काठमाडौं ।
नेपाल चिकित्सक संघ (एनएमए) को ३०औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि डा. बद्री रिजालको नेतृत्वमा रहेको ‘टिम बद्री’ ले आफ्नो विस्तृत चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। ‘सुरक्षित सेवा, सुरक्षित पेसा’ भन्ने मूल नारासहित चुनावी प्रतिस्पर्धामा उत्रिएको टिमले चिकित्सकहरूको पेसागत सुरक्षा, दरबन्दी वृद्धि तथा सेवा–सुविधालाई मुख्य एजेन्डा बनाएको छ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा लामो समयदेखि सम्बोधन हुन नसकेका चिकित्सकका पेशागत र संरचनागत समस्याहरू समाधान गर्ने स्पष्ट योजना प्रस्तुत गरिएको छ।
१० हजार दरबन्दी र वैज्ञानिक तलबमानको प्रतिबद्धता
‘टिम बद्री’ ले कार्यकालभर देशभरका सरकारी अस्पतालहरूमा थप १० हजार चिकित्सक दरबन्दी सिर्जना गर्न सरकारलाई दबाब दिने प्रतिबद्धता जनाएको छ। घोषणापत्रमा विगत तीन दशकदेखि ओएनएम (O&M) सर्भे नहुँदा चिकित्सक बेरोजगारीको समस्यामा परेको उल्लेख गर्दै पहिलो वर्षमै २ हजार १ सय दरबन्दी थप्न पहल गर्ने उल्लेख छ।
यस्तै, निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले पाउँदै आएको न्यून पारिश्रमिकको अन्त्य गर्दै सरकारी सरहको वैज्ञानिक न्यूनतम तलबमान लागू गराउन पहल गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश गरिएको छ।
चिकित्सक सुरक्षाका लागि ‘र्यापिड रेस्पोन्स टिम’
कार्यस्थलमा चिकित्सकमाथि हुने भौतिक आक्रमण, धम्की र दुर्व्यवहार नियन्त्रण गर्न ‘र्यापिड रेस्पोन्स टिम’ (RRT) गठन गर्ने योजना अघि सारिएको छ। उक्त टिममार्फत आपत् अवस्थामा चिकित्सकलाई तत्काल कानुनी तथा भौतिक सुरक्षा प्रदान गरिने बताइएको छ।

अध्यक्षका उम्मेदवार डा. बद्री रिजालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको अक्षरसः कार्यान्वयन गराउँदै ‘जेल विदाउट बेल’ को प्रावधान प्रभावकारी बनाइने प्रतिबद्धता जनाए।
शैक्षिक सुधार र वैज्ञानिक ड्युटी आवर
घोषणापत्रमा चिकित्सा शिक्षामा देखिएका विसंगति हटाउन स्नातकोत्तर (PG) अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षे कार्य अनुभवको प्रावधान खारेज गर्न पहल गर्ने उल्लेख छ। साथै चिकित्सकको कार्यक्षमता जोगाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको वैज्ञानिक ड्युटी आवर लागू गर्ने र ‘बर्नआउट’ व्यवस्थापनका लागि परामर्श सेवा सुरु गर्ने योजना समेटिएको छ।
‘टिम बद्री’ का मुख्य उम्मेदवार
अध्यक्ष: डा. बद्री रिजाल
वरिष्ठ उपाध्यक्ष: डा. सञ्जीव तिवारी
महासचिव: डा. विश्वराज दवाडी
कोषाध्यक्ष: डा. संयुक्त आचार्य
नेपाल चिकित्सक संघको ३०औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन तालिका अनुसार उपत्यकाबाहिर माघ २ र ३ गते मतदान हुनेछ।














प्रतिक्रिया