प्रतिनिधि सभा पुनःस्थापनाका लागि कांग्रेसका थप ७० सांसद सर्वोच्च जाने तयारी


काठमाडौँ ।

प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेसका थप ७० सांसद पूरक रिट निवेदन लिएर आज/भोलि सर्वोच्च अदालत जाने भएका छन्।

यससँगै संसद् पुनःस्थापनाको पक्षमा अदालतमा पुग्ने सांसदहरूको संख्या उल्लेख्य रूपमा बढ्ने देखिएको छ। यसअघि नेकपा (एमाले) ले संस्थागत निर्णयअनुसार ७५ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराइसकेको छ। साथै, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतले यसअघि नै कारण देखाऊ आदेश जारी गरिसकेको छ।

विघटित प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, संसद् पुनःस्थापना भएपश्चात सरकार गठन गर्न र आवश्यक कानुन तथा संविधान संशोधन गर्न पर्याप्त संख्या रहेको पुष्टि गर्न १ सय ३८ भन्दा बढी सांसद पूरक निवेदनसहित अदालत जाने तयारीमा छन्।

यसैबीच, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको समेत हस्ताक्षर संकलन गरी पूरक रिट दायर गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। विभिन्न दलका सांसदहरू एकै ठाउँमा उभिँदै जाँदा प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दाले थप राजनीतिक र कानुनी वजन पाउने अनुमान गरिएको छ।