
खोटाङ । खोटाङस्थित त्रिधार्मिक स्थल हलेसी पत्ता लाग्नुअघिदेखि नै अस्तित्व अर्थात् महत्वमा राखिने अर्को धन्नेश्वरी गुफा गुमनाम रहेको छ । साकेला गाउँपालिका–२, रतन्छामा रहेको उक्त आश्चर्यजनक लाग्ने धार्मिक तथा पर्यटकीय महत्वको गुफा प्रचार–प्रसार तथा प्रवद्र्धनको अभावमा गुमनाम बनेको हो ।
परापूर्वकालमा राक्षसबाट बच्न भगवान् शिवजी धन्नेश्वरी गुफामा लुकेर बसेको किंवदन्ती रहेको छ । कालान्तरमा मात्र शिवजी त्रिधार्मिक स्थल हलेसीमा सरेर बसोबास गरेको भन्ने भनाइ स्थानीय पुर्खाहरु सुनाउँछन् । धन्नेश्वरी गुफाको सुरुङ दायाँ–बायाँ करिब १० हजार मिटरभन्दा बढी फैलिएको हुन सक्ने रतन्छाका स्थानीय जानकारहरूको अनुमान छ । गुफाभित्र रहेका ठूला–ठूला नागका आकृति एवं विभिन्न देवी–देवताका आकृति उक्त स्थानका आकर्षण हुन् ।
गुफाभित्र करिब दुई हजार मिटरभित्र पुग्दा सुन्दर कुवा, सुन्तलाको बोटलगायतका प्राकृतिक वस्तुहरू देख्न सकिन्छ । सदियौँ पुरानो यस गुफामा साक्षात् भगवान् शिवको बास रहेको जनविश्वास छ ।
परापूर्वकालमा भगवान् शिवजी राक्षसबाट बच्न शुरुमा धन्नेश्वरी गुफामा लुकेर बसेको र पछि त्रिधार्मिक स्थल हलेसी गएर बसोबास गरेको भन्ने किंवदन्ती छ । त्रिधार्मिक स्थल हलेसी पत्ता लाग्नुअघि नै भगवान् शिवजी बसेको स्थान धन्नेश्वरी गुफा रहेको स्थानीय बूढापाकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रचूर सम्भावना रहेको उक्त गुफाको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा पछिल्लो समय साकेला गाउँपालिकाले चासो दिएको छ ।
रामनवमी, बालाचतुर्दशी, तीज तथा एकादशीजस्ता महत्वपूर्ण पर्वहरूमा धन्नेश्वरी क्षेत्रमा मेला लाग्ने गर्दछ । गुफाको संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय तथा गाउँपालिकाको आर्थिक विकासमा समेत टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ ।
धार्मिक तथा पर्यटकीय स्थलहरुको विकासका लागि गाउँपालिका दीर्घकालीन योजनाका साथ लागिपरेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभयो । गाउँपालिका प्रमुख राईले धन्नेश्वरी गुफालाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने जनाउनुभयो । आफूहरु निर्वाचित भएर आएपछि जनजीविकाको कामसँगै गाउँपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीय स्थलहरुको स्तरोन्नति गरिरहेको प्रमुख राईको भनाइ छ ।
धन्नेश्वरी गुफाको सौन्दर्यकरणका लागि चालू आर्थिक वर्षमा कोशी प्रदेश सरकारबाट १० लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । सामान्य पूर्वाधार र प्रारम्भिक सौन्दर्यकरणका लागि यो बजेट सहयोगी भए पनि गुफाको समग्र विकासका लागि दीर्घकालीन योजना बनाएर ठूलो लगानी आवश्यक रहेको रतन्छाका सरोकारवाला निकायले बताउँदै आएका छन् ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको धन्नेश्वरी गुफामा हालै मात्र जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत २ नम्बर वडा कार्यालय, रतन्छाको अगुवाइमा गाउँपालिका सरसफाइ गरिएको हो । आगामी दिनमा गुफासम्म पुग्ने व्यवस्थित पैदलमार्ग निर्माण, गुफावरिपरि आकर्षक संरचना निर्माण, गुफाभित्र उज्यालोका लागि बत्ती जडान तथा भित्री भागसम्म पुग्न सिँढी निर्माण गर्ने कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर २, रतन्छामा नै साकेला पार्क (उद्यान) र वडा नम्बर ३ खिदिमामा शहीद पार्क निर्माण गरिसकिएको छ । दिक्तेल, रुपाकोट, मझुवागढी नगरपालिकाको सिमानामा पर्ने साप्सुखोलामा स्काई वाकसहितको पार्क निर्माणाधीन छ । गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटकीय क्षेत्रहरुको स्तरोन्नति तथा प्रवद्र्धनको कामलाई तीव्रता दिइएको पालिका उपप्रमुख बिर्सिकाले जानकारी दिनुभएको छ ।











प्रतिक्रिया