काठमाडौँ ।
२०८२ साल भदौ २३ गते भएको जेन्जी आन्दोलन तथा भदौ २४ गतेको विध्वंशका क्रममा मुलुकभरका सञ्चार माध्यममा भएको क्षतिको विस्तृत विवरण नेपाल पत्रकार महासंघले नेपाल सरकारसमक्ष बुझाएको छ। महासंघले संकलन गरेको तथ्यांकअनुसार उक्त आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ।
यसले नेपालको सञ्चार क्षेत्रलाई गहिरो र दीर्घकालीन चोट पुर्याएको महासंघको निष्कर्ष छ। त्यसैगरी, महासंघका संरचनामार्फत संकलन गरिएको विवरणअनुसार मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसम्बद्ध कर्मचारी गरी ३८ जनाको निजी सम्पत्ति तथा सवारी साधन आगजनीका कारण पूर्ण रूपमा नष्ट भएको छ। यसबाट मात्रै १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको देखिएको छ। घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्रा लागेर घाइते भएका छन्।
घाइतेमध्ये केही पत्रकारले उपचारका समस्या र असुरक्षित अवस्थाका कारण रोजगारीसमेत गुमाउनुपरेको अवस्था रहेको महासंघले जनाएको छ, जुन अत्यन्तै दुःखद र गम्भीर विषय हो। महासंघका अनुसार यस घटनाबाट सञ्चार क्षेत्रमा परेको क्षति केवल आर्थिक हिसाबले मात्र मापन गर्न सकिने खालको छैन।
कान्तिपुर दैनिक तथा टेलिभिजनजस्ता सञ्चार माध्यमले अर्बौं रुपैयाँ खर्च गरेर पनि पुनः प्राप्त गर्न नसकिने महत्वपूर्ण अभिलेख, सामग्री तथा ऐतिहासिक दस्तावेजहरू सधैंका लागि गुमाएका छन्, जसले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमा गम्भीर असर पारेको छ। हालसम्म संकलित विवरणअनुसार सञ्चार संस्थाहरू तथा सञ्चारकर्मीका निजी सम्पत्तिसमेत गरी मुलुकको सञ्चार क्षेत्रले कुल ७७ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको महासंघको आकलन छ। यस परिस्थितिमा नेपाल पत्रकार महासंघले— • क्षतिग्रस्त सञ्चारकर्मीका निजी सवारी साधन पुनः खरिदका लागि राहत उपलब्ध गराउन, • क्षति पुगेका सञ्चार संस्था र निजी सम्पत्ति ध्वस्त भएका पत्रकार तथा सञ्चारसम्बद्ध व्यक्तिहरूका लागि विशेष राहत प्याकेज घोषणा गर्न, • घाइते पत्रकारका लागि विशेष राहत तथा उपचार सहयोग उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछ।
यस सम्बन्धी क्षतिको विस्तृत विवरणसूची संलग्न गरी आजै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र मन्त्रालयका सचिव राधिका अर्यालसमक्ष बुझाइएको छ। महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले क्षति पुगेका सञ्चार संस्था र पत्रकारहरूका लागि विशेष राहत प्याकेज घोषणा गर्न माग गरेको थियो। भेटका क्रममा मन्त्री खरेलले क्षति पुगेका सञ्चार संस्था तथा निजी सवारी जलेका पत्रकारहरूलाई राहत दिने विषयमा सरकार सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको महासंघले जनाएको छ। त्यस्तै, सचिव अर्यालले सञ्चार क्षेत्रमा परेको समस्याप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताउनुभएको थियो। प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चारकर्मीको सुरक्षा तथा पुनर्स्थापनाका लागि सरकारबाट शीघ्र र सकारात्मक पहल हुने विश्वास नेपाल पत्रकार महासंघले लिएको छ।











प्रतिक्रिया