ब्रिटिश बडीबिल्डर ज्याक विल्किन्सनको अनुभव एउटा चेतावनीको रूपमा हाम्रो सामुन्ने प्रस्तुत भएको छ । जसले हामीलाई स्टेरोइड र शरीर बनाउने एकोहोरो सोचको खतरनाक परिणामसँग साक्षात्कार गराउँछ । ३२ वर्षीय ज्याकको यात्रा शुरुआतमा त आश्चर्यजनक नै थियो । तीब्रगतिमा मांसपेशीहरूको परिपूर्ण आकार र असीमित शक्ति प्राप्त गर्नको लागि उनले दिनमा तीन पटकसम्म इन्जेक्सन लिने गर्थे, र यसका लागि प्रत्येक महिना ७ सय ५० पाउण्डभन्दा बढी खर्च गर्थे । ज्याकको जीवनका ती क्षणहरु एक प्रकारको ध्रुवीय आकर्षण जस्तै थिए । जहाँ उनको शरीर बलियो र आकर्षक देखिन्थ्यो । तर, वास्तवमा त्यस्तो आकर्षक शरीर एउटा भयानक जगमा निर्माण भएको थियो । जसको परिणाम अन्ततः भयावह नै बन्यो ।
दुई वर्षसम्म ज्याकले अत्यधिक मात्रामा स्टेरोइडका तीन प्रमुख प्रकार एनाभार, मास्टेरन र इक्विपोइज इन्जेक्सनको माध्यमबाट आफ्नो शरीरमा प्रवाह गरे । त्यति मात्र होइन, उनले अत्यन्त कठोर डाइट तालिका पालना गर्दै ब्रोकोली, चिकन, भात, एग–ह्वाइट र स्टेक जस्ता केवल ६ प्रकारका खाद्य सामग्रीहरूमा मात्रै आफ्नो आहार सिमित राखे । हरेक दिन ४५ मिनेटको कार्डियो, अत्यन्त कठोर वर्कआउट र फ्याट–लेस ट्याब्लेटहरूको प्रयोगले उनको शरीरमा अपार दवाब सिर्जना ग¥यो । यी सबै कुराले ज्याकको शरीरलाई बाह्य रूपमा बलियो र शारीरिक रूपमा आकर्षक बनाइदिएको थियो । तर, यसले उनका भित्री अंग र मानसिक स्थितिमा भने ठूलो असर पु¥याइसकेको थियो ।
गत मार्च २३ को दिन ज्याकको जीवनमा अप्रत्याशित मोड आयो । ज्याकलाई अचानक ब्यथा लाग्यो र उनको परिवारले तुरुन्तै एम्बुलेन्स बोलायो । उत्तर यर्कशायरको जेम्स कुक युनिभर्सिटी अस्पतालको आइसीयूमा पु¥याइएपछि चिकित्सकहरूले उनलाई सात दिनसम्म मेडिकली इन्ड्यूस्ड कोमामा राखे । सुरुमा मेनिन्जाइटिसको शंका गरिएको थियो । तर, पछि यसका लक्षणहरू स्टेरोइड र फ्याट–लेस औषधिका घातक साइड–इफेक्टका कारण उत्पन्न भएको प्रमाणित भयो । चिकित्सकहरूले ज्याकको परिवारलाई सबैभन्दा खराब स्थितिका लागि तयार रहन समेत सुझाव दिएका थिए ।
तर, एउटा चमत्कारी घटना भयो । एक हप्तापछि जाक कोमाबाट ब्यूँतिए । यद्यपि, उनको शारीरिक अवस्था यति कमजोर भइसकेको थियो कि उनले तीन दिनसम्म बोल्न समेत सकेनन् र हिँड्नका लागि नै प्रशिक्षण लिनुपरे । आफ्ना तीन वर्षको छोरालाई समेत काखमा लिन नसक्दाको क्षणलाई उनले जीवनको सबैभन्दा पीडादायकको रुपमा वर्णन गरे ।

ज्याकले स्टेरोइडले केवल शारीरिक रूपमा मात्रै परिवर्तन ल्याउने नभई मानसिक रुपमा पनि प्रभाव पार्ने बताए । लिबिडो घट्ने, मूड स्विंग हुने, आक्रामकता बढ्ने जस्ता सबै समस्याहरू उनले अनुभव गरे । उनले भने, “मैले हरेक दिन आफ्नो क्यालोरी, वजन र स्टेपहरूको ट्रयाक राख्थें । शरीर बनाउने नशाले मेरो शरीर मात्र होइन, मेरो मानसिक स्थिति र आत्मविश्वास पनि हरायो ।”
आज, ज्याक आफ्नो दर्दनाक अनुभवलाई चेतावनीको रूपमा ब्याख्या गर्दै नयाँ पुस्तालाई स्टेरोइड र कठोर शारीरिक ब्यायामबाट टाढा रहन आग्रह गर्दैछन् । उनले भने,“फोटोमा राम्रा देखिन र छुट्टीमा फिट देखिनको लागि आफ्नो शरीरलाई बिगार्ने काम नगर्नुहोस् । मैले अनुभव गरेको अवस्था कसैले पनि भोग्न नपरुन । यो भनेको केवल शारीरिक बनावटको सवाल मात्र होइन, स्वास्थ्य र मानसिक शान्तिको पनि विषय हो ।” ज्याकको कथा केवल एकजना बडीबिल्डरको अनुभव मात्र होइन, यो एउटा गम्भीर चेतावनी पनि हो । वास्तवमा कुनै पनि शारीरिक लक्ष्य प्राप्त गर्नका निम्ति स्वास्थ्य र जीवनलाई सस्तो मूल्यमा लिनु हुँदैन । आजको युवापुस्ताले यो वास्तविक कथालाई एउटा जीवनदायिनी पाठको रूपमा लिनुपर्छ, जसले हामीलाई तीब्र गतिमा शारीरिक परिवर्तनका लागि मानसिक र शारीरिक स्वस्थतासँग सम्झौता गर्नु हुँदैन भनेर सचेत गराउँछ ।











प्रतिक्रिया