साफ महिला क्लब च्याम्पियनसिप : नेपाली खेलाडीका लागि मौका

1.6k
Shares

काठमाडौं ।

नेपालमा फुटबलतर्फ हेर्दा अहिलेको परिस्थितिमा महिला फुटबलले विस्तारै लोकप्रियतामा पुरुष फुटबललाई पछि पार्दै गइरहेको आभाष भएको छ । केही वर्ष यतादेखि नेपालको पुरुष फुटबल टिममा भन्दा नेपाली महिला फुटबल टिममाथि सबैको नजर परिरहेको छ ।

पुरुष टिमले कुनै पनि प्रतियोगितामा खेल्न जाँदा हारिहाल्छ के जित्ला ? भन्ने धेरै नेपाली समर्थकको मुखबाट सुनिन्छ । तर, महिला टिमले खेल्न जाँदा भने नेपाली समर्थकले त्यस खेलमा बढी चासो लिने गरेका छन् र जित्छ भन्ने विश्वास पनि बढेको छ । यो नै नेपाली महिला टिमको लोकप्रियताको प्रमाण पनि हो ।

नेपाली महिला फुटबलले नै नेपालका लागि एसियन कप खेल्ने तय गर्नेछ भन्ने भइरहेको छ । अझ, विश्वकपमा पुरुषमा जस्तो टिमसंख्या बढाएमा नेपालले विश्वकप खेल्न सम्भावना पनि त्यतिकै छ । पुरुष फुटबल छताछुल्ल भएको अवस्थामा भविष्यमा विश्वकप वा एसियन कपमा खेलेमा त्यो नेपाली महिला टिमले नै खेल्नेछ ।

अहिले महिला फुटबलको स्तरवृद्धिका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रयोगको रूपमा महिला क्लब च्याम्पियनसिप आयोजना गरेको हो । जुन पहिलो संस्करणको प्रतियोगिता शुक्रवारदेखि दशरथ रंगशालामा सुरु पनि भइसकेको छ । यसमा, दक्षिण एसियाली देशका महिला लिगका शीर्ष टिमहरूले सहभागिता जनाएका छन् ।

त्यसो त यस प्रतियोगितामा दक्षिण एसियाका सबै राष्ट्रको प्रतिनिधित्व हुनुपर्ने हो । तर, कमजोर भएकाले श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएनन् । यो सुरुआतले नेपाली महिला खेलाडीका लागि अझै केही सिक्ने मौका पनि आएको छ । नेपाली खेलाडीमात्रै होइन, अन्य दक्षिण एसियाली राष्ट्रका खेलाडीले पनि केही सीप सिक्न मद्दत पुग्नेछ ।

पहिलो पटक आयोजना भएको प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, भुटान र पाकिस्तानका घरेलु महिला लिग च्याम्पियन टिमहरू सहभागी छन् । नेपालबाट नेपाल एपीएफ क्लबले खेल्दै छ भने बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भारतबाट इस्ट बंगाल एफसी, पाकिस्तानबाट कराँची एफसी र भुटानबाट ट्रान्सपोर्ट युनाइटेड सहभागी छन् ।

नेपाली शुद्ध टिम एपीएफ

नेपालको एपीएफ क्लब यसमा शुद्ध टिम हो । यस क्लबमा सबै नेपाली खेलाडी छन् । त्यसो त विदेशी खेलाडी राख्न पाउने प्रावधान रहे पनि एपीएफका प्रशिक्षक जीवेश पाण्डेले नेपाली खेलाडीमै विश्वास गर्नु भएको छ । अन्य क्लबहरूले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तर, एपीएफका मुख्य खेलाडीहरू प्रीति राई, सावित्रा भण्डारी, एन्जिला तुम्बापो सुब्बा विदेशी लिगमा खेलिरहनुभएकाले यस प्रतियोगिताका लागि उपलब्ध हुने छ्रैनन् । त्यस्तै, गीता राना र सविता रानामगर घाइते हुँदा उहाँहरूले खेल्ने सम्भावना न्यून छ ।

यसका बाबजुद प्रशिक्षक जीवेशले भने विदेशी खेलाडीको सट्टा नेपाल पुलिसका पूजा राना र युवा स्टार मीना राना तथा त्रिभुवन आर्मीकी विमला विकलाई टिममा ल्याएर प्रतिस्पर्धा गराउने कोसिस गरिरहनुभएको छ । एपीएफले बंगलादेशको क्लब नसरीनलाई ४–० ले हराएर जीवेशको आत्मविश्वास अझ दरो बनाइदिएको छ । एपीएफमा कप्तान अनिता बस्नेत रहनुभएको छ भने रेनुका नगरकोटे, सरु लिम्बू, रश्मिकुमारी घिसिङ, अनिता केसी, निशा थोकर, मनमाया दमाई, हीराकुमारी भुजेल, अञ्जना रानामगरले उहाँलाई साथ दिनुहुनेछ ।

उहाँहरूका लागि पहिलोपटक साफस्तरीय उपाधि पहिलोपटक जित्ने मौका पनि हुनेछ । किनभने नेपाली राष्ट्रिय पुरुष र महिला टिमले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् । तर, अन्य सहभागी टिममा विदेशी खेलाडीको भरमार भएकाले नेपाली खेलाडीका लागि यो निकै चुनौती हुनेछ ।

अन्यमा विदेशी खेलाडी

इस्ट बंगालमा ५ विदेशी खेलाडीहरू छन् । यस्तै, कराँची सिटी एफसीसँग पनि ५ विदेशी खेलाडी छन् । यसै गरी नसरिन स्पोट्र्स एकेडेमी बंगलादेशको राष्ट्रिय टिमबाट खेलिसकेका संजिदा अख्तरको कप्तानीमा छ । टोलीमा दुई जनामात्रै राष्ट्रिय टिमबाट खेलेका खेलाडी छन् । भारतका केही खेलाडी पनि टोलीमा समावेश गरेको छ । ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमा २ जनामात्रै विदेशी खेलाडी छन् । ती दुवै भारतीय खेलाडी हुन् ।