निर्वाचनका बारेमा राष्ट्रपति र सरकारबीच छलफल: निर्वाचन समयमा नै गराउन सुरक्षा प्रमुखहरू दृढ


काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास राजनीतिक दल र आम नागरिकमा जगाउन सरकार र सुरक्षा निकायका प्रमुखहरूले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शनिबार अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले त्यस्तो आवश्यकता औल्याउनुभएको हो । राष्ट्रपति पौडेलले शान्ति–सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूले ‘बोल्ड्ली’ रूपमा प्रस्तुत हुन निर्देशन दिनुभयो । जबाफमा सुरक्षा निकायका सबै प्रमुखहरूले सरकारले तोकेको २१ फागुनमा निर्वाचन गराउन आफूहरू दृढ रहेको प्रतिबद्धता जनाए ।

राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र फरार कैदीबन्दीहरूलाई अबिलम्ब फिर्ता गर्न पनि आग्रह गर्नुभयो । छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो
सुरक्षा निकायका प्रमुखहरूले शान्ति–सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेलसामु विश्वास दिलाएका थिए । उनीहरूले विगतमा अझ कठिन परिस्थितिमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै, यसपटक पनि सुरक्षा निकाय पूर्णरूपमा तयार रहेको बताए ।

छलफलमा प्रधानमन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबै मन्त्रीहरूका साथै प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए