जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित फरार कैदी पक्राउ


काठमाडौं ।

हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियार बिक्री–वितरणमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले पक्राउ गरेको व्यक्ति पहिले ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका राजा तामाङ (वाङ्सु लामा) हुन्। जो आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका थिए।

गत असोज १३ गते साँझ काठमाडौं महानगरपालिका–७ लाहुरे टोलस्थित ‘सोलुखुम्बु खाजा घर’ बाहिर प्लास्टिकको कुर्सीमा राखिएको कालो झोलाभित्र 972 WK 68301 032189 नम्बर लेखिएको ग्यास गनको बट र नाल छुट्टाछुट्टै अवस्थामा बरामद भएको थियो।

उक्त घटनाको अनुसन्धानका क्रममा गोप्य सूचनाको आधारमा उक्त झोला काभ्रेपलान्चोक जिल्ला, महाभारत गाउँपालिका–१ स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–३ बसोबास गर्दै आएका २२ वर्षीय राजा तामाङ (वाङ्सु लामा) ले राखेको पत्ता लागेको थियो।

प्रहरीले मिति यही कार्तिक १४ गते करिब साँझ ५ बजेर १५ मिनेटमा गोकर्णेश्वर नगरपालिका–३, माईती नेपाल नजिकबाट उनलाई पक्राउ गरेको हो। सोधपुछका क्रममा उनले असोज १३ गते साँझ उक्त स्थानमा ग्यास गन भएको झोला आफैले राखेको स्वीकारेका छन्।

पक्राउपछि प्रहरीले तामाङलाई डेरा कोठामा लिएर तलासी गर्दा 9MM, 9X19, र 9X19 MFS लेखिएका तीन राउन्ड गोली (Cartridge) समेत बरामद गरेको जनाएको छ। बरामद हतियार र गोलीसहित उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीका अनुसार राजा तामाङ (वाङ्सु लामा) यसअघि प्रहरी वृत्त बौद्धमा दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका थिए। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार २०८२ साउन ७ गते सुन्धारा कारागारमा पुर्पक्षका लागि राखिएको थियो। तर, जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनी कारागारबाट भागी फरार भएका थिए।

यसरी आन्दोलनको आवरणमा जेलबाट भागेका तामाङ फेरि हतियार लुकाउने कार्यमा संलग्न भेटिँदा प्रहरीको निगरानी र अनुसन्धान थप तीव्र बनाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।