खोटाङ।
खोटाङस्थित साकेला गाउँपालिकाले नियमित बनाएको ‘श्रम साकेला’ अभियानबाट विकासको गति बढाइरहेको छ । गाउँपालिकाले बिदा, चाडपर्ब लगायतका बिशेष दिनमा सञ्चालन गर्दै आएको ‘श्रम साकेला’ नामक श्रमदान अभियानबाट स्थानीय तहमा बिकासका कार्यहरु प्रभाबकारी बन्दै गएको हो ।
सडक मर्मत, सार्बजानिक क्षेत्र सरसफाई, पर्यटकीय क्षेत्रहरुको पर्बद्र्दन लगायतका कार्यहरु गर्दै आएको गाउँपालिकाले जनश्रममार्फत नै बिकासका गतिबिधिलाई तीव्रता दिने नीति लिएको छ । हालै मात्र वडा नम्बर ३ खिदिमास्थित बोरा टोल र मखमले टोलका स्थानीय नागरिकहरूले जनश्रमदानमार्फत काठको साँघु निर्माण गरी आवत–जावतलाई सहज बनाएका छन् । वर्षौंदेखि दैनिक आवागमनमा समस्या उत्पन्न गराउँदै आएको स्थानीय बोरा खोलामा करिब १५ मिटर लामो काठको साँघु निर्माण गरिएको हो ।

उक्त खोलाका कारण विशेषगरी विद्यालय जाने विद्यार्थी, स्वास्थ्य सेवा लिन जाने नागरिक, वडा कार्यालय तथा गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने सेवाग्राहीहरू वर्षायाममा जोखिमपूर्ण यात्रामा बाध्य हुँदै आएका थिए । खोलाको बहाव तीव्र हुँदा पैदल हिँडडुल समेत असम्भव बन्दै आएको अवस्थामा स्थानीय नागरिकहरू आफैं अग्रसर भई समस्या समाधानतर्फ उन्मुख भएका हुन् ।
स्थानीयको सक्रिय सहभागिता र आपसी सहकार्यमा सम्पन्न गरिएको उक्त साँघु निर्माण कार्यले समुदायभित्र विकासप्रति बढ्दो चेतना र आत्मनिर्भरता झल्काएको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताए । सीमित स्रोतसाधनका बाबजुद पनि साझा समस्या समाधानका लागि स्थानीयवासीहरू एकजुट भई श्रमदानमा जुट्नुले “आफ्नो गाउँ आफैं बनाऔँ” भन्ने भावनालाई व्यवहारमा उतारेको उनको भनाई छ ।
वर्षेनी आउने भलबाढीका कारण यस क्षेत्रका बालबालिका, वृद्धवृद्धा, महिला तथा बिरामी नागरिकहरू सबैभन्दा बढी प्रभावित हुँदै आएका थिए ।
साकेला गाउँपालिकाको श्रम साकेला अभियानको नीतिगत निर्णयसँग सहकार्य गर्दै नागरिकस्तरबाट गरिएको यो प्रयास साकेला गाउँपालिकामा सामुदायिक विकासको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ ।

जनश्रमदान, सहकार्य र स्थानीय नेतृत्वको प्रभावकारी समन्वयबाट निर्माण भएको यो साँघुले स्थानीय विकासमा नागरिकको भूमिकालाई अझ मजबुत बनाउँदै साकेला गाउँपालिकाको समग्र विकास यात्रामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
यस्तै, हालै, साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तरगत वडा नम्बर ३ खिदिमास्थित मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ । साबिक खिदिमा गाविस वडा नम्बर ६ ढाँडे टोलका २१ जना स्थानीयको सहभागितामा करिब दुई किलोमिटर सडक सरसफाइ गरिएको हो ।
सडकको दायाँ–बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका बोटबिरुवा र भलबाढीका कारण थुनिएका नालीले सडक साँघुरो बनाएपछि स्थानीयवासी स्वःस्फूर्त जनश्रमदानमा जुटेका छन् ।
जनश्रमदान अभियानलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहँदै आएको छ ।
खिदिमाको साविकका पुङ्मा, किवा, ढाँडे, बोपुङ, सौरे, लामिडाँडा, हात्तिसुँडे, कोक्रा लगायतका विभिन्न टोलहरूमा जनश्रमदानमार्फत सडक, सार्वजनिक स्थल तथा पाटीपौवा सरसफाइ सम्पन्न भइसकेको छ । अभियान सञ्चालन गर्न बाँकी टोलहरूमा पनि निरन्तर श्रमदान अभियान सञ्चालन गरिने वडाध्यक्ष गोविन्द तामाङले जनाए ।
सोही गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाँडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको सहभागितामा वडा कार्यालय परिसरमा सरसफाइ गरिनुका साथै सडकको नाली सरसफाइ गरिएको पूर्ण सरसफाइ कार्यक्रम उत्प्रेरक पुष्पा राईले जानकारी दिएका छन् ।
जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडामात्र रहेको) यो गाउँपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयवासीले समेत सक्रिय भूमिका निर्वाह गरेका छन् । श्रमदानमा सहभागीले खाना तथा खाजाको व्यवस्थासमेत आफै गर्ने गरेको वडाध्यक्ष तामाङले जानकारी दिएका छन् ।











प्रतिक्रिया