इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी कलेजको मनोमानी


काठमाडौं ।

काठमाडौं महानगरपालिका–१० बानेश्वर स्थित आयुष अमात्यको घरमा नै क्षति पुग्ने गरी पर्खाल भत्काउन डोजर चलाइएपछि इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजको दादागिरी छताछुल्ल भएको छ ।
तिहारमा सबैतिर रंगीचंगी र झिलिमिली भइरहेको अवस्थामा एकाएक काठमाडौं महानगरको डोजर ल्याएर घर चर्कने गरी पर्खाल भत्काएपछि आयुष अमात्यको परिवार बिचल्लीमा प¥यो ।

यो परिवारले देशमा सरकार नै नभएको जस्तो अनुभूति गर्न बाध्य भयो । इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजका संस्थापक एवं सीईओ योगेश उप्रेती नेतृत्वको टोलीले तिहारको समयमै आफ्नो परिवारलाई त्रसित हुने गरी घरको पर्खालमा डोजर चलाएको अमात्यको आरोप छ । भाइटीकाको अघिल्लो दिन आयुषको घरको जग नै हल्लिने र घरमा नै क्षति पुग्ने गरी पर्खाल भत्काएपछि अमात्य परिवारको बिचल्लीजस्तै भयो । उनीहरूले तिहारको माहोलमा आफूहरूमाथि अन्याय गरिएको बिचल्ली पार्ने प्रयास गरिएको भन्दै दुखेसो पोखेका छन् ।

‘भिरालोमा बनेको घर त्यही पर्खाल लगाएर थामिएको थियो । पर्खाल खसाल्न हठात् अन्धाधुन्ध डोजर चलाइयो,’ दुखेसो पोख्दै उहाँले भन्नुभयो– ‘अहिले घर चिरैचिरा परेको छ । अरूले यो बेला तिहार मनाए, हामीले डेरा खोज्दै हिँड्नुप¥यो । हामीमाथि घोर अन्याय भयो ।’ आईएसएमटी कलेजका संस्थापक एवं सीईओ उप्रेतीले महानगरलाई प्रभावमा पारेर दादागिरी मच्चाएको आरोप अमात्य परिवारको छ । पीडित अमात्य परिवारका अनुसार अदालतमा विचाराधीन रहेको जग्गासम्बन्धी विवादको न्यायिक निरुपण नहुँदै अन्यायपूर्ण किसिमले घरको पर्खाल भत्काइएको छ ।

‘जग्गाको विवाद अदालतमा विचाराधीन छ । उहाँहरूले काठमाडौं महानगरपालिकाको न्यायिक समितिबाट आफ्नो पक्षमा निर्णय ल्याएपछि हामी जिल्ला अदालतमा पुनरावेदनमा छौँ,’ पीडित आयुषले भन्नुभयो ‘जिल्ला अदालतले मुद्दा अझै टुंग्याएको छैन । तर, अहिले नै तिहारको लामो बिदाको मौका छोपेर हाम्रो घरै भत्किने गरी पर्खाल भत्काइयो । जसले कानुनी शासनको उपहास गरेको छ ।’

२०५२ सालमा अत्यधिक वर्षा हुँदा घरलाई सुरक्षा दिइरहेको पर्खाल भत्किएपछि साविकको जमिन भिरालो रहेकाले त्यत्तिले नपुग्ने देखिएपछि छेउमै जोडिएको थप जग्गा समेटेर घर जोगाउने उद्देश्यले पर्खाल लगाइएको थियो । त्यसरी समेटिएको जग्गा कित्ता नम्बर ६३ मा पर्छ । उक्त जग्गाको धनी भद्रकाली गुठीको रहेकामा त्यसको मोही अष्टलक्ष्मी मालीले जोतभोग गरिरहेको श्रेस्ता कायम थियो । अमात्य परिवारका अनुसार त्यो बेला अष्टलक्ष्मीको निधन भइसकेकाले उनको हक खाने छोरी पूर्णदेवी माली थिइन् । तर, अष्टलक्ष्मीको नामबाट पूर्णदेवीको नाममा नामसारी भएको थिएन । त्यसैले पछि नामसारी भएर आएपछि कायम हुने गरी पूर्णदेवीसँग २०५२ साल असोज १ गते प्रतिआनाको एक लाख पर्ने गरी दुई लाख ७१ हजार ८ सय ७५ रुपियाँमा २ आना, २ पैसा ३ दाम जग्गा किनेको अमात्यले बताउनुभयो ।

‘पूर्णदेवीसँग त्यसरी जग्गा किनबेच गर्दा घरसारको लिखत गरी खरिद गरिएको र त्यसपछि त्यहाँ घरको सुरक्षाका लागि पर्खाल लगाइएको थियो’ –उहाँले भन्नुभयो । तर, पूर्णदेवी भने त्यसपछि सम्पर्कविहीन भएको अमात्य परिवारको भनाइ छ ।
त्यसपछि झन्डै २८ वर्षसम्म आफ्नो भोग चलनलाई स्वीकार गरी कसैले खिचोला नगरेको पनि उनीहरूको दाबी छ । अमात्य परिवारका अनुसार पछि बुझ्दै जाँदा पूर्णदेवीले उक्त ६३ नं. कित्तासमेतको जग्गा आमा अष्टलक्ष्मीको नामबाट २०६५ असोज २६ गते पूर्णदेवी, कुलबहादुर विष्ट र सन्तोष कर्माचार्यको नाममा सगोलनामा रहने गरी पारितनामा गरेको पाइएको थियो । त्यसपछि तीन जनाको नाममा रहेको त्यहाँको पूरै जग्गा क्रमशः प्राइम हाउजिङ प्रालि, आइएमएस डेभलपर्स प्रालि, सगुन कन्स्ट्रक्सन बिक्री र हक हस्तान्तरण सर्दै आएको देखिएको अमात्य परिवारले बतायो ।

‘त्यसपछि सगुन कन्ट्रक्सनले २०८० असोज ७ मा आइएसएमटी कलेजलाई बिक्री गरेको पाइएको छ,’ पीडित अमात्यले भन्नुभयो– ‘त्यस अघिसम्म हामीले प्रयोग गर्दै आएको जमिनमा कसैले पनि खिचोला झिकेको थिएन ।’ तर, आईएसएमटी कलेजको नाममा आइसकेपछि विभिन्न कुरा सुन्न थालेपछि आफू २०८१ सालमा ६ वटा फिराद पत्र लिएर जिल्ला अदालत काठमाडौं पुगेको र हाल जग्गा विवाद अदालतमा विचाराधीन रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सगुन कन्स्ट्रक्सन किनेको ९÷१० महिनापछि आईएसएमटी कलेज आफ्नो पर्खाल भत्काएर सीमांकन माग्दै काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा पुगेको र न्यायिक समितिले २०८१ साउन ४ गते आफूसँग लिखित जवाफ मागेको तर १५ दिनभित्र लिखित जवाफ बुझाउन खोज्दा बुझ्न मानेको थिएन ।

त्यसपछि महानगरको न्यायिक समितिले आफूहरूसँग कुनै छलफल नै नगरी एकपक्षीय रूपमा पर्खाल भत्काउन निर्णय सुनाएको अमात्यको भनाइ छ । ‘त्यसपछि हामीलाई पुनरावेदनको मौकासमेत नदिई वैशाखकै २१ गते निर्णय कार्यान्वयन गर्न भनेर पत्र हामीलाई आयो । त्यसविरुद्ध पनि हामी निषेधाज्ञा लिएर उच्च अदालत र निर्णय बदरको माग लिएर जिल्ला अदालतमा गएका छौँ’ –अमात्यले भन्नुभयो ।