रक्षक नै भक्षकको अवस्था नआओस्


सरकारी सम्पत्तिको रक्षा गर्नु स्थानीय निकायको कर्तव्य हो । तर रक्षक नै भक्षक भएजस्तो काठमाडौं महानगरपालिकाले छाउनीस्थित राष्ट्रिय संग्रहालयमा डोजर चलाएको छ । संग्रहालयको स्टाफ–घर र कम्पाउन्डमा डोजर चलाएपछि संग्रहालयको सुरक्षामा गम्भीर चुनौति भएको छ ।

डोजर आतंक भएपछि संग्रहालय प्रशासनले प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटीमा क्षतिपूर्ति र सुरक्षाको माग गर्दै पत्र पठाएको थियो । राष्ट्रिय संग्रहालयको स्वामित्वमा रहेको महेन्द्र स्मृति संग्रहालयको दक्षिण–पूर्वको बाटो किनारमा अवस्थित १ रोपनी ८ आना १ पैसा जग्गामा रहेको संग्रहालयको सुरक्षा र सरसफाइ कार्यसँग सम्बन्धित कर्मचारीहरुले आवासको रुपमा प्रयोग गरिरहेका तीनवटा आवास गृहको कम्पाउन्ड भत्काएको संग्रहालय प्रशासनले जनाएको छ । कामनपा प्रहरीले विनाजानकारी भवन भत्काएपछि दुई निकायबीच भनाभन भएको छ । रक्षा गर्नुपर्ने निकायले जानकारी नै नदिई भवन भत्काएपछि समस्या बढेको छ ।

भवन भत्काएपछि संग्रहालय प्रशासनले आधा दर्जन बढी सरोकार निकायमा पत्राचार गरेको छ । क्षति पु¥याउनेमाथि क्षति भएका सबै सम्पत्तिको क्षतिपूर्ति भराई उक्त कार्यमा संलग्नहरुलाई हदैसम्मको कानुनी कारबाही गर्न आग्रहसहितको पत्र सम्बन्धित निकायमा पुगे पनि कार्यान्वयन हुन सकेको छैन । साबिक टंकेश्वर गाविस–९ खको कित्ता नं. ४९, ५०, ६२, ६३ र ६५ को जग्गा राष्ट्रिय संग्रहालय छाउनीअन्तर्गत महेन्द्र स्मृति संग्रहालयको नाममा जग्गाधनी पुर्जा छ । संग्रहालयले ९ दिनअघि अर्थात् पुस ७ मा आफ्नो नाममा धनी पुर्जा बनाइसकेको छ । आफ्नो नाममा पुर्जा रहेको जग्गा र त्यसमा बनेको टहरामा जानकारी नदिई डोजर चलाएपछि संग्रहालयले कानुनी उपचारमा जाने तयारी गरेको हो ।

कामनपा प्रहरी सुशासन समितिको २०८२ असार ६ गतेको बैठकले विद्यालयको उपयोगको लागि सरकारी दर्ता बाँकी रहेको जग्गामा डोजर चलाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा भवन भत्काएको जिकिर छ । संग्रहालयसँगै रहेको पञ्चकन्या माविले उक्त जग्गा भोगचलन गर्न आग्रह गर्दै वडा नं. १३ को सिफारिससहितको पत्र पठाएपछि सोही आधारमा समितिको बैठकले भत्काउने निर्णय गरेको थियो ।

सोही आधारमा प्रहरीले डोजर चलाएको थियो । भत्काउने विषयमा कामनपाले पुरातत्व विभागलाई मौखिक जानकारी गराएपछि पुरातत्व विभाग प्रमुख शौभाग्य प्रधानाङ्गले कामनपाका उपमेयर सुनिता डंगोल, प्रुमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र मेयरका स्वकीय सचिव भुपदेव शाहलगायतलाई नभत्काउन आग्रह गर्नुभएको थियो । महानिर्देशक प्रधानाङ्गको आग्रह केही काम लागेन र अन्ततः कामनपाले भत्काएरै छाड्यो । हाल भग्नावशेषकै टहरामा संग्रहालयका कर्मचारीले गुजारा चलाइरहेका छन् ।

महानगर क्षेत्रका जर्दनौं स्थानमा अतिक्रमित क्षेत्र छन् । ती क्षेत्रका भवन भत्काउन नसकेको कामनपा प्रहरीले सरकारी सम्पत्तिमाथि डोजर आतंक गरेको छ । यसले गर्दा मुलुकको सरकारी सम्पत्ति नष्ट भएको छ । लालपुर्जा भएको जग्गामा डोजर चलाउन हुन्थ्यो वा हुँदैनथ्यो भन्ने बारेमा कामनपाले सोच्नुपथ्र्यो तर वडा र समितिकै निर्णयको आधारमा सम्बन्धित निकायलाई पत्राचार नगरी भौतिक सम्पत्ति नष्ट गर्नु महानगरपालिकाको गल्ती हो । यस विषयमा छानबिन गरी कामनपालाई कारबाही गरिनुपर्छ ।