नेताको घरमा जलेका पैसा छानबिनमा संयुक्त अनुसन्धान टोली सुस्त

देउवा, प्रचण्ड र खड्कामाथिको छानबिनमा आउन सकेन तीव्रता


काठमाडौँ ।

जेन–जी आन्दोलनको क्रममा २४ भदौमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता दीपक खड्काको जलेको घरमा ठूलो परिमाणमा पैसा जलेको पुष्टि हँुदासमेत उनीहरूको सो सम्पतिका बारेमा छानबिन गर्दै आएको सरकारको संयुक्त अनुसन्धान टोली केही समय यतादेखि निकै सुस्त बन्न थालेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित संयुक्त अनुसन्धान टोलीले ती नेताहरूको घरमा जलेको अवस्थामा फेला परेको पैसाका आधारमा उनीहरूको सो पैसा तथा अन्य सम्पत्तिको बारेमा समेत छानबिन थाल्दै आएको थियो । तर, तिनै नेता तथा ती नेताका निकट विभिन्न व्यक्तिहरूमार्फत धम्की र दबाब आउन थालेपछि अनुसन्धान टोली त्रासमा परेको स्रोतको दाबी छ । जसका कारण त्यससम्बन्धी अनुसन्धान निकै सुस्त बनेको हो ।

यी सबै निकायले संयुक्त अनुसन्धान थाले पनि पछिल्ला दिनमा नेताहरूको विभिन्न खाले दबाब र धम्कीहरू आउन थालेपछि अनुसन्धान अधिकारीहरूले अनुसन्धानलाई सशक्त रूपमा अघि बढाउन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । ‘सरकारका ती निकायका उच्च अधिकारीहरू नै डरले काम्न थालेका छन्, त्यस्तो अवस्थामा उनीहरूको संयुक्त अनुसन्धान टोलीले के काम गर्न सक्ला ?’ –प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

जेन–जी आन्दोलनका क्रममा ती नेताहरूको घर जलेर ध्वस्त भएको थियो । त्यतिखेर प्रचण्ड, देउवा र खड्काको घरमा पैसाका चाङ रहेको र ती पैसाहरू जलेका दृश्यहरू सार्वजनिक भएका थिए । त्यसलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा, प्रचण्ड र खड्काको जलेको घरमा रहेको खरानीका थुप्राहरूको मुचुल्कासहित बरामद गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को फरेन्सिक ल्याबले समेत ती घरहरूको खरानीको अवशेषमा जलेको पैसाको खरानी समेत प्रशस्तै रहेको प्रतिवेदन दिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार सो फरेन्सिक ल्याबको रिपोर्टले खरानीमा प्रसस्त मात्रामा पैसाको अवशेष रहेको पुष्टि गरेको थियो । तर, पैसा सबै जलेकाले के कति पैसा थियो भन्ने बारेमा निक्र्यौल गर्न भने कठिन भएको बताइएको थियो । फरेन्सिक ल्याबको प्रतिवेदनका आधारमा देउवा, प्रचण्ड र खड्काको घरमा उल्लेख्य पैसा रहेको प्रष्ट हुँदाहँुदै पनि छानबिनले तीव्रता पाउन नसक्दा थप आशंकासमेत जन्मिएको छ । केही समयअघि ती नेताको सम्पत्तिका बारेमा थप प्रमाणहरू जुटाएर उहाँहरूसँग बयान लिनुपर्ने र बयानका क्रममा केही खुल्न सक्ने योजना बनाइएको थियो तर अहिले आएर एकाएक सो योजनासमेत रोकिएको बताइएको छ ।

बूढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपियाँ (हजार÷पाँच सयका नोट) का जलेका टुक्राहरू भेटिएपछि विभागले मुचुल्का गरेको थियो । जेन–जी घट्नापछि देउवाका घरमा गएका केही व्यक्तिहरूले देउवाको घरमा पैसा राख्ने ट्यांकी नै रहेको बताएका थिए । यद्यपि, देउवाको सचिवालयले झुट भएको र एआईमार्फत नक्कली पैसा देखाएर बेइज्जत गर्न खोजिएको भन्दै खण्डन गरेको थियो ।

नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष दाहालको घरमा पनि पैसा राख्न प्रयोग गरिएका सेफहरू फुटाइएको र एउटा कोठमा चाङका चाङ रहेको पैसा खरानी भएको भन्दै भिडियोहरू सार्वजनिक भएको थियो । यद्यपि, दाहालको सचिवालयले पनि सो भिडियो नक्कली रहेको भन्दै खण्डन गरेको थियो । यसै गरी पूर्वमन्त्री खड्काको घरमा प्रदर्शनकारीहरूले जलाउने क्रममा पैसा आकाशमा उडाएका दृश्यहरू सार्वजनिक भएका थिए ।

जेन–जीको आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकार बनेलगत्तै नेताहरूको घरमा भेटिएको पैसाको बारेमा अनुसन्धान गर्न चौतर्फी माग बढेसँगै अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत नेताहरूको घरको सो पैसाका बारेमा छानबिन थालेको थियो । त्यसपछि विभागले सामाजिक सञ्जालमा आएका फोटा, भिडियोलगायतलाई पनि फरेन्सिक परीक्षणका लागि पठाएको थियो । प्रधानमन्त्री कार्कीले यस प्रकरणमा गम्भीरतापूर्वक छानबिन गरी निष्कर्षमा पुग्न अर्थ मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए पनि पछिल्ला दिनमा स्वयम् प्रधानमन्त्री र अर्थमन्त्रीले समेत यो विषयमा फलोअप गर्न छोडेकाले यो अनुसन्धान बीचैमा तुहिन सक्ने भय बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले बताएका छन् ।