काठमाडौं ।
नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार विजेता बनेका छन् । २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह प्रतियोगिताअन्तर्गत् सनी पुरुष खुला तौलमा विजेता बन्दा महिलातर्फ अनिशा ५५ केजीमुनि र सपना ५५ केजीमाथि पहिलो भएका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा सनीले आर्मीकै प्रवीण माझीलाई पराजित गरे । आर्मीका भूपेन्द्र ओली तेश्रो र विष्णु थापा मगर चौथो भए । यस्तै, अनिशाले आर्मीकी विन्दु चौधरीलाई हराइन् । केडब्लुडब्लुकी सुप्रिया गुरुङ र एपीएफकी निशा सुनुवार चौथो भए । सपनाले एपीएफकी सुमित्रा नगरकोटीलाई हराएर उपाधि जितिन् । केडब्लुडब्लुकी रसिला श्रेष्ठ तेश्रो र आर्मीकी अप्सरा कुमाल चौथो बने ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको छैटौं वज्र फाइटको पुरुष ६२ केजीमुनि किलर फाइट क्लबका सुमन याखा राई पहिलो भए । उनले फाइनलमा आर्मीका जनकबहादुर धामीलाई पन्छाए । पुरुष ५५ केजीमुनि फाइनलमा केडब्लुडब्लुका मोहम्मद सन्उला अन्सारीले आईकेएका सन्देश तामाङलाई पराजित गरी पहिलो भए ।
महिला ४६ केजीमुनि आर्मीकी मनीता राई पहिलो भइन् । मनीताले फाइनलमा केडब्लुडब्लुकी सिवानी आले मगरलाई हराइन् । विजेतालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठ, आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
राष्ट्रिय फुल कन्ट्याक्ट र वज्र फाइटमा समान ३–३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । सातै प्रदेश, आर्मी र एपीएफबाट करिब १ सय खेलाडी सहभागी प्रतियोगिताको सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाए ।











प्रतिक्रिया