पालिकामा सरुवा भएका ६० प्रतिशत कर्मचारी अझै अनुपस्थित

सरुवा भएको ठाउँमा जान अटेर, ऐन नियमावलीको ठाडो उल्लंघन


–भएन कुनै कारबाही, थमौतीको प्रयास

काठमाडौं।

विभिन्न स्थानीय तहमा सरुवा भएका कर्मचारीहरू लामो समयसम्म सरुवा भएको निकायमा नगई निजामती सेवा ऐन र नियमावलीलाई ठाडो चुनौती दिन थालेका छन् । विभिन्न नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्ने रोगको अन्त्य गर्ने गरी गत भदौमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ सय ७६ भन्दा बढीलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको थियो । तर, सरुवा भएका अधिकांश कर्मचारीले अटेर गरेपछि मन्त्रालय आफैंले गरेको सरुवा निर्णय कार्यान्वयन गर्न असफल हुँदै आएको छ ।
मन्त्रालयले १ सय ३९ जना उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो भने १ सय ३७ वटा गाउँपालिकामा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरेको थियो । तर, त्यसरी सरुवा भएकामध्ये ६० प्रतिशतभन्दा बढी कर्मचारीहरू सरुवा भएको ठाउँमा जान अटेर गरिरहेका छन् । उनीहरू सरुवा भएको निकायमा लामो समयसम्म अनुपस्थित रहे पनि उनीहरूमाथि कुनै कारबाही हुन सकेको छैन ।
निजामती सेवा ऐन र नियमावलीअनुसार हरेक कर्मचारीहरू सरुवा भएको २१ दिनभित्र सरुवा भएको निकायमा अनिवार्य हाजिर हुनुपर्छ तर भदौ महिनामा नगरपालिकामा सरुवा भएका १ सय ३९ जनामध्ये हालसम्म ४३ जनामात्रै हाजिर हुन गएका छन् भने ९६ जना उपसचिवहरू अटेर गर्दै हाजिर हुन गएका छैनन् । यसै गरी गाउपालिकामा सरुवा भएका १ सय ३७ अधिकृतमध्ये ५२ जनामात्रै हाजिर हुन गएका छन् भने बाँकी ८५ जनाले अटेर गरिरहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाजिर हुन नगएका कर्मचारीहरूले विभिन्न शक्तिकेन्द्र प्रयोग गरी थमौतीको प्रयास गरिरहेका छन् । मन्त्रालयले सरुवा गर्दा ३ वर्षसम्म एउटै निकायमा बसिरहेका र सुगममा बस्दै आएकालाई पालिकामा पठाएको थियो तर अधिकांश कर्मचारी सरुवा भएको निकायमा जान नमानेपछि मन्त्रालय समस्यामा पर्न थालेको छ ।
मन्त्रालयका सचिव रविलाल पन्थले सरुवा भएका कर्मचारीहरूलाई बारम्बार सरुवा भएको निकायमा गएर काम गर्न अनुरोध गरिएको भए पनि नजाने प्रवृत्ति हाबी हुनु दुःखद् रहेको बताउनुभयो । मन्त्रालयले अटेर गरेका कर्मचारीहरू हाल कार्यरत रहेको निकायलाई समेत पत्राचार गरी तुरुन्त रमाना पत्र दिन आग्रह गरे पनि ती निकायले समेत रमाना दिन आनाकानी गरिरहेका छन् । जसका कारण पनि समस्या परिरहेको बताइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका अर्थ मन्त्री रामेश्वर खनालले पनि कर्मचारीहरू सरुवा भएको निकायमा जानै पर्ने बताउँदै आउनुभएको छ । तर, पनि कर्मचारीहरूले मन्त्रीको आग्रहलाई समेत अटेर गर्दै आइरहेको बताइएको छ । यसरी ठूलो संख्यामा कर्मचारीहरू तोकिएको स्थानीय तहमा नगएपछि ती स्थानीय तहको काम कारबाही समेत नराम्ररी प्रभावित भएको छ भने कतिपय पालिकाहरूमा अन्यौल छाएको छ । पालिकामा आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै हुने भएकाले पनि कतिपय स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतको अभावमा थप समस्या भोग्नु परिरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने ठूलो संख्यामा प्रमुख प्रशाकीय अधिकृत सरुवा भएको निकायमा नगएपछि ती पालिकामा तलब खुवाउन र नियमित प्रशासनिक काम गर्न असोज महिनासम्म निमित्तहरूलाई नै अधिकार दिँदै आएको छ । असोज मसान्तसम्ममा पनि सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतहरू हाजिर हुन नगए पालिकाहरूले गम्भीर समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ ।