काठमाडौँ ।
नेपाली सेनाले सेना दिवसको अवसर पारेर ‘नेपाली सेना फोटो तथा हतियार प्रदर्शनी–२०८२’ आयोजना गर्ने भएको छ। जंगी अड्डा, भृकुटीमण्डप क्षेत्रमा आयोजना हुने उक्त प्रदर्शनी आगामी माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने तस्बिरहरू, ऐतिहासिक हातहतियार, विभिन्न उपकरण तथा सेनाले निर्वाह गर्दै आएको भूमिकासम्बन्धी सामग्रीहरू प्रदर्शन गरिनेछ।
प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्याण्ड, सैनिक हवाई सेवा, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, राष्ट्रिय सेवा दल तथा सैनिक विद्यालयहरूको गतिविधिसमेत समेटिने जनाइएको छ।
आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे नजिकबाट जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनी निःशुल्क प्रवेशयोग्य रहनेछ। प्रदर्शनी अवलोकनका लागि माघ ४ गते बिहान ११ः३० बजेदेखि बेलुका ५ बजेसम्म तथा माघ ५ देखि ७ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ।
प्रदर्शनी स्थलको पश्चिमतर्फको गेटबाट सर्वसाधारणका लागि प्रवेश व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ। यस प्रदर्शनीबाट आम नागरिक तथा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूले नेपाली सेनाका गतिविधिबारे थप जानकारी प्राप्त गर्ने विश्वास सेनाले लिएको छ।











प्रतिक्रिया