्यहाँ वनजन्य तथा कृषि उत्पादनको सम्भावना उच्च रहेको उल्लेख गर्दै उत्पादन वृद्धि, बजारीकरण र संरक्षणमा विशेष ध्यान दिइने बताए । 

युवालाई कृषि पेशाप्रति आकर्षित गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

मेलामा खाद्यान्न बाली, तरकारी बाली, फलफूल बाली, आलु बाली, दलहन तथा नगदे बाली, बीउबिजन, नर्सरी बोटविरुवा, मह तथा अन्य प्रशोधित उपज र पशुपन्छी तथा पशुजन्य उपज गरी ९ विधाका कृषि तथा पशुपन्छी सामग्रीको प्रदर्शनी गरिएको थियो । उक्त सामग्रीको मूल्याङ्कनका आधारमा उत्कृष्ट कृषक छनोट गरिएको कृषि तथा पशुपन्छी विकास शाखाका प्राविधिक सहायक अर्जुन घलेले जानकारी दिए । 

मूल्याङ्कनबाट उत्कृष्ट छनोट भएका ११ जना कृषकलाई जनही एक हजार पाँच सय रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने मेलामा सहभागिता जनाएका कृषकलाई जनही पाँच सय रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको उनले बताए । 

पुरस्कृत हुने कृषकहरुमा सोमबहादुर तामाङ, सूर्यकला कार्की, विक्रम थापा, उमरबहादुर गुरुङ, चूडामणि भण्डारी, घनपोखरा कृषि सहकारी, पसबहादुर तामाङ, विशाखा गुरुङ, सोनम गुरुङ, दिलबहादुर तामाङ र रवि थापा रहेका छन् ।

उनीहरुलाई मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पुरस्कार वितरण गरेका थिए । मेलामा गाउँपालिका भित्रका ४० जना कृषकहरुको सहभागिता रहेको थियो । यस्ता कृषि मेला तथा प्रदर्शनीले स्थानीय उत्पादनको पहिचान, कृषकबीच अनुभव आदानप्रदान तथा आधुनिक कृषितर्फ आकर्षण बढाउन सहयोग पुग्ने गाँउपालिकाले विश्वास व्यक्त गरेका छन् ।