सन् २०२६ सुरु, देशभर अङ्ग्रेजी नयाँ वर्षको उत्सव


काठमाडौँ ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् सन् २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्मवर्षलाई आधार मानी पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ। यो पात्रो मान्नेहरूले आज एकअर्कामा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाएका छन्।

विभिन्न संवत्को अध्ययनमा संलग्न डा. शास्त्रदत्त पन्तका अनुसार सौरमासमा आधारित इस्वी संवत् विसं जति वैज्ञानिक नभए पनि यसको प्रभाव विश्वव्यापी बन्दै गएको छ। इस्वी पात्रोमा लिप इयरमार्फत समय व्यवस्थापन गरिए पनि यसबारे पश्चिमा देशमै पूर्ण मतैक्यता हुन नसकेको उहाँले बताए।

पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढेको छ। नयाँ वर्षको अवसरमा काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहालगायत पर्यटकीय क्षेत्रहरूमा विभिन्न कार्यक्रम आयोजना गरी सन् २०२६ को स्वागत गरिएको छ।