चिकित्सा क्षेत्रमा सुधारको संकेत


नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पाको विजयले चिकित्सा क्षेत्रमा नयाँ ऊर्जा र विविधताको संकेत गरेको छ । समयको मागसँगै युवा पुस्ताले चाहेको र मागेको जनशक्ति नमुनाका रुपमा मेडिकल काउन्सिलको निर्वाचनको परिणामले देखाएको छ ।

जो विज्ञ, अनुभवी, व्यावहारिक छ उसले मात्र नेतृत्व गर्नुको औचित्य पुष्टि गर्छ । मुटुरोग विशेषज्ञका रूपमा ख्याति कमाएका डा. शेर्पाले निकटतम प्रतिस्पर्धी डा. गुरुशरण साहलाई ८८४ मतको अन्तरले पराजित गर्दै ५,२३४ मत प्राप्त गर्नुभएको छ । यो विजय मात्र व्यक्तिगत सफलता होइन, बरु नेपालको स्वास्थ्य नियमनमा समावेशिता र आधुनिकीकरणको अपेक्षा बोकेको घटना हो ।

नेपाल मेडिकल काउन्सिल चिकित्सकहरूको लाइसेन्स प्रमाणित गर्ने र चिकित्सक प्रमाणित गरी दर्ता गर्ने, योग्यता निर्धारण र नैतिकता कायम गर्ने प्रमुख संस्था हो । यसको नेतृत्वले मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्छ । यसपटकको निर्वाचनमा झन्डै १२ हजार मत खसेको र १४५ मत बदर भएको तथ्यांकले मतदाता शिक्षा हरेक तहमा आवश्यक रहेको कुरा प्रस्ट्याउँछ ।

चिकित्सकहरूको उच्च सहभागिता रहेको मतदानमा यति धेरै मतपत्र रद्द हुनु सोचनीय विषय हो । चिकित्सक आफ्नो पेसामा विज्ञ भए पनि निर्वाचन, मतदान गर्ने प्रक्रियामा अलमलिन सक्छ । चिकित्सा पेसा बिरामीको रोग पहिचान गर्ने हो भने मतदानमा तोकिएको नियमको पालना गर्दै उम्मेदवारलाई भोट दिने प्रक्रिया हुन्छ । नजिकिएको नेपाल चिकित्सक संघको निर्वाचनलाई पनि यो निर्वाचनले पाठ सिकाएको छ ।

उपाध्यक्ष पदमा विजयी डा. शेर्पाको पृष्ठभूमि आफैंमा प्रेरणादायी छ । उहाँ शेर्पा समुदायका पहिलो डीएम कार्डियोलोजिस्टका रूपमा चिनिनुहुन्छ । नेपाल मेडिकल कलेजबाट एमबीबीएस गर्दा विभिन्न विषयमा डिस्टिङ्क्सन प्राप्त गरेका शेर्पाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट डीएम कार्डियोलोजी पूरा गर्नुभएको छ । उहाँ इलेक्ट्रोफिजियोलोजी र डिभाइस थेरापीजस्ता क्षेत्रमा समेत विशेषज्ञ हुनुहुन्छ ।

उहाँको यो विजयले स्वास्थ्य क्षेत्रमा जातीय र क्षेत्रीय विविधताको प्रतिनिधित्व बढाएको छ । नेपालको बहुसांस्कृतिक समाजमा शेर्पा समुदायबाट यस्तो उच्च पदमा पुग्नुले अन्य अल्पसंख्यक समुदायलाई प्रोत्साहन मिल्छ । डा. शेर्पाले निर्वाचनपछि डिजिटल प्रणालीमा निर्वाचन सुधार गर्ने, पराजित उम्मेदवारका एजेन्डा समेट्ने र कामलाई छिटोछरितो बनाउने प्रतिबद्धता जनाउनु उहाँको महान् विचार हो । नजिकिँदै गरेको राष्ट्रिय चुनावमा पनि डिजिटलाइजेसन गर्नु बुद्धिमानी हुनेछ ।

चिकित्सा क्षेत्र अहिले ठूला चुनौतीबाट गुज्रिरहेको छ । मेडिकल कलेजहरूको अनियन्त्रित विस्तार, गुणस्तरहीन शिक्षा, चिकित्सकहरूको पलायन र स्वास्थ्य सेवामा असमानता प्रमुख समस्या हुन् । काउन्सिलको नयाँ नेतृत्वले यी समस्यालाई सम्बोधन गर्नुपर्छ । डा. शेर्पाको क्लिनिकल अनुभव र अनुसन्धानमूलक दृष्टिकोणले नियमनमा वैज्ञानिकता भित्र्याउन मद्दत पुगोस् । उन्नत प्रविधिको प्रयोग र जनचेतनामा जोड दिएर मुटुरोगजस्ता गैरसङ्क्रामक रोगको बढ्दो जोखिमलाई नियन्त्रण गर्न योगदान पुगोस् । साथै लाइसेन्स परीक्षामा ठूलो संख्यामा हुने अनुत्तीर्णको जड पत्ता लगाउन यो टिम सफल होओस् ।

यो निर्वाचनले चिकित्सक समुदायमा लोकतान्त्रिक अभ्यासको सन्देश दिएको छ । शान्तिपूर्ण मतदान र मतगणनाले संस्थागत परिपक्वता देखाउँछ । अब अपेक्षा छ– नयाँ टिमले प्रतिबद्धताअनुसार काम गरोस् । चिकित्सा शिक्षा सुधार, चिकित्सकहरूको हकहित संरक्षण र बिरामीको गुणस्तरीय उपचार सुनिश्चित होस् । डा. शेर्पाको नेतृत्वमा काउन्सिलले नेपालको स्वास्थ्य क्षेत्रलाई थप समावेशी, पारदर्शी र प्रभावकारी बनाओस् । यो विजय सबै चिकित्सक र नेपाली जनताको साझा उपलब्धि बन्न सकोस् ।