काठमाडौं ।
अर्थमन्त्री रामेश्वर खनालले देशमा धेरै व्यक्ति कालोसूचीमा पर्नु गम्भीर चिन्ताको विषय भएको बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो अवस्थाले आर्थिक प्रणालीमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
कुनै पनि देशमा धेरै नागरिक कालोसूचीमा पर्नु राम्रो संकेत नभएको बताउँदै उहाँले यदि धेरै मानिस कालोसूचीमा नपर्ने अवस्था भए कर्जा प्रवाह सहज हुन सक्ने धारणा राख्नुभयो ।
अर्थमन्त्री खनालका अनुसार हाल देखिएको तरलता अभावको मुख्य कारण ग्रामीण तथा विपन्न वर्गमा जाने कर्जा प्रवाह प्रभावित हुनु हो। प्राथमिकता प्राप्त क्षेत्रमा पुग्नुपर्ने कर्जा अपेक्षित रूपमा नजाँदा आर्थिक गतिविधिमा असर परेको उहाँको भनाइ छ ।
बैठकमा आर्थिक वर्ष ०८२÷०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत छलफल भएको थियो ।
ठेक्का प्रक्रिया र बजेट कार्यान्वयनबारे बोल्दै अर्थमन्त्री खनालले टेण्डर सम्पन्न भई ठेकेदार छनोट तथा काम सुरु भइसकेका परियोजनाहरू रोक्न कुनै नीतिगत आधार नभएको उल्लेख गर्दै टेण्डर भइसकेका, ठेकेदार चयन भई काम सुरु भइसकेका परियोजना रोकिँदैनन् भन्नुभयो ।











प्रतिक्रिया