युद्धको धुवाँमाथि चम्किएको खेलको उज्यालो

इजरायल र प्यालेस्टाइन दुवै देशमा खेल्ने फुटबलर

564
Shares

विश्वको नक्सामा आज पनि कैयौं देशहरू जातीय विभाजन, धार्मिक कटुता र रंगभेदका गहिरा घाउ बोकेर हिँडिरहेका छन् । भारत–पाकिस्तान, उत्तर–दक्षिण कोरिया, इजरायल–प्यालेस्टाइन र अफ्रिकाका युद्धग्रस्त क्षेत्रहरू मानवताले भोगिरहेका सबैभन्दा पुराना पीडाको दर्पण हुन् । इतिहासले बोकेको बदला–भावनाले यिनलाई अझै तातो राखेको छ । तर, यिनै घाउहरूबीच कहिलेकाहीँ खेलकुद, विशेषगरी फुटबलले अनौठो तरिकाले आशाको ढोका खोलेको छ ।

अक्सर शत्रु राष्ट्रबीच खेलकुद सम्भव नै हुँदैन, किनकि खेलभन्दा पहिले रिस बोल्छ, इतिहास चिच्याउँछ, अनि मनमा उठेका आगोले शान्ति बीज अंकुरित हुने कुनै मौका नै पाउँदैन । तर, जब खेलाडीहरू सीमाका ती पर्खालहरू चिरेर एउटै मैदानमा उत्रिन्छन्, त्यो क्षण तिनै पर्खालहरू भत्काउने सूक्ष्म र अत्यन्त शक्तिशाली धक्का बनिदिन्छ । त्यसले मानवता अझै बाँचेको छ भन्ने सन्देश दिन्छ । राजनीतिक सीमाहरूले जोडिएका काँडेतारहरू, हतियारले बनाएका चिरा, युद्धले पोखेका आँसु, यी सबै खेलकुदको मैदानमा क्षणभरका लागि ओझेलमा पर्छन् ।

विश्वको सबैभन्दा जटिल र दर्दनाकमध्येको एउटा द्वन्द्व इजरायल–प्यालेस्टाइन संघर्ष यसको केन्द्रबिन्दु हो । आगोले जलेकाहरू पनि कहिलेकाहीँ पानीसँग गीत गाउन सक्छन् भन्ने असाधारण सत्य इतिहासले सिकाएको छ । सम्भव नभएको त्यही गीत गाउन उभिएका ती दुई पात्र हुन् टोमरस हेमेद र अहमद ताहा । दुई अलग पृष्ठभूमि, दुई फरक पहिचान भए पनि फुटबलबाट युद्ध होइन, मित्रताको पुल बनाएर एउटै धून बजाएका छन यी दुवैले ।

टोमरस हेमेद

किर्यात तिवनमा जन्मिएका टोमरस हेमेद सांस्कृतिक मिश्रणको बीचबाट उठेका पात्र हुन् । पोलिश र सिरियाली मूलको परिवारमा हुर्किएका उनका लागि फुटबल केवल खेल मात्रै होइन आफ्नो अस्तित्व पहिचान गर्ने यात्राको अंश बन्यो । सन् २००६ मा म्याकाबी हैफाबाट खेलेर उनले इजरायली शीर्ष लिगको ध्यान खिचे । तर, हेमेदलाई भिन्न रूपमा उभ्याएको उनको खेलकौशलले मात्रै होइन, उनको विश्वासप्रतिको निष्ठाले पनि थियो । इंग्ल्यान्डको क्विन्स पार्क रेन्जर्समा खेल्दा उनले यहुदी पर्व ‘योम किप्पुर’ को सम्मान गर्दै उपवास बसे ।

अनि विधिअनुसार उपवास टुटाएपछि मात्र मैदानमा उत्रने निर्णय गरे । खेल र धर्मबीचको यस्तो सन्तुलनले उनको अनुशासनलाई नयाँ अर्थ दियो । त्यति मात्र होइन, हेमेदको सबैभन्दा साहसिक कदम सन् २०११ मा देखियो । जब उनले प्यालेस्टिनी राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा उत्रने निर्णय गरे । इजरायल र प्यालेस्टाइनको कटुता सम्झिँदा यो असम्भवजस्तै लाग्न सक्छ । तर, हेमेदका लागि फुटबल राजनीति होइन, सम्बन्ध, मानवता र शान्तिको भाषा थियो । उनले गरेका प्रत्येक गोल विभाजनका पर्खालहरूमा एउटा प्रहार थियो, एउटा पुल थियो, जो अझै धेरैका मनमा शान्तिको प्रतीक बनेर बसिरहेको छ ।

अहमद ताहा

अहमद ताहा इजरायलमै जन्मे–हुर्के । तर, उनको मुटुमा सदैव प्यालेस्टिनी पहिचानको धड्कन थियो । कफर कासिमका धुलिलो मैदानमा सिकेको फुटबलले उनलाई खेलाडी मात्रै बनाएन, आफू को हो भन्ने प्रश्नको उत्तर खोज्न हौसला पनि दिलायो । मार्च २०२५, ताहाको जीवन बदलिएको दिन थियो । उनले पहिलोपटक प्यालेस्टिनी राष्ट्रिय टोलीको लागि खेल्दै आफ्नो पैतृक पहिचानलाई मैदानमा उजागर गरे । फुटबलको निर्णय झैँ देखिए पनि यो उनको आत्मसम्मान, इतिहास र समुदायप्रतिको श्रद्धाको घोषणा थियो । तर, यो घोषणा त्यति सजिलो भने थिएन । इजरायल फर्किएपछि केही खेलाडीहरूले हात मिलाउन अस्वीकार गरे । केहीले खुला रूपमा आलोचना गरे । यो सबैले पहिचानको राजनीति खेलकुदको मैदानसम्म पनि पुग्छ भन्ने एउटा कठोर सत्यलाई उजागर ग¥यो । तर, ताहा कहिल्यै डगमगाएनन् । खेलले सिमाना देख्दैन, मनको ढोका अवश्य खोल्छ भनेर उनले बुझेका थिए ।

हेमेद वा ताहा मात्र होइन, दशकौँदेखि थुप्रै प्यालेस्टिनी–इजरायली खेलाडीहरूले इजरायली लिगमा खेल्दै आफ्नो पहिचान र पेसालाई सन्तुलनमा राख्दै आएका छन् । उनीहरूको प्रत्येक दौड, प्रत्येक पास, प्रत्येक स्पर्शले आफ्नो अस्तित्वलाई मौन रूपमा बयान गर्दै आइरहेको छ । युद्ध र पूर्वाग्रहका चर्का आवाजबीच पनि साहस कतिपय अवस्थामा गोलभन्दा ठूलो जित हो भनेर उनीहरूले प्रमाणित गरेका छन् । उनीहरूको यात्राले आज पनि सीमाना कागजमा खिचिन्छ, मनमा होइन भनेर भन्दैछ । टोमरस हेमेद, अहमद ताहा र उनीहरूजस्तै असंख्य फुटबलरहरूको कथा फुटबलभन्दा धेरै ठूलो छ । ती सबै मानवताभित्रको त्यो उज्यालो भागको कथा हो, जुन युद्धको धुवाँबाट निभ्दैन । यी खेलाडीहरू खेलाडी मात्रै होइनन्, उनीहरू आशाका दूत हुन् । सिमानाले मानवलाई रोक्न सक्छ, तर खेलले मानवतालाई जोड्छन् भनेर उनीहरूले प्रमाणित गरेका छन् ।