सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु

आक्रोशित स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


विराटनगर ।

सुनसरीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन् ।

घटना बिहीबार बिहान करिब १ बजे सुनसरीको कोशी गाउँपालिका १ मा भएको हो । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार साह भारतबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री लिएर नेपाल फर्कँदै थिए । घर नजिकै पुगेका बेला सशस्त्र प्रहरीले उनलाई रोक्न खोज्दा गोली प्रहार भएको बताइएको छ । साहलाई दुई राउण्ड गोली लागेको र गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ ।

राजमार्ग ठप्प, शव सडकमा राखेर प्रदर्शन

साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरी प्रदर्शन गरेका छन् । उनीहरूले शव नै सडकमा राखेर नाराबाजी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनका कारण सो खण्डमा ठूला सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन् । मोटरसाइकल बाहेक अन्य सवारी साधन चल्न सकेका छैनन्,उनले भने–स्थानीयले शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन् । घटनापछि उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षाको अवस्था संवेदनशील रहेकाले थप सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
घटनापछि बिहीबार बिहान प्रहरी प्रशासन र स्थानीयबीच वार्ता भएको थियो । तर वार्तामा सहमति जुट्न नसकेपछि प्रदर्शन जारी रहेको छ । स्थानीयले गोली चलाउने सशस्त्र प्रहरीमाथि तत्काल कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गरेका छन् ।

स्थानीयका अनुसार सामान्य तस्करीको आरोपमा प्राणघातक गोली चलाउनु गैरकानुनी र अमानवीय हो । समातेर कानुन अनुसार कारबाही गर्न सकिन्थ्यो, गोली हान्नुको औचित्य छैन, एक प्रदर्शनकारीले बताए ।

घटनाबारे सशस्त्र प्रहरी बलले आन्तरिक छानबिन सुरु गरेको जनाएको छ । तर पीडित पक्षले स्वतन्त्र र निष्पक्ष छानबिन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । स्थिति तनावग्रस्त बन्दै गएपछि प्रशासनले थप सुरक्षा सतर्कता अपनाएको छ ।