अहिले नेपाली समाजमा सोच, विचार र चिन्तनको अभाव भएको छ । २०७२ सालको संविधान बनाउने ताकासम्म राज्यको पुनःसंरचना, शासकीय स्वरुप, अधिकारको बाँडफाँडलगायत अनेक विषयमा दिनहुँ दर्जनौं छलफल र बहस हुने गर्दथ्यो । संविधान निर्माण भएलगत्तै विचारको बहस सकियो र आर्थिक समृद्धितिर लाग्ने भाष्य स्वयं संविधान निर्माताहरुले फैलाउन थाले । त्यसपछि शासनसत्ता सम्हाल्ने राजनीतिक दल एवं शासकीय वृत्तमा चिन्तन, बहस र छलफल एकाएक गायब हुन थालेको हो ।
त्यति बेलाका शासकहरुले फैलाएको आर्थिक समृद्धि, सुखी नेपाली र समृद्ध नेपालको नाराको जनताले दैनिक जीवनमा अनुभूति गर्न पाएनन् । विश्वकै उत्कृष्ट भनेर दाबी गरिएको संविधान पनि राम्ररी कार्यान्वयन भएन वा गर्ने भरमग्दुर प्रयास गरिएन । हुने, नहुने अनेक गठबन्धन गरेर सत्ताको म्युजिकल चेयरमा को बस्ने भनने व्यक्तिगत चिन्तनले मात्र प्राथमिकता पाउँदै गयो । राजनीतिक दल नेताविशेष एवं गुटविशेष फाइदाको सोच र संस्कारले ग्रस्त हुँदा दलभित्रको वृत्तमा आलोचनात्मक चेत, वैचारिक छलफल लगभग शून्य हुन पुग्यो ।
दलहरुको महाधिवेशन पनि केवल कर्मकाण्डमै सीमित हुने गरेको हुँदा अहिले जताततै अवसरवादी, स्वार्थपरक कार्यले प्राथमिकता पाउँदै गएको देखिन्छ । यस पृष्ठभूमिमा भएको जेनजी विद्रोहले अहिलेसम्मका सबै भाष्य र सपनालाई हुत्याइदिएको छ । नेताहरुको सत्ताको अन्त्यहीन खेललाई सशक्त खबरदारी गरिदिएको छ ।
संविधान जारी गर्दादेखिको नेताहरुमा प्रधानमन्त्री–मन्त्री बन्ने हठले विभिन्न समुदाय, क्षेत्रका असन्तुष्टिका आवाजहरुलाई दमन गर्ने क्रम शुरु हुन गएको थियो । दलभित्र फरक मत राख्ने, फरक विचार राख्नेले कि पार्टी छाड्नै पर्ने वा त्यहाँभित्र दोयम दर्जाको नागरिक भएर बाँच्नुपर्ने स्थिति भएको कहीँ–कतैबाट लुकेको छैन । दलका महाधिवेशनहरु नेताविशेष र गुटको इच्छालाई वैधानिक आवरण दिने घेरासम्म सीमित हुन गएका छन् । दलभित्र सानो स्वरमा यसको विरोध भए पनि अधिकांश कार्यकर्ता नेताको दाससरह हुन थाले ।
मूल धारबाहिर हुने चिन्तन, बहस र छलफलले सत्ताधारीहरुलाई केही असर पारेन । तर आजको देशको अवस्थालाई विगतमा सत्ताधारीहरुको कुरासँग तुलना गर्ने हो भने न उनीहरुले स्वयं भनेजस्तो देशलाई समृद्धिको मार्गमा डोह¥याए, न उनीहरु स्वयंले जारी गरेको संविधानको रक्षा गर्न सके ? सबैभन्दा दुर्भाग्यपूर्ण भनेको अहिलेको देशको अवस्थाको जिम्मेवारीसमेत विगतमा पटक–पटक प्रधानमन्त्री भइसकेका व्यक्तिहरुले लिन चाहिरहेका छैनन् ।
गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहमा त्यत्रो नरसंहार भयो तर त्यति बेलाका प्रधानमन्त्री, मन्त्रीहरुका अभिव्यक्तिहरु सुन्दा देशमा केही भएको छैनजस्तो लाग्छ । उनीहरुमा अझै सत्ताको अहंकार छ भने मुखको तीतो पोखिरहेका छन् । यस्तो अवस्थामा जेनजी विद्रोहको मर्मअनुसार देशमा विद्यमान शासकीय बेथिति, सुशासनतर्फ मुलुकलाई अघि बढाउन अझै नागरिकहरुले खबरदारी गर्दै जान्ुपर्ने देखिएको छ । यस्तै खबरदारी गरी देशमा विद्यमान यावत् समस्यालाई समाधान गर्दै अघि बढ्नका लागि अहिले य्ुवापुस्तालाई जोश–जाँगर भर्ने विचारको खाँचो छ । ताकि ती विचारले नयाँ पुस्ता भविष्यप्रति आशावादी हुँदै त्यतातिर जान संकल्प गर्न सकून् । त्यसका लागि अहिले देखिएका यावत् समस्याको विषयमा सम्यक चिन्तन, वैचारिक बहस चलाउनुपर्ने आवश्यकता रहेको छ ।
अहिलेसम्म देखिएका देशका यावत् समस्यालाई सूक्ष्मरुपमा केलाउँदै, राज्यव्यवस्था र शासकीय विकृतिहरुलाई विश्लेषण गर्दै नयाँ गोरेटो कोर्नका लागि आफूहरुसँग भएको क्षमता र नयाँ ज्ञान एवं प्रविधिको आलोकमा खुल्ला छलफल अघि बढाउन विशेषतः नयाँ पुस्ताले अग्रसर हुनुपर्ने आजको समयको आवश्यकता हो ।











प्रतिक्रिया