काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचनबारे आशंका नगर्न दलहरूसँग आग्रह गरेकी छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दलका प्रतिनिधिसंगको छलफलमा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउने प्रतिवद्धता व्यक्त गरिन्।
‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ।यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ’ उनले भनिन्।
दलहरूले आफूहरूसँग सम्वाद गर्न ढिलाई गरेको गुनासोबारे पनि प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।
उनले भनिन्, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो। सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन। राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ।’
उनले अब जेनजी र दलहरू छलफलमा बस्नुपर्ने प्रस्ताव पनि गरिन्।
आज मात्रै उनले घाइते जेनजीहरूसँग छलफल गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले अवस्थालाई सामान्यीकरण गर्दै चुनावतर्फ जानुपर्ने बताइन्। उनले दलहरूको चासो सम्बोधन गर्न सरकार तयार रहेको पनि दोहोर्याइन्।
‘जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ’ उनले भनिन्, ‘यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ।’
अपरान्ह करिब ४ बजेबाट सुरु भएको बैठक साँझ पौने ९ बजे सकिएको हो।











प्रतिक्रिया