विपिनको पार्थिव शरीर आज स्वदेश ल्याइँदै

बन्धक अवस्थामै मारिएको पुष्टि

1.13k
Shares

काठमाडौं।

प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा मारिएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज स्वदेश ल्याइँदैछ । आज दिउँसो साँढे २ बजे उनको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले जानकारी दिनुभयो । प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमै विपिनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिने कार्यक्रम पनि छ ।

उनको पार्थिव शरीरलाई नेपाल फर्काइनु अघि आइतबार इजरायली परराष्ट्र मन्त्रालयले इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनको पार्थिव शरीरको औपचारिक बिदाइ गर्दै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । समारोहमा इजरायली सरकारका बन्धक मामिलाका समन्वयकर्ता गल हिर्स, इजरायलको परराष्ट्र मन्त्रालयका उपमहानिर्देशक एवं इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (मासाभ)का प्रमुख एइनात स्लाइनलगायतका इजरायली अधिकारीहरूका साथै किब्बुट्ज अलुमिम र स्दोत हानेगेभ क्षेत्रीय परिषद्का बासिन्दा, नेपाली दूतावासका पदाधिकारी र इजरायलमा रहेका नेपाली समुदायको उपस्थिति थियो ।

कार्यक्रममा बन्धक मामिलाका समन्वयकर्ता गल हिर्सले विपिनको सम्झनामा दियो बाल्दै श्रद्धाञ्जली अर्पण गर्ने क्रममा विपिन कुशल विद्यार्थी, असल व्यक्ति र विशेषगरी एक वीर भएको जिकिर गर्नुभएको थियो । उहाँको भनाइलाई उद्धृत गर्दै इजरायली मिडियाले लेखेको छ– ‘विपिन पढ्नका लागि इजरायल आएका थिए, र आज हामी उनलाई दुःख र पीडासहित घर पठाउँदैछौं । उनले लडे, संघर्ष गरे, आक्रमणका बीचमा अरूको ज्यान बचाए, बाँच्न खोजे तर अन्ततः बन्धक अवस्थामै मारिए ।’

विपिनको रिहाइका लागि पहल गर्ने क्रममा गत अगस्टमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुग्नुभएको थियो । त्यहाँ उहाँहरूले इजरायली राष्ट्रपतिसँग समेत भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभएको थियो । त्यसलगतै गत सेप्टेम्बरमा अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा पुगेर समेत उहाँहरूले विपिनको रिहाइका लागि विश्व समुदायसमक्ष अनुरोध गर्नुभएको थियो ।

इजरायलको मासाभअन्तर्गतको ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायलको दक्षिणी भागमा सुन्तला र कागती बगैंचाको हेरचाह गर्ने पुगेका विपिन इजरायल पुगेको तीन सातामै हमासको कब्जामा परेका थिए । सन् २०२३ को अक्टोबर ७ मा हमासले किब्बुट्ज अलुमिममा गरेको आतंककारी आक्रमणको क्रममा उनी बन्धक बनाइएका हुन् ।

हमास आतंककारीहरूले बंकरमा लुकेर बसेका दुई नेपालीको हत्यापछि २ वटा ग्रिनेड फ्याँकेका थिए । विपिनले तीमध्ये एउटा ग्रिनेड बाहिर फ्याँकेर आफ्ना साथीहरूको ज्यान जोगाएका थिए । त्यसपछि उनलाई आतंककारीहरूले अपहरण गरी गाजामा लगेका थिए । बन्धक बनाएको एक÷दुई महिनापछि नै विपिनको हत्या भएको अनुमान गरिएको छ ।

केही दिन अघिमात्रै विपिनको परिवारले हमासले सुरुङभित्र खिचेको विपिनको एउटा भिडियो सार्वजनिक गरेको थियो । इजरायली सेनाले बरामद गरेको उक्त भिडियो विपिन अपहरणमा परेको महिना दिनभित्रै खिचिएको भए तापनि उक्त भिडियो भेटिएपछि विपिन जीवितै रहेको आशा बढाएको थियो । तर इजरायल र हमासबीच हालै भएको युद्धविराम र बन्धक साटासाट सम्झौतापछि गत सोमबार हमासले विपिनसहित ४ बन्धकको मृत्यु भइसकेको जानकारी दिँदै इजरायललाई चारै जनाको शव बुझायो । इजरायलमा मंगलवार डीएनए परीक्षणपछि इजरायलले उनको मृत्युको औपचारिक पुष्टि गर्दै उनको पार्थिव शरीरलाई नेपाल फर्काउने चाँजोपाँजो मिलाएको हो ।