पाठेघरको मुखको क्यान्सर नेपालका महिलामा देखिने सबैभन्दा गम्भीर र ज्यान लिने क्यान्सरमध्ये एक हो । हरेक वर्ष करिब दुई हजारभन्दा बढी महिलामा यो रोग देखिनु र औसतमा दैनिक चार महिलाले यही रोगका कारण ज्यान गुमाउन पर्नु आफैंमा चिन्ताजनक अवस्था हो । यही सन्दर्भमा नेपाल सरकारले ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपलाई फागुनदेखि नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने निर्णय गर्नु अत्यन्तै सकारात्मक, दूरदर्शी र स्वागतयोग्य कदम हो । १० वर्ष उमेर समूह वा कक्षा ६ मा अध्ययनरत छात्रालाई लक्षित गर्दै खोपलाई नियमित कार्यक्रममै राख्नु भनेको अब यो विषयलाई अभियानमा सीमित नगरी राज्यले संस्थागत प्राथमिकता दिएको स्पष्ट सन्देश हो ।
पाठेघरको मुखको क्यान्सर मुख्यतः एचपीभी भाइरसको दीर्घकालीन संक्रमणका कारण हुने गर्छ । वैज्ञानिक प्रमाणले देखाएको छ कि यौनसम्पर्क शुरु हुनुअघि खोप लगाइएमा शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बन्छ र भविष्यमा क्यान्सर हुने जोखिम अत्यन्त न्यून हुन्छ । त्यसैले १० वर्ष उमेर समूहलाई लक्षित गर्नु चिकित्सकीय दृष्टिले पूर्णतः उपयुक्त छ । यो भाइरस यौनसम्पर्कका क्रममा पुरुषबाट महिलामा सर्ने गर्दछ । गतवर्ष सञ्चालन गरिएको अभियानमा ९२ प्रतिशत कभरेज हासिल हुनु नेपालजस्तो भौगोलिक र सामाजिक विविधता भएको मुलुकका लागि उल्लेखनीय उपलब्धि हो । यसले समुदायमा खोपप्रति विश्वास बढ्दै गएको संकेत पनि दिन्छ । तर अभियान सफल हुनु र नियमित कार्यक्रम सफल हुनु फरक कुरा हो । नियमित कार्यक्रममा गएपछि यसको निरन्तरता, गुणस्तर, पहुँच र जनविश्वास जोगाइराख्नु सरकारका लागि ठूलो चुनौती पनि हुनेछ ।
यस खोप कार्यक्रम सफल बनाउन केही आधारभूत पक्षमा विशेष ध्यान दिनु आवश्यक छ । पहिलो– खोपप्रति फैलाइने भ्रम र गलत सूचनालाई समयमै रोक्न वैज्ञानिक र सरल भाषामा निरन्तर जनचेतना अभियान चलाइनुपर्छ । एचपीभी खोपलाई यौन व्यवहारसँग जोडेर हुने अनावश्यक डर र सामाजिक संकोच अझै पनि केही समुदायमा विद्यमान छ, जसलाई स्वास्थ्य शिक्षामार्फत सम्बोधन गर्नुपर्छ । दोस्रो– विद्यालय र स्थानीय तहको सक्रिय सहभागिता अपरिहार्य छ । विद्यालयमै खोप कार्यक्रम सञ्चालन गर्दा अभिभावक, शिक्षक र स्वास्थ्यकर्मीबीच समन्वय मजबुत हुनुपर्छ । स्थानीय सरकारलाई जिम्मेवारी र स्रोत दुवै स्पष्टरूपमा हस्तान्तरण गर्न सके मात्र कार्यक्रम प्रभावकारी बन्छ । तेस्रो– खोपसँगै स्क्रिनिङ र उपचार सेवामा पनि समान ध्यान दिन आवश्यक छ । खोपले भविष्यको जोखिम घटाउँछ तर हाल जोखिममा रहेका महिलाका लागि नियमित पाठेघरको मुख परीक्षण, प्रारम्भिक पहिचान र उपचार सेवा सुदृढ नगरेसम्म लक्ष्य अधुरो रहन्छ ।
पाठेघरको मुखको क्यान्सरबाट महिलाको ज्यान जोगिनु भनेको परिवारको स्थायित्व, बालबालिकाको भविष्य र समाजको समग्र स्वास्थ्य सुरक्षित हुनु हो । त्यस अर्थमा एचपीभी खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्नु केवल स्वास्थ्य कार्यक्रम होइन, सामाजिक न्याय र महिला स्वास्थ्यप्रतिको राज्यको प्रतिबद्धता पनि हो । त्यसैले जनस्वास्थ्यलाई सरकारले तत्कालीन खर्च वा नाफाको दृष्टिले होइन, दीर्घकालीन सेवा र लगानीका रूपमा बुझ्न आवश्यक छ । रोकथाममुखी स्वास्थ्य कार्यक्रममा गरिने लगानी शुरुमा खर्चजस्तो देखिए पनि दीर्घकालमा उपचार खर्च घट्ने, उत्पादनशील जनशक्ति बढ्ने र राज्यको समग्र स्वास्थ्य भार क्रमशः कम हुँदै जाने तथ्य विश्वव्यापी अनुभवले प्रमाणित गरिसकेको छ । जनस्वास्थ्यमा समयमै गरिएको लगानीले भविष्यमा रोग, गरिबी र सामाजिक असमानता घटाउने मात्र होइन, समृद्ध राष्ट्र निर्माणको बलियो आधार तयार गर्छ । त्यसैले सरकारले स्वास्थ्यलाई अल्पकालीन बजेटीय बोझका रूपमा होइन, राष्ट्रको भविष्य सुरक्षित गर्ने रणनीतिक लगानीका रूपमा प्राथमिकता दिनु अपरिहार्य छ ।











प्रतिक्रिया