काठमाडौं
मिडिया स्पेस सोलुसन्स प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा काठ, फर्निचर तथा इन्टेरियर क्षेत्रसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीको एघारौँ संस्करण आयोजना हुने भएको छ ।
इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटाइल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू समेटिएको उक्त प्रदर्शनी पुष ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातीप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टल रहनेछन्। फर्निचर, प्लाइउड, काठका औजार, ल्यामिनेट उत्पादक कम्पनी, विभिन्न कम्पनीका डिलर, सब–डिलर तथा विक्रेताहरूले आफ्ना उत्पादन र सेवाबारे जानकारी गराउनेछन् । साथै, काठ व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधि र उपकरणबारे अवलोकन गर्न सकिने आयोजकको भनाइ छ ।
पछिल्लो १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रदर्शनी काठ, फर्निचर तथा इन्टेरियर क्षेत्रका लागि कोसेढुंगा सावित हुँदै आएको छ । यस पटकको अन्तर्राष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहनेछ ।
आयोजकका अनुसार, यस एघारौँ नेपाल काठ प्रदर्शनीमार्फत विश्वभर ख्याती प्राप्त कम्पनी तथा ब्रान्डका अत्याधुनिक सामग्री र प्रविधि नेपाली बजारमा भित्र्याउने पहल गरिएको हो । यसले साना देखि ठूला उद्योगसम्मलाई प्रयोगमा रहेका मेसिनरीको उन्नयन गर्दै उत्पादन क्षमता अझ प्रभावकारी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा सहयोगी संस्थाका रूपमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल रहेका छन् ।
यसैगरी, इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूद्वारा नवीनतम प्रविधि, इन्टेरियर डिजाइन, फर्निचरलगायत विभिन्न विषयमा दुई दिने सेमिनार तथा गोष्ठी कार्यक्रमसमेत आयोजना गरिनेछ ।
प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फर्निचर तथा इन्टेरियर क्षेत्रको विकास र आधुनिकीकरणमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ । घर निर्माण गर्न चाहने व्यक्ति, सर्वसाधारण नागरिकका साथै देशका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
यस प्रदर्शनीमार्फत विदेशमा सफलतापूर्वक प्रयोग भइरहेका नयाँ प्रविधि र सामग्री नेपाली बजारमा सहज रूपमा उपलब्ध गराउने माध्यम बन्ने अपेक्षा गरिएको छ । साथै, नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादनसम्बन्धी गतिविधिमा पनि यसले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास आयोजकको छ ।











प्रतिक्रिया