एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव तथा पार्टीका रुपन्देही सचिव  कार्की रास्वपामा प्रवेश 

0
Shares

बुटवल। 

नेकपा एमाले रुपन्देहीका सचिव तथा एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।  नेकपा एमालेको ११ औं  महाधिवेशनको दिन नै कार्कीले पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका हुन् । यसले एमाले उपाध्यक्ष पौडेललाई ठुलो धक्का लागेको छ ।

 सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका  कार्की लामो समय पार्टीमा काम गरेका लोकप्रिय नेता हुन् । भदौ २३ र २४ को जेन जी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेर युवा विद्यार्थीको हत्या गरेकोमा असन्तुष्टि र विरोध जनाउँदै कार्कीले उतिबेलै एमाले परित्यागको घोषणा गरेका थिए । त्यस यता उनी  एमाले पार्टी काममा फर्केका थिएनन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल,उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरुसंग संवाद र छलफलपछि उनले रास्वपा रोजेको बताए। रास्वपा रुपन्देहीका नेता सुदन ज्ञवालीले कार्कीलाई औपचारिकरुपमा पार्टी प्रवेश गराउन आइतबार सैनामैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको बताए । ‘कार्कीलाई पार्टीमा स्वागत गर्न उपसभापति  वाग्ले लगायतका नेताहरु रुपन्देही आउंदै छन्  । 

२०७९ को निर्वाचनमा विष्णु पौडेलको जितमा कार्कीको भूमिका महत्त्वपूर्ण थियो । कार्कीको एमाले परित्यागले रुपन्देही २ मा विष्णु पौडेललाई धक्का लाग्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।