–कार्की आयोगमा बयान दिन नजाने
–नहुने निर्वाचनमा कसरी भाग लिने ?
–प्रतिनिधिसभा पुनःस्थापना उत्तम विकल्प
काठमाडौँ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सैनिक सुरक्षामा रहेकै अवस्थामा प्रधानसेनापति र राष्ट्रपति आएर सल्लाह लिएको र आफूले संविधान, लोकतान्त्रिक प्रणाली र संसद् भित्रैबाट निकास खोज्न राष्ट्रपतिसँग सिफारिस गरेको तर त्यसविपरीत असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघठन गरेर सरकार बनाइएकाले त्यस्तो सरकार आफूहरूलाई मान्य नभएको स्पष्ट पार्नुभएको छ ।
प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार पूर्ण रूपमा असंवैधानिक भएको दाबी गर्नुभयो । उहाँले आफूले सुशीला कार्कीलाई नै प्रधानमन्त्री बनाउन सिफारिस गरेको भन्ने हल्ला गलत रहेको र प्रतिनिधिसभाबाटै आवश्यक निकास खोज्नुपर्नेमा आफू दृढ रहेको बताउनुभयो । ‘म सुरक्षा घेरामा थिएँ, सेनाले मोबाइल क्याप्चर गरेको थियो, त्यस्तैमा राष्ट्रपति र प्रधानसेनापति आउनुभयो र नयाँ सरकार गठनको लागि आवश्यक सिफारिस गर्न आग्रह गर्नुभयो ।’ ओलीले भन्नुभयो ।
ओलीका अनुसार त्यसपछि उहाँले वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले र यसको समाधान संविधान, लोकतान्त्रिक प्रणाली र संसद्भित्रबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानबाट अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गरिएको थियो । तर, त्यसविपरीत संविधान विपरीत हुने गरी प्रधाजनमन्त्रीमा सुशीला कार्कीलाई बनाइएको र प्रतिनिधिसभा विगठन गरिएको ओलीले स्पष्ट पार्नुभयो । यही सरकार पनि संसद् जीवित राखेर संविधान संशोधन गरेरै बनाउन सकिन्थ्यो तर त्यसको परवाह नगरी गैरसंवैधानिक कार्य गरिएकाले त्यसको आफूले विरोध गरिरहेको ओलीले स्पष्ट पार्नुभयो ।
ओलीले २३ र २४ भदौमा भएको जनधनको क्षति अध्ययन गर्न गठित गौरीबहादुर कार्की आयोगमा आफू बयान दिन लुरुलुरु नजाने बताउनुभयो । उहाँले भन्नुभयो ‘घटनामा मेरो ९५ वर्षका पिताका, मेरो आफ्नै तथा आपूmलाई बाल्यकालमा संरक्षण गर्ने व्यक्तिको घर जल्ने अनि घट्नाको जिम्मेवार म आफैं भन्ने हुन्छ ? यस्तो पनि लोकतन्त्र र न्याय हुन्छ ? ’यो अराजकता हो र त्यस्तो अराजकता कहिल्यै पनि सह्य हुँदैन ।’
ओलीले आफू सधैं देश र जनताको पक्षमा काम गर्ने भएकाले सधैं सत्यको पक्षमा बोल्ने र त्यसो गर्दा आफूलाई अहंकारी र दम्भीको आरोप लाग्ने गरेको बताउनुभयो । ओलीले सरकार २१ फागुनमा निर्वाचन गराउन असक्षम हुने भएकाले नहुने चुनावमा कसरी भाग लिने भनेर प्रश्न गर्नुभयो । ओलीले मुलुक अशान्तिको रापमा परिरहेको, चारैतिर डर त्रास व्याप्त रहेकाले यस्तो असुरक्षित वातावरणमा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्नुभयो । त्यसैले प्रतिनिधिसभा पुनःस्थापना एकमात्रै विकल्प रहेको उहाँले दोहो¥याउनुभयो ।











प्रतिक्रिया