काठमाडौं ।
भदौ २३ गते काठमाडौंमा भएको हिंसात्मक घटनाबारे पूर्व गृहमन्त्री रमेश लेखकले आफूले सुरक्षा निकायलाई कुनै पनि प्रकारको बल प्रयोगको आदेश नदिएको स्पष्ट पार्नुभएको छ । घटनापछि नै नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ ।
उक्त घटनासम्बन्धी छानबिन गरिरहेको आयोगसमक्ष लिखित तथा मौखिक बयान दिँदै लेखकले शान्तिपूर्ण प्रदर्शन लोकतन्त्रको आधार भएको उल्लेख गर्नुभयो । उहाँले युवा पुस्ताले उठाएका माग जायज भए पनि प्रदर्शनमा योजनाबद्ध घुसपैठ भई हिंसा भड्काइएको दाबी गर्नुभएको छ ।
पूर्व गृहमन्त्री लेखकका अनुसार भदौ २३ गतेको प्रदर्शनबारे पूर्वजानकारी पाएपछि उहाँले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको र बैठकमा उहाँले सुरक्षा निकायलाई तीन स्पष्ट निर्देशन दिएको बताउनुभएको छ । उहाँले आयोगसमक्ष बयान दिँदै कुनै पनि हालतमा मानवीय क्षति हुन नहुने संयमित र समन्वयात्मक सुरक्षा व्यवस्था अपनाउन र प्रदर्शन नेतृत्वविहीन भएकाले घुसपैठको जोखिमप्रति उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताउनुभएको थियो ।
लेखकले उक्त दिन युवाको ज्यान जानु, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी हुनु र राज्यका संवैधानिक संरचनामाथि आक्रमण हुनु राष्ट्रिय इतिहासमै दुर्भाग्यपूर्ण भएको समेत आयोगसमक्ष बताउनुभएको थियो । ‘यो क्षणिक आवेग होइन, योजनाबद्ध आक्रमणजस्तो देखिन्छ’ – उहाँले आयोगसमक्ष बयानका क्रममा भन्नुभएको थियो ।
घटनाले आफूलाई गहिरो रूपमा मर्माहत बनाएको उल्लेख गर्दै लेखकले गृहमन्त्रीको हैसियतमा नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिएको स्पष्ट पार्दै राजनीतिमा नैतिकता सबैभन्दा ठूलो मूल्य भएको बताउनुभयो । पूर्व गृहमन्त्री लेखकले आयोगलाई प्रदर्शनमा कसरी घुसपैठ भयो, हिंसा कसले र किन भड्कायो भन्ने विषयमा सूक्ष्म, निष्पक्ष र पूर्वाग्रहरहित छानबिन गर्न आग्रह गर्नुभएको छ । दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइनुपर्ने उहाँको भनाइ छ ।
भदौ २३ को घटनाले नेपालको शान्ति–सुरक्षा व्यवस्थामाथि मात्र होइन, राजनीतिक नेतृत्वको उत्तरदायित्व र नैतिकताको मापदण्डमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ । लेखकको राजीनामालाई कतिपयले राजनीतिक दबाबको परिणाम माने पनि उहाँले बारम्बार नैतिक जिम्मेवारीलाई कारण बनाउनुभएको छ ।
तर, घटनामा देखिएको राज्य संरचनामाथिको एकै दिनको व्यापक आक्रमण, आगजनी र हिंसाले सुरक्षा संयन्त्रको तयारी, सूचना व्यवस्थापन र घुसपैठ नियन्त्रण क्षमतामाथि पुनरावलोकन गर्नुपर्ने देखिएको छ । अब आयोगको निष्कर्षले मात्र होइन, सरकारको आगामी कदमले लोकतान्त्रिक व्यवस्थाप्रति जनविश्वास कायम हुन्छ कि हुँदैन भन्ने निर्भर गर्नेछ ।
यता, आयोगका प्रवक्ता विज्ञानराज शर्माले लेखकको बयान अझै नसकिएको र फेरि पनि आयोगले बयानमा बोलाउन सक्ने बताउनुभएको छ । अब आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउने तयारी गरेको छ । आयोगले पत्रमार्फत बयानका लागि बोलाउने र बयानमा नआए कानुनी प्रक्रिया अपनाएर भए पनि बयानमा बोलाउने दाबी गरेको छ । प्रवक्ता शर्माले ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारी भइरहेको जानकारी दिनुभयो ।











प्रतिक्रिया