हेटौंडा ।
नेपालभर जार तथा बोतलका पिउने पानी तथा पानीजन्य वस्तु उत्पादन गर्ने उद्योगीहरुको छाता संगठन नेपाल पानी उद्योग महासंघको प्रथम साधारणसभाबाट महासंघको महासचिवमा हेटौंडाका युवा व्यवसायी ध्रुवप्रसाद अधिकारी चयन हुनुभएको छ । काठमाडौंको गोदावरीमा साधारणसभा सम्पन्न भएको हो ।
नेपालको पिउने पानी आपूर्ति तथा व्यवस्थापन क्षेत्रको शीर्ष निकायका रुपमा स्थापित महासंघको वार्षिक साधारणसभाले अध्यक्षमा विक्रम लिम्बु चेम्जोङलाई चयन गर्दा साधारणसभाबाट ३ वर्षका लागि ३५ सदस्यीय निर्वाचित तथा ४ जना मनोनीत गरी ३९ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो ।
सभाबाट वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी र उपमहासचिवमा रोशा श्रेष्ठ निर्वाचित हुनुभएको छ । उपाध्यक्षहरुमा रवीन्द्रमोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलाखा, शाहिल शाह, भुवनप्रसाद लोहनी, सबि कार्की, कृष्णप्रसाद आचार्य र टेकेन्द्रसिंह कुन्जेडा चयन हुनुभएको छ । कोषाध्यक्षमा देवनारायण चौलागाईं, सदस्यमा गोकुलबहादुर थापा, जीतेन्द्र दाहाल, नारायण गिरी, प्रमोदकुमार शाह, सहदेव बोलखे, सौरभ मारु, पदमबहादुर राउत, चिन्तामणि भुसाल, अविनाष थानी, जीवन घिमिरे, राम सुवाल, अमराज लामा, राम बराल, दिनेश भट्टराई, राजेश खनाल, विक्रम मण्डल, अनिल आचार्य, कृष्ण कुँवर, टक सारुमगर, शरद्प्रसाद रिजाल, विशाल विष्ट र श्रवण थापा चयन हुनुभएको छ । विनय श्रेष्ठ, सुदीपमानसिंह बस्नेत र रक्की तामाङलाई सदस्य मनोनीत गरिएको छ भने एक सदस्य मनोनीत गर्न बाँकी रहेको महासंघले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसूदन पौडेलले स्वच्छ र सुरक्षित पिउने पानी नागरिकको मौलिक आवश्यकता भएको उल्लेख गर्दै पानी उद्योगलाई व्यवस्थित, जिम्मेवार र गुणस्तरीय बनाउन सरकार सहकार्यका लागि तयार रहेको बताउनुभयो । उहाँले उद्योगीहरुको लगानी सुरक्षित हुने नीतिनिर्माण, गुणस्तर मापदण्ड कार्यान्वयन तथा दिगो पानीस्रोत व्यवस्थापनमा प्रदेश सरकारको सकारात्मक भूमिका रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामा महासंघ अध्यक्ष लिम्बुले नीतिगत पहल तथा दिगो पानी व्यवस्थापनका लागि गरिएका रणनीतिक कदम प्रस्तुत गर्नुभयो । उहाँले प्रविधि, नवीनता र आपसी सहकार्यका माध्यमबाट देशभर स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच विस्तार गर्न महासंघ प्रतिबद्ध रहेको बताउनुभयो । महासंघ महासचिव अधिकारीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभाबाट प्राप्त एकता र विश्वासलाई संस्थागत सुदृढीकरणमा केन्द्रित गरिने बताउनुभयो । उहाँले पानी उद्योगसँग सम्बन्धित नीतिगत र व्यावहारिक समस्या समाधानका लागि महासंघले सरोकारवाला निकायहरुसँग समन्वयलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना वैद्य जोशीले उद्योगीहरुको व्यावसायिकता अभिवृद्धि गर्न विभाग सधैँ सहयोगी रहने बताउनुभयो । उहाँले पानी उत्पादनका नाममा हुने लापरबाहीलाई कानुनले छुट नदिने स्पष्ट पार्दै गुणस्तर र उपभोक्ता स्वास्थ्यमा कुनै सम्झौता हुन नहुने धारणा राख्नुभयो । सभामा देशभरका २३ भन्दा बढी जिल्लाबाट पानी उद्योगी सहभागी थिए ।











प्रतिक्रिया