उदयपुर । सरकारले पहिचान गरेका देशका सय पर्यटकीय गन्तव्य स्थलमध्ये एक उदयपुरगढी रहेको छ । नेपालका धेरै गढी र किल्लाहरुमध्येको एक उदयपुरगढी केवल ऐतिहासिक स्थल मात्र होइन, समग्र जिल्लाको पहिचान र गौरवको प्रतीक पनि हो । त्यसैले पनि अहिले उदयपुरगढीमा पर्यटकहरुको ओइरो लाग्न थालेको छ । गीतको सदरमुकाम रहेको स्थलको परिचय अहिले आएर सबैले पाइरहेका पनि छन् ।
उदयपुरगढी गाउँपालिका–५ मा अवस्थित अढाइ सय वर्ष पुरानो यो गढी १५औँ शताब्दीको उत्तरार्धतिर राजा उदयचन्द्र सेनले राज्य सञ्चालन गरेको केन्द्रका रूपमा परिचित छ । राजा उदयपचन्द्र सेनकै नामबाट जिल्लाको नाम ‘उदयपुर’ रहनु इतिहासको महत्वपूर्ण तथ्य हो ।
उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरले गतवर्षदेखि यहाँ दिनहुँ सयौँ पर्यटक आउने गरेको जानकारी दिँदै नेपाली सेनाको सहयोगमा पुरानो गढी पुनर्निर्माण गरेपछि आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुगेको बताए । जिल्लाभित्रका मात्र होइन, जिल्लाबाहिरका सुनसरी, सिराहा, धनुषा, मोरङ, सिन्धुली, खोटाङ, ओखलढुंगालगायतका जिल्लाबाट पनि पर्यटकहरु आउने गरेको र खास गरी ऐतिहासिक स्थल भएकोले अध्ययन–अनुसन्धान तथा इतिहास बुझ्न र लेख्न रुचि हुनेहरु यहाँ आउने गरेको अध्यक्ष मगरले बताए ।
उदयपुरगढी गाउँपालकाको वडा नं. ६ मदन भण्डारी लोकमार्गको नेपालटार बजारबाट करिब ९ किलोमिटर पश्चिम–उत्तरमा पर्ने उदयपुरगढीमा २०२८ सालसम्म जिल्ला सदरमुकाम रहेको थियो । तर त्यति बेला पानीको समस्याका कारण र भौतिक पूर्वाधारको अभावका कारण सदरमुकामलाई गाईघाटमा सारिएको थियो । सदरमुकाम गाईघाट सारेपछि उजाड बनेको उदयपुरगढी अहिले भने विकासको गतिमा लम्केको छ । यहाँ पालिकाको सदरमुकाम भएपछि भौतिक पूर्वाधार र खानेपानीको व्यवस्था हुँदा क्रमशः विकासमा बामे सर्दै गएको छ ।
उदयपुरगढी गाउँपालिका र कोशी प्रदेश सरकारको करिब दुई करोड २५ लाख रुपैयाँको लगानीमा गरिएको पुरानो गढीको पुनर्निर्माणले यस क्षेत्रको पर्यटकीय आकर्षण उल्लेखनीय रूपमा बढाएको छ । मुख्य गेट, तोप, राजा चढेको घोडाको मूर्ति, मन्दिर र पर्खालहरूले तत्कालीन युद्धभूमिको झल्को दिन्छन् । साथै छेउमै रहेका प्राचीन दरबारका भग्नावशेष, पञ्चावती मन्दिर, वर–पीपल, प्रस्तर स्तम्भ, सिंह र गणेशका मूर्तिहरूले गढीको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई अझ सशक्त बनाएका छन् ।
समुद्री सतहदेखि १,१६० मिटर उचाइमा रहेको र सदरमुकाम गाईघाटदेखि करिब ३८ किलोमिटर उत्तर–पश्चिममा अवस्थित उदयपुरगढीको सदावहार चिसो मौसम, स्वच्छ हावा तथा हिमालदेखि तराईसम्मको दृश्यावलोकन यहाँका थप आकर्षण हुन् । इतिहासको गहिरो ज्ञान र मनोरम प्रकृतिको अनुभूति एकैसाथ गर्न सकिने उदयपुरगढीको संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकासमा सबै पक्ष गम्भीर हुनु आजको आवश्यकता हो ।
कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने कामको प्रारम्भ गरिसकेको अवस्था भए पनि प्रदेश सरकारले भने उदयपुरगढीमा हालसम्म पर्यटन प्रवद्र्धनसम्बन्धी कुनै पनि कार्यक्रम अघि सार्न सकेको छैन । नारामा मात्र सीमित रहने गरी ल्याइएको कार्यक्रमले कुनै पनि योजना सफल हुन नसक्ने भएकोले प्रदेश सरकारले अघि सारेको योजनालाई कार्यान्वयनमा ल्याउनका लागि बजेट व्यवस्थापन पनि आवश्यक हुन्छ । कोशी प्रदेशभित्रका प्रत्येक नगरपालिका र गाउँपालिकालाई आ–आफ्नो पालिकाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका साथै संरक्षण एवं संवद्र्धनमा लाग्न बजेटको व्यवस्थापन गर्नु प्रदेश सरकारको दायित्व हो ।











प्रतिक्रिया